fbpx

सोयाबिनको स्वादिलो मसला तरकारी बनाउने विधि

घरमा केही तरकारी नहुँदा वा केही तरकारी नभएको बेलामा अचानक पाहुना आउँदा के पकाउने, के खुवाउने भन्ने टेन्सन सबैलाई भएकै हुन्छ । प्रोटिनले भरिएको सोयाबिन प्रायः सबैको घरमा हुन्छ । नभएपनि नजिकैको पसलमा पनि सजिलै पाइन्छ । अरू तरकारीको तुलनामा धेरै सस्तो, पकाउन सजिलो, र मीठो हुने हुँदा यसलाई मानिसहरूले मनपराउने गर्छन् । आज हामी सोयाबिनको फरक तरिकाले मसला तरकारी बनाउने भन्ने जानकारी दिदैछौँ ।

चाहिने सामग्रीहरू– आवश्यकताअनुसार सोयाबिन, २ देखि ३ वटा टमाटर, १ वा २ वटा काटेको प्याज, नुन, एक कटौरा दही, खुर्सानीको धुलो, लसुन अदूवाको पेस्ट, जीरा, केही तेज पत्ता, एक चम्चा गरम मसला, बेसार, धनियाँको धुलो, मरिच धुलो, जीराको धुलो, दुई चम्चा तेल, साथै अलिकति काटेको धनियाँको पात र भेनेगर ।

बनाउने विधि – सुरुमा एउटा भाडामा राखेर सोयाबिनलाइ थोरै नुन र थोरै भेनेगर मजाले तातो पानीमा उमाल्नुपर्छ । नुन र भेनगरले सोयाबिनलाई नुनिलो र अमिलो स्वाद दिन्छ । सोयाबिन नरम नहुँदासम्म चलाउँदै उमाल्नु होस् । नरम भइसकेपछि सोयाबिनको पानीलाई निचोरेर एउटा भाडोमा निकाल्नुहोस् । त्यसपछि पानी निचोरिएको सोयाबिनमा अलिकती दही हालेर मजाले मोलेर साइडमा राख्नुहोस् ।

त्यसपछि काटेको टमाटर, अदूवा, लसुनको पेस्ट र प्याजलाई मिक्चरमा पिसेर मसिनो पेस्ट बनाएर राख्नुहोस् । अब कराइमा दुई चम्चा तेल हालेर तताएपछि अलिकति काटेको प्याजलाई गोल्डेन ब्राउन हुनेगरी फ्राइ गर्ने । फ्राइ गरेपछि तेलमा अघि मिक्चरबाट निकालेको टमाटर र लसुन अधुवाको पेस्टमा स्वाद अनुसार नुन, बेसर, खुर्सानी तथा अन्य सबै मसलाहरू राखेर मजाले पाक्न दिनुहोस् ।

५ मिनेट जति टमाटर र तेल छुट्टिने गरि पाकिसकेपछि अब त्यसमा सोयाबिन राखेर मजाले मिक्स हुनेगरी चलाउनुहोस् । आधाकप जति पानी हालेर चलाउँदै एकछिन पाक्नका लागि छोप्न दिनु पर्छ । २ मिनेट जति पकाएपछि धनियाँको पात छर्केपछि तयार भयो स्वादिलो मसला तरकारी ।

Loading...