fbpx

प्रदेशको आवधिक योजना : पाँच वर्षमा प्रतिव्यक्ति आय १६२० डलर, विद्युत उत्पादन १२ गुना वृद्धि गर्ने लक्ष्य

विराटनगर,१४ असोज । १ नम्बर प्रदेशको आवधिक योजना सार्वजनिक भएको छ । प्रदेश योजना आयोगले गरिबी निवारण र तीव्र आर्थिक विकासको मुख्य लक्ष्यसहित आवधिक योजना सार्वजनिक गरेको हो ।

प्रदेशको आवधिक योजनामा वि.स २०८०–८१ सालमा प्रदेशबासीको प्रतिव्यक्ति आय १ हजार ६ सय २० डलर पुर्याउने लक्ष्य राखेको छ । पाँच वर्ष भित्र ९.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गरी प्रतिव्यक्ति आय १६ सय २० डलर पुर्याउने लक्ष्य राखेको हो । प्रदेश १ मा प्रतिव्यक्ति आय एक हजार ६२ डलर छ । प्रदेश सरकारले आगामी पाँच वर्ष भित्र आय १ हजार ६ सय २० रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो ।

आवधिक योजनामा प्रदेश सरकारले पाँच वर्षभित्र पाँच हजार किलोमिटर कालोपत्रे सडक निर्माण गर्नेछ । प्रदेश १ का १४ जिल्लामा जम्मा एक हजार ५ सय किलोमिटर सडक मात्र कालोपत्रे छन् । सडक सञ्जाल भने १४ हजार २ सय २६ किलोमिटर छ । जसमध्ये २ हजार ९ सय किलोमिटर सडक ग्राबेल ९ हजार सातसय ६३ किलोमिटर सडक कच्ची छन् । २०८० सालसम्म प्रदेश सरकारले १०० स्थानमा केबलकार, २५ किलोमिटर रेल मार्ग, दुई हजार एकसय झोलुङ्गे पुल पुर्याउने लक्ष्य राखेको छ । प्रदेश सरकारले महत्वकांक्षी योजनाका रुपमा १०० किलोमिटर जलमार्गको निर्माण गर्नेछ ।

पर्यटन क्षेत्र प्राथमिकतामा

प्रदेश योजना आयोगले पर्यटन क्षेत्रको विकास र पूर्वाधारलाई मुख्य प्राथकितामा राखेको छ । पर्यटन क्षेत्रमा हाल ३८ हजार मजदुर कार्यरत छन् । पाँच वर्ष भित्र ६४ हजारले रोजगारी पाउने प्रक्षेपण गरिएको छ । सन् २०१७ मा प्रदेश १ मा ४८ हजार ४ सय ३८ पर्यटक भित्रिएका थिए । ती मध्ये खुम्बु क्षेत्रमा ९३.१५, मकालु बरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंगा क्षेत्रमा ६ प्रतिशत र कोशी टप्पु बन्यजन्तु आरक्षमा ०.७९ प्रतिशत पर्यटक भित्रिएका थिए ।

प्रदेशको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको २ प्रतिशत योगदान छ । आगामी पाँच वर्ष भित्र ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । पर्यावरण अनुकुल पर्यटकीय क्षेत्रको संख्या १३ लाई बढाएर ५० पर्याउने र पर्यटक आगमनलाई पनि वृद्धि गर्ने लक्ष्य राखेको छ ।

विद्युत पनि प्राथमिकतामा

प्रदेश योजना आयोगले आगामी पाँच वर्ष भित्र १५ सय मेगावाट विद्युुत उत्पादन हुने प्रक्षेपण गरेको छ । प्रदेश १ मा हाल १२१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । ३४ हजार मेगावाट विद्युत उत्पादन हुनसम्ने सम्भावना छ । प्रदेश १ मा ७७ मेगावाट आयातितसहित १९८ मेगावाट विद्युत आपूर्ति भइरहेको छ । तर आवश्यकता भने २५० मेगावाट छ । प्रदेश १ मा आगामी पाँच वर्षमा आवश्यकता तीन गुना अनुमान छ । आगामी पाँच वर्ष भित्र १२ गुना उत्पादन वृद्धि गरी १५ सय मेगावाट उत्पादन गर्ने लक्ष्य छ ।

१४ खर्व लगानीको अनुमान

प्रदेश योजना आयोगले सार्वजनिक गरेको अवधिक योजनामा २०७६–७७ देखि २०८०–८१ सम्मको योजना कार्यान्वयनका लगि १४ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ रकम लाग्ने अनुमान गरेको छ । जसमा सरकारले ५ खर्ब ५७ अर्ब ७८ करोड र निजी क्षेत्रबाट ७ खर्ब ७६ अर्ब ५३ करोड, सहकारी तथा समुदायिक क्षेत्रबाट ७९ अर्ब ३० करोड र २८ अर्ब ४६ करोड लगानी हुने प्रक्षेपण गरिएको छ । योजना आयोगको प्रक्षेपणमा अनुसार निजी क्षेत्रबाट ५३.८ र सरकारले ३८.७ प्रतिशत लगानी गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै सहकारी क्षेत्रले ५.५ र सामुदायिक क्षेत्रले २ प्रतिशत लगानी गर्ने प्रक्षेपण गरेको छ ।

मुख्यमन्त्री भन्छन् – अब योजनाबद्ध विकास

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अवधिक योजना लागु भएपछि योजनावद्ध विकास हुने बताएका छन् । योजना आउन ढिलो भएका कारण प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिसकेको बताउँदै उनले अहिलेको बजेट अवधिक योजनामा जोडेर कार्यान्वयन गर्ने बताए । उनले अब मनखुसी बजेट बनाउने तथा वितरण कार्य बन्द गरी अवधिक योजनामा आधारित हुँदै लगानी गर्ने बताए ।

छिट्टै लगानी सम्मेलन

प्रदेश सरकाले आवधिक योजना कार्यान्वयनका लागि लगानी सम्मेलनको तयारी सुरु गरेको मुख्यमन्त्री राईले बताए । निजी क्षेत्रको सहभागितामा समृद्ध प्रदेश निर्माण गर्ने बताउँदै उनले सरकारले लगानी सम्मेलनको तयारी सुरु गरेको बताए ।

Loading...