fbpx

बेलबारी गोल्डकपको उपाधि सिलिगुडीलाई

बेलबारी १४ असोज । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ ।

बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि चुमेको हो । धरानमाथि सानदार जित निकालेको उसले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा खुम्चिएको धरानले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

खेलमा धरानमाथि हावी देखिएको सिलिगुडीले सुरुवाती १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले गोल गरे । पहिलो हाफ १–० को अवस्थामा सकियो । ५७ औं मिनेटमा सिलिगुडीले अग्रता दोब्बर बनायो । सिलिगुडीका निशान लिम्बूले गरेको प्रहार गोलमा परिणत हुँदा खेल २–० को अवस्थामा पुग्यो ।
सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे ।सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए ।

उमेश राईले ७४ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई विट गर्दै धरानका लागि सान्त्वना गोल फर्काए । फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए । डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता बनेका उनले प्रतियोगिता भर ३ गोल गरेका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने । उनीहरुले जनही सात हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए । विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिमको सहभागिता रहेको थियो । शनिबार हुने भनिएको फाइनल खेल वर्षाको कारण मंगलबारलाई सरेको हो ।

Loading...