fbpx

मलाई अञ्चलाधीशले पनि प्रशिक्षक नै बन भनेर सल्लाह दिए : सन्तोष बानियाँ, फुटबल प्रशिक्षक

फुटबलमा जीवन बिताएका सन्तोष बानियाँसँग ‘फुटबल संवाद’

सन्तोष बानियाँ नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षक, खेलाडी साथै नेपाल फुटबल संघ ९एन्फा०का मानार्थ उपाध्यक्ष हुन् । उमेरले ६३ बसन्त पार गरिसकेका बानियाँ अझै पनि सक्रिय रूपमा फुटबल क्षेत्र विकासका लागि खटिरहेका छन् । एक छोरा, एक छोरीका बाबु बानियाँ श्रीमतीका साथ विराटनगर–३ पोखरियास्थित आफ्नो निवासमा बस्छन् ।

aa

शैक्षिक जीवन विराटनगरस्थित पोखरीया माविबाट सुरु गरेका बानियाँले म्याट्रिक भने राधाकृष्ण माविबाट गरेका हुन् । उच्च शिक्षा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु गरेका बानियाँले मानविकी सङ्कायबाट स्नातक तहसम्म अध्ययन पूरा गरेका छन् ।नेपाली महिला फुटबल, फुटबल क्षेत्रको बारेमा कोशी अनलाइनका लागि शिवहाङग राईले सन्तोष बानियासँग यसरी कुराकारी गरेका छन् ।

फुटबलमा कसरी लाग्नुभयो ?

गाउँका दाइहरू फुटबल खेल्नुहुन्थ्यो, हामी पनि त्यतै कुद्थ्यौँ । दाइहरूले खेलेको हेरेर नै खेल्न सिकेँ । दाइहरूसँग खेल्दै राष्ट्रियस्तरको खेलाडीसमेत भइयो ।

दिन कसरी कटाउँदैहुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ ?

अस्वस्थ्य भएका भारत उपचारका लागि गएर भर्खर आएको छु । मौसम नि झरिमय छ, त्यसैले घरमै आराम गरिरहेको छु । विराट गोल्ड कप आयोजना गर्ने तयारी भइरहेकोले मौसममा सुधार भएलगत्तै त्यसको तयारीमा लाग्नेछु । फुटबलका विभिन्न संघहरूमा नि आवद्ध छु, स्वास्थ्यमा सुधार आउन थालेको छ अब संघहरूलाई समय दिनेछु ।

तपाईँ राष्ट्रियस्तरमा समेत चर्चित खेलाडी तर राष्ट्रिय टिममा सामेल नभइ एक्कासी प्रशिक्षकतिर मोडिनुभयो नि ?

म स्वभावले पनि अलि अरुलाई काबुमा राख्न सक्ने थिएँ । दाइहरूलाई पनि गेमको बेला कराइकराइ खेल्ने भएका कारण पनि म प्रशिक्षक नै बन्न चाहेँ । फेरि, त्यति बेलाका अञ्चलाधीशले समेत मलाई प्रशिक्षक नै बन भनेर सल्लाह दिनुभएको थियो ।

हो, मलाई धेरैले यहिँ प्रश्न सोध्छन् । खासमा कुरा के हो भने, त्यत्ति बेला फुटबल टोली नै थिएनन् । राष्ट्रिय टिम नि नाम मात्र को हुने, कतै गेम पनि नहुने । विदेशी प्रतियोगिताको त नाम नि सुन्या थिएनौँ, हामीले । अहिले जस्तो कहाँ हुन्थ्यो र रु फेरि म स्वभावले पनि अलि अरुलाई काबुमा राख्न सक्ने, दाइहरूलाई पनि गेमको बेला कराइकराइ खेल्थे । नेतृत्त्व गर्न सक्ने गुण भएकाले नि होला सबैले प्रशिक्षक नै बन भन्ने सल्लाह दिन्थे । त्यति बेलाका अञ्चलाधीशले समेत प्रशिक्षक नै बन भनेर सल्लाह दिनुभएको थियो । घरमा आएर रातभर सोचेँ अनि खेलाडी हैन खेलाडीहरूलाई सिकाउने गुरु बनेँ ।

तपाईँ मोरङ जिल्लाकै पहिलो फुटबल प्रशिक्षक पनि हो नि हैन ?

त्यसलाई यसरी बुझौँ, अस्थायी प्रशिक्षकको रूपमा धेरै प्रशिक्षकहरू जिल्लामा प्रशिक्षण दिन आउनुभएको हो । तर, जिल्लाकै पहिलो स्थायी प्रशिक्षक भएर जिल्ला आउने चाहिँ म नै पहिलो हो । त्यसपछि सेकेन्ड क्लास अफिसर, जिल्ला, अञ्चल, क्षेत्र प्रशिक्षक हुँदै राष्ट्रिय महिला टिमको प्रशिक्षक हुने सौभाग्यसमेत मिल्यो ।

फिफाले सेप्टेम्बर महिनामा निकालेको सूचीअनुसार विश्वको शीर्ष एक सय टिमभित्र पर्न नेपालको महिला राष्ट्रिय टिम पनि पर्न सफल भएको छ । यसलाई पूर्वराष्ट्रिय फुटबल प्रशिक्षकको रूपमा कसरी लिनुहुन्छ ?

पहिले पूर्वाञ्चलको धरानमा मात्र महिला फुटबल थियो । महिला फुटबलमा लागी भने बिग्रिन्छे, परिवार तथा समाजको इज्जत फाल्छे भन्ने कुराहरू समाजमा आउँथे । त्यस्तो बेलामा पनि हामी महिलाहरू पनि फुटबलमा लाग्न पर्छ भन्दै खेलाडी खोज्दै हिँड्यौँ ।

प्रशिक्षकको नाताले हेर्न पर्दा यो ज्यादै गौरवको कुरा हो । महिला टोली राज्यस्तरबाट अहिलेको जस्तो लगानी, साथ भएको भए यो सफलता निकै अगाडि नै नेपालले पाइसक्थ्यो । महिला फुटबलमा आजको समयमा आमूल परिवर्तन भइसक्या छ । पहिले पूर्वाञ्चलको धरानमा मात्र महिला फुटबल थियो, महिला फुटबलमा लागि भने बिग्रिन्छे, परिवार, समाजको इज्जत फाल्छे भन्ने कुराहरू समाजमा आउँथे । त्यस्तो बेला नि हामी महिलाहरू पनि फुटबलमा लाग्न पर्छ भन्दै खेलाडी खोज्दै हिँड्यौँ । त्यहिँ क्रममा मोरङ, झापालगायत देशभरिका सबैजसो जिल्लाहरूमा महिला टिम बनाउन सफल पनि भयौँ । बिस्तारै महिला प्रतियोगीताहरू नि आयोजना हुन थाल्यो, फुटबलमा लागेका महिलाहरूले नि धेरै मिहिनेत गरे, सरकारले नि थोरबहुत लगानी गर्दै सहयोग गर्न थाल्यो र आज महिला टिम यहाँसम्म आइपुग्या छ ।

तपाईँ सन् २०१३ को महिला राष्ट्रिय टिमका प्रशिक्षकसमेत हुनुहुन्थ्यो । अहिले २०१९ भइसक्यो । यो ६ वर्षको अन्तरमा महिला टिमलाई कहाँ पाउनुहुन्छ ?

६ वर्षअघिको महिला टिम एक किसिमको प्रशिक्षण काल अवस्थामा रहेको महिला टिम जस्तै थियो भन्दा नि हुन्छ । त्यस बेला अहिलेको जस्तो न सुबिधा थियो, न महिलाका लागि भनेर अहिलेको जस्तै प्रतियोगिता, न त राष्ट्रियस्तरको लगानी नै । अहिलेको टिमले धेरै सुबिधा र आममानिस, सरकारको साथसमेत पाएको छ । नेपालकै उत्कृष्ट पूर्वखेलाडीहरूलाई प्रशिक्षकको जिम्मेवारी पनि दिइएको छ यसले नेपाली खेलाडीलाई प्रशिक्षकको रूपमा एक्सोपोजसमेत गरिरहेको छ । एन्फाको यो कदम एकदमै सह्रानीय छ । खेलाडीका लागि सबैभन्दा ठूलो कुरा भनेकै सुबिधा हो । अहिलेको खेलाडीहरूले सुबिधा पाइरहेका छन् अनि त्यहिँअनुरुप मिहिनेत पनि गरिरहेका छन् । नेपालमा फुटबल क्षेत्र पनि व्यवसायीक बनिरहेको छ, विभागीय टिमहरूले पनि महिला खेलाडीहरूलाई जागिरको व्यवस्था गर्दै भएपनि महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रयास गरिरहेको छ । बिस्तारै अरु क्षेत्रहरूबाट नि महिलाहरूलाई खेलेर नै बाँच्न सक्ने वातावरण बन्छ भन्ने आशा छ । समग्रमा नेपाली महिला फुटबलको भविष्य उज्जवल देख्छु ।

अझै पनि राष्ट्रियस्तरकै प्रतियोगिता खेल्नलाई महिला खेलाडीहरूसँग फुटबल बुटसमेत नभएका गुनासोहरू आउने गरेका छन् यस्तो किन ?

त्यतिबेला राष्ट्रिय खेलाडी भइसकेकी जमुना गुरुङलाई प्रतियोगिता खेल्न लिन जाँदासमेत घरभन्दा १ किलोमिटर टाढै बस्न पर्थ्यो । तर, आज समय फेरिएको छ । महिला फुटबल टिमले इज्जत राख्यो भन्दै सावित्र भण्डारीहरूका फोटोहरु शेयर गर्छन् ।

फुटबलको वातावरण देशमा बन्दै छ । क्षेत्रीयस्तरमा त अझ धेरै लगानी र सुधारका कामहरू हुन बाँकी नै छन् । तर, आजभन्दा ६ वर्षअघिको महिला फुटबलमा आकाश–जमिनकै फरक छ । मलाई अझै पनि याद छ, त्यो बेला राष्ट्रिय खेलाडी भइसकेकी जमुना गुरुङलाई प्रतियोगिता खेल्न लिन जाँदासमेत घरभन्दा १ किलोमिटर टाढै बस्न पथ्र्यो । फुटबलका कुरा सुन्नसाथ घर, समाजका मानिसहरूलाई भन्न हुने, नहुने सबै भन्थे । तर, आज समय फेरिएको छ । नखेल भन्ने समाज आज महिला फुटबल टिमले इज्जत राख्यो भन्दै सावित्र भण्डारीहरूका फोटोहरु शेयर गर्छन् । परिवर्तन जारी छ, नेपाली महिला फुटबल बलियो अवस्थामा पक्कै आउँछ ।

ग्रासरुट लेभलमा नेपाली फुटबलको विकाससोचे अनुरुप किन नभएको होला ?

हो ग्रासरुट लेभलको फुटबल सोचे र खोजेअनुसारकै त छैन तर पहिलाभन्दा धेरै माथि उठिसकेको छ । अझै समय लाग्छ, भनेजस्तै चाँडो त हुँदैन ।

भुटानले खेलमैदान, रङ्गशाला, प्राविधिक पक्ष, प्रशिक्षकहरू र अन्य खेलकूद क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूमा व्यापक सुधार ल्याएको छ । भारत आफूलाई एसियाकै पावर हाउस बनाउने लक्ष्यमा छ । छिमेकी राष्ट्रहरूमा यस्तो दु्रत गतिमा फुटबल विकास हँुदा नेपालमा अझै हलचल नै आएको छैन नि ?

कुनै पनि खेलको विकास हुन त्यस खेलका लागि चाहिँने खेलकूदका पूर्वाधारहरू अत्यावश्यक हुन्छ । नेपालको हकमा हेर्ने हो भने पूर्वाधारहरूमा नेपाल ज्यादै पछाडि छ । कमेसकम राष्ट्रियस्तरकै प्रतियोगिता खेलाउन सकिने १०, १२ वटा मैदानहरू मात्र निमार्ण गरिदिने हो भने नि राष्ट्रलाई चाहिने खेलाडी उत्पादन हुन मद्धत हुन्थ्यो । यसो भन्दैगर्दा नेपालले फुटबलमा लगानी नै गरेको छैन भन्ने गलत अर्थ चाहिँ जनसमुदायमा नपरोस् । आवश्यक मात्राको काम चाहिँ नभएको हो तर अब देश संघीयतामा प्रवेश गरिसकेको छ । स्थानीय सरकार, प्रदेश सरकार साथै संघीय तीनै तहका सरकारहरूले आवश्यक नीति, कार्यक्रमहरूलिएर मैदानमा ओर्लिन्छ भन्ने कुराका म विश्वस्त छु । अब यो हलचल देखिने रूपमा भने आइसकेको छैन तर चाँडै सबैले महशूस गर्नेगरी आउँनेछ भनेर आशा गरेको छु ।

साफ अन्डर–१८ को दुई पटकको च्याम्पियन नेपाल भुटानसँग ऐतिहासिक हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो । पूर्व राष्ट्रिय प्रशिक्षक तपाईँ कसरी विश्लेष्ण गर्नुहुन्छ ?

भुटानसँगको हार म सकारात्मक र सहज रूपमै लिन्छु । खेल हो हारजित त भई हाल्छ तर यस्तो प्रकारको अप्रत्याशित हारले प्रशिक्षक, खेलाडीहरू र त्यस खेलसँग सम्बन्धित पदाधिकारीहरूलाई आफ्नो टोली कुन स्तरमा रहेछ भन्ने कुरा छर्लङ्ग्गै बनाउन मद्धत गर्छ । भुटानले नमिठ्ठो तरिकाले महत्वपूर्ण पाठ सिकाएको छ, यसलाई सबैले मनन गरी आफूमा कहाँ सुधार गर्नुपर्छ भन्ने पत्ता लगाएर सुध्रिने समय आइसकेको छ ।

कतार विश्वकप– २०२२ को छनोटअन्तर्गत दोस्रो चरणको खेलहरूमध्ये नेपालले दुई खेल खेलिसकेको छ । कुवेतसँग हार र चाइनिज ताइपेइसँग जितको नतिजा आत्मसाथ नि गरिसकेको छ । अबका खेलहरूमा आफूभन्दा ज्यादै बलिया टिम जोर्डन र अस्ट्रेलियासँग कस्तो खेल खेल्छ होला नेपालले ?

नेपाली टिमको प्रदर्शन एउटै स्तरको छैन । कुनै बेला धेरै राम्रो प्रदर्शन गर्छ भने कुनै बेला धेरै खस्किएको नि खेलिरहेको हुन्छ । एन्फाले प्रदान गरिरहेको प्रशिक्षण, खेलाडीहरूले गरिरहेको मिहिनेत हेर्ने हो भने नेपालले नि सहजै हार मान्दैन भन्ने मेरो विश्लेषण हो । फेरि फुटबल भनेको रणनीतिक टिम गेम हो, कोचले अपनाउने रणनीतिअनुरुप खेल्ने खेलाडीहरू सबैले खटेर राम्रोसँग खेले भने भुटानले जस्तै अप्रत्याशित जित नि हात पार्न सकिन्छ । खेल हो यसै भन्न सकिन्न, नतिजा मैदानमा नै थाहा हुन्छ । हार भएपनि ज्यादै फराकिलो अन्तर चैं नहोला ।

तपाईँ पूर्वाञ्चल विकास क्षेत्र फुटबल विकास संघको सभापति, मोरङ जिल्ला फुटबल संघको फुटबल वरिष्ठ प्रशिक्षक अखिल नेपाल फुटबल संघ एन्फाको उपाध्यक्षसमेत रहिसक्नुभयो । खेलाडी, प्रशिक्षक र पदीय जिम्मेवारीमध्ये एउटा रोज्नु परे कुन रोज्नुहुन्छ

म पदीय जिम्मेवारी नै रोज्छु । किनभने जिल्ला, अञ्चल, क्षेत्र हुँदै केन्द्रीयस्तरका सबैजसो पदहरूमा रही निकै कुशल तरिकाले पदीय जिम्मेवारी बहन गरेका अनुभवहरू पनि छ । पदमा रहेर विराटनगर, जिल्ला, अञ्चल, क्षेत्र हुँदै देशको फुटबलमा विभिन्न किसिमका योगदान पनि गर्ने मौका मिलेको छ साथै पदीय जिम्मेवारीमा रहँदा फुटबल विकासका विभिन्न नीति, नियम, कार्यक्रमहरू निर्दिष्ट गर्न सजिलो हुने भएकाले एउटा रोज्नु परे पदीय जिम्मेवारी नै रोज्छु ।

मोरङ जिल्ला फुटबल संघले अहिले के गरिरहेको छ ?

म अस्वस्थ्य भएसँगै मोरङ फुटबल संघ पनि केही सुस्ताएको देखिन्छ तर पनि यसले गर्नुपर्ने आफ्ना कामहरू गरिरहेको छ । नेपालकै उत्कृष्ट फुटबल प्रतियोगितामध्येको एक विराट गोल्डकपको लागि तयारी सुर भइसकेको छ, जिल्लामा हुने अन्य फुटबलसम्बन्धी गतिविधिहरूलाई समन्वय, संरक्षण गर्दै यहि क्षेत्रमा सक्रिय छ ।

नेपाली फुटबलमा अब तपाईंको भूमिका कस्तो रहन्छ ?

मैले मेरो बाल्यकाल, यौवन सबै फुटबलमा नै व्यतित गरेँ, अझै पनि यसैमा छु । जिन्दगीमा फुटबलबाहेक अरु केही गर्न जान्या छैन । त्यसैले बाँकी जीवन पनि यसैको विकासको निम्ति कसरी हुन्छ त्यसरी नै समपर्ण गर्छु ।

नेपालको कुन फुटबल क्लबलाई समर्थन गर्नुहुन्छ ?

नेपालको क्लबमध्ये थ्री स्टारलाई समर्थन गर्छु, विदेशी क्लबहरूमा म्यानचेस्टर युनाइटेड र विदेशी राष्ट्रिय टिममध्ये जर्मनीलाई सपोर्ट गर्छु ।

(शिवहाङ राई कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार हुन् )

Loading...