fbpx

मेस्सीसँग सम्बन्ध बढाउन गाह्रो : ग्रिजम्यान

एजेन्सी, १५ असोज । बार्सिलोनाका नयाँ खेलाडी एन्टोइन ग्रिजम्यानले टिमका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीसँग सम्बन्ध स्थापित गर्न गाह्रो भइरहेको बताएका छन् । च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्धको खेलको पूर्वसन्ध्यामा पत्ररकारसँग कुरा गर्दै ग्रिजम्यानले यस्तो बताएका हुन् ।

aaa

फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका बहन गरेका ग्रिजम्यान यसै सिजन मात्र एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका हुन् । १ सय २० मिलियन युरोमा बार्सिलोना आएका फ्रेन्च स्टार ग्रिजम्यानले अहिले मेस्सीसँगै खेलिरहेका छन् । तर, ग्रिजम्यान आइकन मेस्सी पनि मैदानमा भन्दा धेरै मैदान बाहिर छन् ।

ला लिगामा २ खेल मात्र खेलेका मेस्सी यो सिजन प्रायः घाइते अवस्थामा नै छन् । तर, ग्रिजम्यानले भने बार्सिलोनाका प्रायः खेल खेलेका छन् । ग्रिजम्यानले ७ खेल खेल्दा ३ गोल र २ असिस्ट गरेका छन् । मेस्सीसँग मैदानमा कमै मात्रामा भेट हुने गरेका कारण पनि मेस्सीसँगको सम्बन्ध स्थापना गर्न गाह्रो भइरहेको ग्रिजम्यानले खुलाएका छन् ।

‘हो उनी अरु खेलाडीजस्तो धेरै बोल्दैनन्,’ उनले थपे, ‘उनीसँग मेरो पनि खासै कुरा हुन पाएको छैन । यो एकदमै गाह्रो छ । फेरि उनी घाइते भइ प्रायः खेल खेल्न पाएका छैनन् । यसकारण पनि हामीबीच सम्बन्ध स्थापना हुन गाह्रो भएरहेको हो । तर, चाँडै ठीक हुनेछ ।’

यस्तै ग्रिजम्यानले आफू टिमलाई सहयोग गर्नका लागि बार्सिलोना आएको बताए । उनले भने, ‘मेस्सी र म दुवै जना राम्रो मान्छे हौं र म उनलाई मात्र नभएर क्लबलाई नै सहयोग गर्नका लागि बार्सिलोना आएको हुँ ।’

भावि दिनमा मेस्सीसँगको सम्बन्ध प्रगाड बनाउँदै लैजाने भन्दै ग्रिजम्यानले भने, ‘म क्लब आएको मात्र २ महिना भो । म यहाँबाट राम्रो खेल्ने प्रयासमा छु । र, यसमा मेरा सहकर्मीले पनि साथ दिइरहेका छन् । म मेस्सी, लुइस स्वारेज र ओस्मान डेम्बेलेसँग जोडी बाँधिएर खेल्न चाहान्छु । र, उनीहरूले पनि मलाई साथ र सहयोग गर्नेमा म आशावादी छु ।’

यस्तै ग्रिजम्यानले बार्सिलोना आएर खेल्न पाउँदा धेरै नै आत्मविश्वासी भएको बताए । उनले भने, ‘म बार्सिलोना सरुवा भएर खेल्न पाउँदा धेरै नै आत्मविश्वासी भएको छु । मलाई लाग्छ बार्सिलोना सरुवा मेरो जीवनको एकदमै सही निर्णय हो ।’

Loading...