fbpx

अर्को दसैंमा अशोकले ‘अल्लारे २’ बनाउने

विराटनगर, १४ असोज । ‘रातो टीका निधारमा’का निर्देशक अशोक शर्माले आगामी वर्षको दसैँमा ‘अल्लारे २’ ल्याउने भएका छन् । गत शुक्रबारदेखि प्रदर्शनमा रहेको फिल्म ‘रातो टीका निधारमा’को अन्त्यमा निर्देशक शर्माले २०७७ को आगामी प्रस्तुति ‘अल्लारे २’ भनेर घोषणा गरेका हुन् ।

सन् १९९७ मा रिलिज भएको ‘अल्लारे’मा महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको मुख्य भूमिका थियो । ‘अल्लारे’मा समावेश गरिएको ‘रातो टीका निधारमा’ गीतलाई सापटी लिएर यो दशैँमा ‘रातो टीका निधारमा’ रिलिज गरिएको हो । २२ वर्ष अगाडि रिलिज भएको ‘अल्लारे’लाई पनि अशोक शर्माले नै निर्देशन गरेका थिए भने फिल्ममा शम्भुजीत बाँस्कोटाको कथा र संगीत, स्वर्गीय शिव रेग्मीको पटकथा रहेको थियो ।

फिल्ममा राजेश र करिश्माका अलावा अशोक शर्मा, नीर शाह, सुभद्रा अधिकारी, नारायण त्रिपाठी, श्रीषा कार्कीलगायतका कलाकारहरूको पनि अभिनय रहेको थियो । अर्को वर्षको दसैंमा फिल्म ल्याउने वा नल्याउने विषयमा मिडियासँग खासै खुलेर भने कुरा नगरेका अशोकले दसैंमा फिल्म रिलिज गर्ने क्रम नरोक्ने देखिएको छ । गत वर्ष दसैंलाई लक्षित गर्दै उनले ‘जय भोले’ प्रदर्शन गरेका थिए ।

फिल्मको कलाकारहरू टुंगो नलागेको फिल्मलाई अशोकले आफ्नो छोरी कृति शर्मालाई निर्देशकको रूपमा ‘अल्लारे २’बाट डेब्यू गराउने वुझिएको छ । कृति अहिले चलचित्र ‘पानी फोटो’मा सहायक निर्देशकको रूपमा काम गर्दै छिन् ।

Loading...