fbpx

हृदयघात हुनुअघि नै शरीरले दिन थाल्छ यस्ता संकेत

विराटनगर, १५ असोज । अस्वस्थ्य खानपान, ब्यस्त जीवनशैली, अनिन्द्रा, ब्यायामको कमीका कारणले मानिसहरू छिट्टै मुटुरोगबाट ग्रसित हुन सक्छन् । बुढाबुढीलाई मात्र नभएर यौवनावस्थामा समेत मानिसहरू हृदयघातको सिकार हुने गरेको पाइन्छ ।

हृदयघात हुनुभन्दा एक महिना पहिले नै शरीरले लक्षण देखाउन सुरु गरिसकेको हुन्छ । जतिखेर पनि जहाँ पनि हुन सक्ने हुँदा हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । शरीरमा देखिने लक्षणहरूलाई ध्यान दिँदा समयमै हृदयघातको खतराबाट बच्न सकिन्छ । शरीरको विभिन्न अंगमा पीडा, पेट, छातीमा पीडा भयो भने हृदयघातको संकेत हुनसक्छ । पटक–पटक छाती बाँउडिने गर्छ भने त यो पक्का पनि हृदयघातको लक्षण हुन सक्छ । छाती बाँउडिदा मुटु, हात, ढाड, तथा शरीरका अन्य भागमा पीडासमेत थपिन सक्छ ।

सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हुन् सक्छ । दिनभरिको कामको थकान तथा लगातार तनाव, चिन्ता तथा डर महशूस भएर आत्तिने जस्तो लक्षण देखा परेमा मुटुको ढुकढुकी तीव्र गतिमा दौडी रहन्छ । ढुकढुकी तीव्र गतिमा दौडिने क्रममा फोक्सोमा पर्याप्त मात्रामा अक्सिजन नपुग्ने हुदा मुटुको धमनीमा रक्तसञ्चारमा अवरुद्ध भएर सास फेर्न गाह्रो हुने गर्छ । यस्तो समस्या धेरैजसो महिलाहरूमा बढी देखिने गरिन्छ । मुटुले पर्याप्त रगत नपाएको वा मुटुमा दवाव परेको कारणले गर्दा पनि हृदयघातको जोखिम बढ्न जान्छ । रक्तसञ्चारमा अवरुद्ध आउने कारणले मुटुले शरीरका अन्य अंगमा रगत नपुग्दा शरीरका नसाहरू फुल्ने गर्छन् । गोडा फुल्नु हृदयघातको लक्षण हुन सक्छ ।

धेरै काम गर्ने व्यक्तिलाई थकान हुनु स्वाभाविक हो तर, सानो–सानो काम गर्दा छिट्टै थकान लाग्ने हुन्छ भने यो हृदयघात हुने संकेत हुन सक्छ । गर्मी नहुँदा वा केही काम नगरी पसिना आउनु भने पनि यो हृदयघातको लक्षण हुन सक्छ । दिमागमा पर्याप्त अक्सिजनको मात्राको कमीले गर्दा धेरै पसिना आउने गर्छ । पाचन प्रक्रियासँग जोडिएका तथा पेटसम्बन्धी भएको समस्याहरूले पनि हृदयघातलाई निम्त्याउन सक्छ । यस्ता संकेतहरू एक दुई पटक भएका छन् भने डराइहाल्नु पर्ने भन्ने हुँदैन तर, बारम्बारदेखि रहेको छ भने यसलाई बेवास्ता नगरी छिट्टै चिकित्सकलाई देखाउनु जरुरि हुन्छ ।

Loading...