fbpx

महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोक्यो

महोत्तरी, १५ असोज । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । महोत्तरीको विभिन्न तीन वटा स्थानीय तहमा मंगलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो ।

महोत्तरीको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले बताए ।

उनका अनुसार मङ्गलबार दिउँसो करीब ३ बजेदेखि राति ७÷८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा कुकुरले टोकेपछि लगाउने सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पतालमा रिफर गरिएको हो । डा ठाकुरले शुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामा घाइते भएकाहरू आए पनि साँझदेखि महोत्तरीको विभिन्न स्थानबाट उपचार गराउन आइरहेका हुन् ।

बौलाहा कुकुरले सुरूमा महोत्तरीको मनरासिस्वा नगरपालिकामै २० जनाभन्दा बढी व्यक्तिलाई टोकेको थियो । एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्नका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस

Loading...