fbpx

खानपिनका कारणले दसैंलाई दशा नबनाऔँ !

विराटनगर, १५ असोज । नजिकिँदै आएको नेपालीहरूको महान् चाड दसैं, तिहार तथा छठ परम्परागत हिसाबले मनाउँदै आएको महत्वपूर्ण चाडपर्व हो । तर, विभिन्न जातजतिका अनुसार आफ्नो संस्कृतिलाई मनाउने क्रममा खानपानको व्यवस्थापनसम्बन्धी पूर्ण रूपमा जानकारी नहुँदा चाडपर्वमा खाइने खानेकुराहरू नै रोगको कारण बन्दै गएको विज्ञहरूको बारम्बार भन्दै आइरहेका छन् ।

धेरैजसो मानिसहरू चाडपर्वका बेलामा मिठाइ, माछा, मासुलगायतका विभिन्न खानेकुराहरू खाने अनिवार्य जस्तै नै भइसकेको छ । चाडवाडको समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएको हुँदा आराम बढी गरिने, व्यायाम नगर्ने हुँदा खाएको खानेकुरा अपच भएर धेरै मानिसहरू बिरामी भएर अस्पताल आउने गरेको वीर अस्पतालका जनरल फिजिसियन डा. केदार सेन्चुरीले बताएका छन् । खानपिनकै कारण दसैं दशा बन्न सक्ने भएकाले चाडवाडको समयमा खानपान तथा सरसफाइमा विशेष ध्यान पुर्याउन उनले सुझाव दिएका छन् ।

दसैंमा नयाँ लुगा, घुम्न जाने तथा मीठो–मीठो परिकारहरू बनाएर खाने चलनले गर्दा पर्व मनाउन थप उत्साहित बनाइरहेको हुन्छ । यो समय सबैको घरमा मासुका विभिन्न परिकारहरू, मिठाइ तथा पेय पदार्थहरू हुने गर्छन् । अरु समयमा सादा र सन्तुलित भोजन खान मनपराउने भए पनि चाडवाडमा भने अधिकांश नेपालीहरूलाई चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पर्ने गरेको पाइन्छ । तर, त्यस्ता खानेकुरालाई सन्तुलन नमिलाई सेवन गर्दा शरीरलाई हानि हुने डा. सेन्चुरीले बताए ।

विशेषगरी चाडपर्वमा खाने गरेको बोसोयुक्त चिल्लो, अमिलो, पिरो तथा गुलियो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्याहरू उत्पन्न हुन्छ । बोसोको मात्रा बढी भएको खानामा कोलस्ट्रोल बढाउने तत्त्व हुने हुदा अपच हुने, कब्जियत, फूड प्वाइजन, झाडापखाला, बान्ता आउने जस्ता समस्याहरू देखा पर्न थाल्छन् । चाडपर्वको नाममा मासु तथा मिठाइ धेरै खाने र पकाउने विधि तथा सरसफाइमा समेत विचार न बानीको विकास हुनु जरुरी हुने डा. सेन्चुरीको भनाइ छ ।

मानिसहरूमा बोसोरहित मासु तथा सादा सन्तुलित भोजन खानुपर्छ भन्ने ज्ञान हुँदाहुँदै पनि मासु घरमा ल्याएर पकाउँदा अत्यधिक चिल्लो र मसला राखेर बनाउने हुँदा पनि चाडवाडको खाना रोग निम्त्याउने कारण बन्न पुग्ने उनले थपे । मासु पकाउँदा सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै तेलको र मसलाको प्रयोग गरी मासु पकाएर सेवन गर्दा आफ्नो तथा परिवारको स्वास्थ्यलाई बिग्रनबाट बचाउनका साथै रमाइलो तरिकाले दशैं मनाउन सक्ने भएकाले त्यसतर्फ ध्यान पुर्याउन एकदम जरुरी भएको विज्ञहरूले बताउँदै आएका छन् ।

Loading...