fbpx

स्वास्थ्यका लागि काँचो दूध कति फाइदाजनक ?

विराटनगर, १४ असोज । दूध, स्वास्थ्यका लागि एकदम फाइदाजनक मानिन्छ । साधारणतया शुद्ध दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व, खनिज तथा बोसो हुन्छ । गाई र भैंसीबाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध छन् । दूधमा प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी २), भिटामिन ‘ए’, ‘डी’ र ‘ई’ सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा उर्जा पनि हुन्छ । त्यसैले बच्चा तथा वृद्धवृद्धाहरूलाई नियमित दूध सेवन गर्न विज्ञहरूले सल्लाह दिँदै आएका छन् ।

खासमा दूधमा धेरै क्याल्सियम पाइने हुँदा यसले दाँत, हड्डी बलियो बनाउन मद्दत गर्छ । प्रायजसो मानिसले उमालेको दूध पिउने गर्छन् । तर, कतिपय व्यक्तिहरूले समय बचाउन, अल्छी भएका कारण नउमालेरै दूध पिउने गर्छन् । तर, वैज्ञानिकका अनुसार काँचो दूधभन्दा उमालेको दूध पिउनेहरू स्वस्थ्य हुने बताउ छन् । विज्ञका अनुसार नउमालेको काँचो दूधमा ब्याक्टेरियाको मात्रा धेरै हुँदा यसले स्वास्थ्यमा खतरा गर्न सक्ने हुन्छ ।

काँचो दूध पिउनेहरू उमालेको दूध पिउनेहरूभन्दा छिटो र बढी बिरामी हुने गरेको हुन्छ । कहिले काहिँ गाई तथा भैंसीहरू रोगी भएको समयमा तथा तिनीहरूमा टीवीको जिवाणुहरूसमेत पाइन सक्छ । गाई–भैंसी दुहुने क्रममा टीवीका ब्याक्टेरियाहरु विभिन्न माध्यमबाट दूधमा मिसिने सम्भावना बढी हुने गर्छ । अझ दूधमा पानी मिसाउने हुँदा फोहोर पानीले पनि दूधलाई अझ धेरै ब्याक्टेरिया थपिरहेको हुन्छ । त्यस्तो काँचो दूध पिउँदा ब्याक्टेरियाहरू सजिलै शरीरमा सिधैं प्रवेश गर्ने भएकाले टीवी तथा अन्य रोगको संक्रमण देखिने सम्भावना बढी हुने पाइएको छ ।

काँचो दूधमा एसिडको मात्रा बढी रहने हुन्छ । शरीरमा एसिड र बेसको मात्रालाई नियन्त्रण राख्नु जरुरी छ । यसले शरीरमा फाइदाभन्दा पनि धेरै बेफाइदा हुने गर्छ । दूध उमाल्दा यसमा रहेको ब्याक्टेरिया मरे पनि दूधको पोषक तत्त्वहरू भने हराउँदैन । उमालेको दूध स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा काँचो दूध नभएर उमालेर दूध पिउने बानी बसाउनु पर्छ । दुधलाई ८० डिग्रीमा कमसेकम ५ देखि १० मिनेटसम्म उमाल्ने गर्नु पर्छ ।

Loading...