fbpx

महराले सभामुख र संसद पदबाट राजीनामा दिनुपर्ने नेकपा सचिवालयको निर्णय

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ । नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनुपर्ने उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा महरामाथि लागेको आरोपबारे छलफल गर्न बैठक बसेको थियो ।
महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन् । तर, सभामुख महराले भने आरोप अस्वीकार गरेका छन् ।

 

Loading...