fbpx

विद्यालय सुधारमा प्रदेश सरकार : पहाडमा छात्रावास र तराईमा यातायातको सुविधा थप्ने

विराटनगर १४ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले विद्यालय मर्जको नीति अघि सार्दै थोरै विद्यार्थी भएका विद्यालय बन्द गर्ने जनाएको छ । पहाडमा २० २२ घरका लागि समेत विद्यालय खोलिएको भन्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहाडमा छात्रावासको व्यवस्थापन गरिने बताए ।

उनले तराईका विद्यार्थी संख्या कम भएका विद्यालयलाई समेत मर्ज गर्ने र विद्यार्थीहरुको सुविधाको लागि यातायातको साधन विद्यालयलाई उपलब्ध गराउने बताए । अहिलेको पुस्ताले ५० प्रतिशतमात्रै नेपाली भाषाका सब्द प्रयोग गर्ने अवस्था रहेको भन्दै उनले अंग्रेजी माध्यममा पठनपाठन गराएपनि मातृभाषा र नेपाली भाषालाई समेत कमजोर नबन्ने गरि नीति ल्याइने बताए ।

आर्थिक वर्ष २०७५ /०७६ को बार्षिक प्रगति तथा चालु आर्थिक वर्षको कार्यक्रमहरुको जानकारी दिन सामाजिक विकास मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले कागज र झोलारहित डिजिटल शिक्षातर्फ प्रदेश अघि बढेको बताए । प्रदेश नंं १ को सामाजिक विकास मन्त्रालयले गत आर्थिक बर्ष २०७५/ ०७६ मा ८२ दशमलव ८६ प्रतिशत खर्च गरेको छ । विनियोजित बजेट ४ अर्ब १९ करोड ४६ लाख ४७ हजार ८ सय ९६ रुपैयाँ मध्ये ३ अर्ब ४७ करोड ५६ लाख ९५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको हो ।

मन्त्रालयले वित्तिय तर्फ ८२ दशमलव ८६ र भौतिक तर्फ ९० दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४ वटा ऐन र २ वटा नियमावली पारित गरेको छ । सामाजिक विकास मन्त्रालयका लागि ३० वटा ऐन आवस्यक पर्नेमा ४ वटा पारित भएको, ७ वटा मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति भएको र ५ वटा विधेयकको मस्यौदा तयार गरिएको यूवा तथा खेलकुद महाशाखा प्रमुख दामोदर फुयाँलले बताए ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०७६र०७७ का लागि ४ अर्व १६ करोड ६८ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको जनाएको छ । विनियोजित बजेट मध्ये स्वास्थ्य क्षेत्रमा ५१ र शिक्षामा ३६ प्रतिशत छुट्याएको छ ।

Loading...