fbpx

दैनिक आधा घण्टा हिँड्ने गर्दा हुन्छन् यस्ता फाइदाहरू

विराटनगर, १४ असोज । आजभोलि मानिसहरू हिड्न मन पराउँदैनन् । समय बचाउनका लागि, गर्मीका कारण वा निकै अल्छी भएका कारण अहिले सबैको घरघरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधनको प्रयोग गर्न थालेका छन् । मानिसहरू बजारसम्म पनि हिँडेर पुग्न नसक्ने भएका छन् ।

आधा घण्टा, एक घण्टा वा बढी समय लाग्ने यात्राका लागि गाडी चढ्ने गरिन्छ । त्यति मात्र नभएर आजकल १०र १५ मिनेटको बाटो समेत हिँड्ने जाँगर कसैलाई चल्दैन । झन् कार्यलयमा पुगेपछि हिँड्न मिल्दैन । कामको चक्करमा एउटै कुर्सीमा बसेर घण्टौं बिताउने गरिन्छ । पैदल हिँड्नु स्वास्थ्यका लागि अति लाभदायक हुने थाहा हुँदाहुँदै पनि पैदल हिँड्न मानिसहरू निकै अल्छी मान्ने गर्छन् ।

धेरैले शहरमा धूलो, धुँवाले गर्दा स्वास्थ्यमा समस्या हुन सक्ने वा पैदल हिँड्दा समय बर्वाद भएको ठान्छन् । तर, पैदल हिँड्दा न समयको बर्वाद हुन्छ, न स्वास्थ्यमा क्षति नै हुने गर्छ । दैनिक पैदल हिँड्ने गर्दा शरीरको नियमित रूपले व्यायाम हुने गर्छ । फटाफट हिँड्दा हात, खुट्टालगायत सबै शरीरका अंगहरू सक्रिय हुने गर्छ । पैदल हिँड्दा मांशपेशीदेखि मस्तिष्कसम्मलाई फाइदा हुने हुँदा कुनैपनि अंगलाई भार नपरी समुचित ढंगले शरीरको व्यायाम हुन्छ । त्यसैले, दिनमा केही न केही वाहाना गरेर, छोटो दुरीमा कार्यलय भएमा कमसे कम आधा घण्टा हिँड्ने बानी बसाउनु पर्छ । दैनिक आधा घण्टा जति हिँड्दा अतिरिक्त व्यायाम गर्ने समय खर्च हुँदैन ।

अहिलेको ब्यस्त जीवनशैलीका कारण धेरैजसो मानिसहरू मोटोपनको शिकार भएका छन् । मोटोपन कसरी घटाउने भन्ने चिन्ता लागेको छ भने नियमित रूपले पैदल हिँड्ने हो भने धेरै हदसम्म मोटोपन नियन्त्रण हुन सक्छ । पैदल हिँड्ने मान्छेको मुटु स्वस्थ्य हुन्छ । वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा. हरिहर खनालका अनुसार विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र जीवनशैलीको परिवर्तनका कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको छ । मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै नियमित ब्यायाम नगर्नु पनि प्रमुख रूपमा लिन सकिन्छ ।

डा. खनालका अनुसार अहिले सबैभन्दा बढी अल्छि, एकै ठाउँमा बसिरहने र फेरिँदै गएको जीवनशैलीका कारण हजारौँ मानिस मटुको रोगले ग्रस्त हुने गरेको पाइएको छ । पैदल हिँड्दा मुटुलाई निकै फाइदा पुग्छ । कोलेस्टोर, रगतमा चिनीको मात्रालाई सन्तुलित राख्नका लागि सही खानपानसँगै दैनिक तीस मिनेट हिँड्नु आवश्यक हुन्छ । नियमित हिँडडुल गर्दा हड्डी तथा जोर्नीलाई पनि फाइदा पुग्ने गर्छ । दैनिक १० मिनेट मात्र हिँड्दा क्वाड्रसिप्स, पिँडुला, ग्लुट्स, हिप्स र हेमस्ट्रिङमा हुने गतिविधिले गर्दा हाम्रो खुट्टाको हड्डी र मांसपेशीहरू मजबुत हुने गर्छ । यस्तो गतिविधिले मांसपेशीमा फाइबर र अक्सिजनको मात्रालाई सन्तुलन गरेर शरीरलाई उर्जा प्रदान गर्छ ।

दैनिक आधा घण्टा हिँड्ने गर्दा मस्तिष्क पक्षघातको खतरा करिब ३० प्रतिशतले कम हुन जान्छ । बिहानको समयमा स्वच्छ हावा चलेको बेलामामा खाली खुट्टा हरियो चौरमा हिँड्दा आँखाको दृष्टि बढ्छ । कहिले काहीँ एकोहोरो काम गरिरहँदा मुड खराब भइ दिक्क लाग्नुका साथै झर्कोसमेत लाग्न सक्छ । मूडलाई स्थिर र शान्त राख्नका लागि दैनिक तीस मिनेट जति पैदल हिँड्दा यस्तो समस्याहरूबाट छुटकारा पाइन्छ ।

Loading...