fbpx

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित दिवस मनाइयो

बेइजिङ, १४ असोज । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङको नेतृत्वमा भएको साँस्कृतिक क्रान्ति सफल भएपछि सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाइएको हो । चीनले त्यसयता असाधारण विकास गरिरहेको छ । बार्षिकोत्सव मनाउन चीनको राजधानी बेइजिङमा पनि ऐतिहासिक सैन्य परेड आयोजना गरिएको थियो ।

बेइजिङमा बार्षिकोत्सवका अवसरमा आयोजित एउटा उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी चिन पिङले कुनै पनि शक्तिले चीन र चिनियाँ जनतालाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न नसक्ने बताए । एकता नै चीनको निरन्तर प्रगतिकोे महत्वपूर्ण कारक भएको उनको भनाई छ । सी चिन पिङ आधुनिक चीनका माओपछिकै शक्तिशाली नेताका रूपमा रहेका छन् ।

शान्तिपूर्ण विकास तथा सहयोग एवम् साझा विजय भन्ने सिद्धान्त पालना गर्ने चीनले विश्वको शान्ति तथा विकासको लागि अझ उज्ज्वल भविष्य ल्याउने विश्वास विश्व समुदायको रहेको उनले बताए । कार्यक्रमलाई भब्य बनाउन ट्याङ्कर, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्य बेइजिङको तियानआन्मेन स्क्वायरमा भेला भएका थिए ।

Loading...