fbpx

रातो टीका निधारमा नचलेपछि ‘छ माया छपक्कै’लाई अगाडि रिलिज गर्न माग

विराटनगर, १४ असोज । अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म ‘रातो टीका निधारमा’ बक्सअफिसमा राम्रो नचले पछि ‘छ माया छपक्कै’लाई तोकिएको रिलिज मितिभन्दा अगाडि रिलिज गर्न हल व्यवसायीहरूले माग गरेका छन् ।

हिन्दूहरूको महान् चाड दसैंको बिदामा दर्शकहरूलाई ठूलो ब्यानरका तथा राम्रो कथाबस्तु भएका फिल्महरूको प्रतीक्षा गर्ने गर्छन् । तर, यसपालीको दसैंको बिदामा हल सञ्चालकहरूका लागि खल्लो भएको छ । यो वर्षको दसैंमा कुनै पनि ठूलो नेपाली चलचित्र रिलिज नहुने भएको छ । दसैंमा राम्रो व्यापार गर्दै आएको ‘छक्का पञ्जा’ टिमले यसपटक दसैंको टीकापछि मात्र चलचित्र ‘छ माया छपक्कै’ रिलिज गर्ने भएको छ ।

‘रातो टीका निधारमा’ले दसैंमा राम्रो व्यापार गर्ने अपेक्षा गरेपनि सुरुवाती दिनमा चलचित्रका लागि दर्शक नआएपछि हल व्यवसायीहरूको दसैंको बिदामा राम्रो कमाइ गर्ने आशा निराशामा बदलिएको छ । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित हिन्दी चलचित्र ‘वार’ले पनि सबै हलमा मान्छे तान्ने सम्भावना देखाएको छैन ।

हलका कर्मचारी राम्रो नेपाली फिल्म प्रदर्शन भएको खण्डमा दसैंमा तलब मात्र नभएर बोनस लिने समेत सोचेका हुन्छन् । यसपटक भने हलका कर्मचारीहरूको लागि यो असम्भव देखिएको छ । यसकारण केही हल सञ्चालकहरूले असोज २४ गते रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’लाई एक साताअगाडि सार्न फिल्मको निर्माण टिमसँग आग्रह गरेका छन् ।

हल सञ्चालकहरूले फोन गरेर एक साताअगाडि फिल्म रिलिज गर्न आग्रह गरेको तर, अब यो सम्भव नभएको फिल्मका निर्माता रोहित अधिकारीले बताए । फिल्मका अर्का निर्माता दीपकराज गिरीले पनि दसैंको बिदामा फिल्म रिलिज गर्न हलहरूले आग्रह गरेको भए पनि फिल्मको प्रचार नै असोज २४ भनेर गरिसकेका कारण फिल्म अगाडि आउन सम्भव नै नरहेको बताएका छन् ।

Loading...