fbpx

शुक्रबार रिलिजको नियम तोड्दै आजबाट हलमा ऋतिक र टाइगरको ‘वार’

विराटनगर, १५ असोज । बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ आज २ अक्टुबरबाट प्रदर्शनमा आएको छ । फिल्मलाई वर्ल्ड रिलिजको दिनमै नेपालमा रिलिज गर्न लागिएको हो ।

बलिउडमा मात्र नभएर नेपालमा पनि ‘वार’लाई यो वर्षकै सर्वाधिक बहुप्रतीक्षित फिल्मको रूपमा लिइएको छ । ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएसँगै फिल्मले पहिलो दिनमा ५० करोड भारतीय रुपैयाँको व्यापार पर्ने अनुमान गरिएको छ । एक्शन थ्रिलर जनराको फिल्मलाई सिद्धार्थ आनन्दको निर्देशनमा तयार गरिएको हो । फिल्मले सिंगल स्क्रिनमा भन्दा पनि मल्टिप्लेक्समा धेरै शोज पाएको छ ।

नेपालको सबैभन्दा ठूलो र स्तरीय मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर छरिएका आफ्ना ९ स्टेशनमा फिल्मलाई बुधवारका लागि कूल ५२ सोज बाँडेको छ । यशराज फिल्म्सको ब्यानरमा रहेर आदित्य चोपडाको निर्माण गरेको ‘वार’बाट ऋतिक र टाइगरले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका हुन् । फिल्ममा ऋतिक रोशन, टाइगर श्राफसँगै वानी कपूरको मुख्य भूमिका रहेको छ । फिल्ममा ऋतिक र टाइगरको जबरजस्त एक्सन सिन र सस्पेन्स कथा रहेको छ । ठूलो बजेटमा निर्माण भएको फिल्ममा वाणीले यी दुई अभिनेतासँग रोमान्स गरेकी छन् ।

फिल्मलाई विभिन्न ६ वटा देशमा छायाँकन गरिएको भने फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत रिलिज गरिएको छ । ‘टू हिरोज वान वार’ को ट्यागलाइन राखिएको फिल्ममा अहिलेसम्म कुनै फिल्ममा पहिला कहिल्यै नदेखेको अद्भुत एक्सन सिनहरू रहेका कारण फिल्ममा जीवन्त एक्सन सिन देखाउन कुनै पनि कसर बाँकी नराखेको फिल्मका निर्देशकले बताएका छन् ।

Loading...