fbpx

अकबरे खुर्सानीको फाइदाबारे जान्नुहोस्

विराटनगर, १४ असोज । तरकारीमा स्वादको लागि धेरैजसोलाई खानामा खुर्सानी निकै मन पर्ने हुन्छ । धुलो खुर्सानीले शरीरमा त्यति फाइदा नपुर्याउने हुँदा धेरैजसो व्यक्तिहरू डल्ले तथा अकबरे खुर्सानीको प्रयोग गर्ने गर्छन् । आयुर्वेदका अनुसार अकबरे खुर्सानीलाई विभिन्न रोगको औषधिको रूपमा लिन सकिन्छ ।

खुर्सानीमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइड्रेड, एन्टिअक्सीडेन्ट तथा फाइबर जस्ता पोषक तत्त्वहरू प्रशस्त रूपमा पाइने हुन्छ । अकबरेको सेवनले शरीरमा व्याक्टेरियाविरुद्ध लड्न रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गरेर शरीरका विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ ।

एकदम पिरो हुने भएको कारणले अकबरे खुर्सानी हालेर पकाइएको खानेकुरामा ब्याक्टेरियाको सेवन एकदम कम हुने गर्छ । खुर्सानीको सेवनले हाडजोर्नीलगायतका दुखाइलाई घटाएर पिसाबको समस्यालाई समेत समाधान गर्छ । भिटामिन ‘ए’ र ‘सी’ले आखाँको दृष्टि तेज बनाउनुका साथै छालाका लागि आवश्यक तेल उत्पादन गरेर छालालाई फाइदा पुर्याइरहेको हुन्छ ।

नियमित रूपमा ठिक्क मात्रामा सेवन गर्दा यसले छालालाई नरम र चम्किलो बनाउने गर्छ । शरीरका कोषिकाहरूलाई स्वस्थ राखी रगत शुद्धिकरण गर्नुका साथै, पाचन प्रक्रियालाई सक्रिय गरेर शरीरमा पोषक तत्त्वको मात्रालाई सन्तुलन गर्छ । अकबरे खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरमा औषधिको काम गर्दछ । अकबरे खुर्सानीले रगतमा भएको चिनीको मात्रालाई घटाउनमा सहयोग गरेर मोटोपना, कोलेस्टेरोल, उक्त रक्तचाप, मधुमेह, फोक्सो तथा मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत गर्छ । अकबरे खुर्सानी नियमित सेवन गर्ने व्यक्तिहरूको थकाइ मेटेर मुडलाई ताजा राख्दैधेरै बेरसम्म खुसी राख्छ ।

महिलामा हुने आइरनको कमीलाई अकबरे खुर्सानीको सेवनले परिपूर्ति गर्छ । यसमा हुने एन्टी व्याक्टेरियल तत्त्वले क्यान्सर र प्रोटेस्टको समस्यालाई समेत कम गर्छ । स्वास्थ्य क्षेत्रले नै मानव स्वास्थ्यका लागि हरियो, रातो तथा डल्ले, अकबरे खुर्सानी खानु लाभदायिक हुने प्रमाणित गरिएको छ । तर, रातो सुकेको खुर्सानी वा धूलो खुर्सानीको प्रयोगले भने शरीरलाई हानि हुने गर्छ । धुम्रपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने मानिसहरूका लागि अकबरेको सेवन उपयोगी हुन्छ ।

Loading...