fbpx

पत्रपत्रिकामा देश : अति नियमनले नीजि क्षेत्र त्रसित

विराटनगर १४ असोज । राज्यले नीति क्षेत्रसँग सहजिकरण गरि रोजगारी सृजना, आय विस्तार, उत्पादकत्वमा वृद्धि गर्न ध्यान केन्द्रीत गर्नु पर्नेमा उद्यम व्यवसायलाई नियमन गर्न एकसाथ धेरै नियम ल्याएपछि यो क्षेत्र तर्सिएको अन्नपूर्ण पोष्टले मुख्य खबर छापेको छ ।

राज्यले १ हजार रुपैयाँ माथिको कारोबार र तलबमा प्यान अनिवार्य, भेहिकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम, कम्पनी रजिष्ट्रारको सम्पत्ति शुद्धीकरणसम्बन्धी नयाँ निर्देशिका, बैंकमा बुझाएको वित्तीय विवरण स्वतः कर कार्यालयमा जाने नियमहरु लागु गरेपछि उद्योगी व्यवसायी त्रसित भएका हुन् । यस्तै पैतृक सम्पत्तिमा कर लगाउने चर्चा, उद्योगले डिजेल र ग्यासमा पाउने भ्याट क्रेडिट अन्त्य र सामजिक सुरक्षा कोषमा दर्ता हुनुपर्ने व्यवस्था गरेसँगै उद्योगी व्यवसायीहरुमा त्रास फैलिएको छ ।

आन्नपूर्ण पोष्टमा नै सरकारले सबै प्रदेशमा परराष्ट्रका प्रतिनिधि पठाएको खबर छापेको छ । प्रदेश सरकारको कुटनीतिक भेटघाट व्यवस्थित बनाउन र अभिलेख राख्न परराष्ट्रले कर्मचारी पठाएको हो । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सबै प्रदेशमा मन्त्रालयका अधिकृत स्तरका कर्मचारीको पोष्टिङ भएको जानकारी दिए । प्रदेश प्रमुख मातहत रहने कर्मचारीले मुख्यमन्त्रीको कूटनीतिक भेटघाट लाई कसरी व्यवस्थित गर्ने भन्ने अन्यौल रहेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकमा फेरि युनिटीजस्तै ठगी धन्दा, भारतीय ओरियन्सको नेटवर्कमा ठगिँदै नेपाली शिर्षकमा मुख्य खबर छ । भारतीय ओरियन्स नामको कम्पनीले नेटर्वकिङ धन्दाबाट हजारौँ नेपालीलाई ठगिरहेको फेला परेको छ । ओरियन्ले औषधि बेच्न नेपालका गरिवबस्तीका सोझा युवायुवतीलाई सदस्य बनाएको छ । पश्चिम नेपालको भारतीय सीमा नजिकका युवाहरु हजारौँको सख्यामा यसको सदस्य बनेका छन् । यसको सदस्य बन्न ९६ हजार रुपैयाँ (६० हजार भारु) शुल्क तिर्नु पर्छ । कम्पनीले अहिलेसम्म बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरसम्म सदस्य बनाउने र औषधि बेच्ने गरिरहेको छ ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई एक महिलाले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । प्रहरीमा उजुरी नगरेपनि संसदकै कर्मचारी एक महिलाले आफ्नै निवासमा आएर सभामुख महराले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । आफुलाई दुर्व्यवहार गरेको प्रहरीलाई खबर गरेपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताइन् । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राती विज्ञप्ती जारी गर्दै आरोपको खण्डन गरेका छन् । सभामुखको चरित्र हत्या गर्ने दुस्प्रयास गरिएको भन्दै विज्ञप्तीमा त्यसमा सत्यता नभएको उल्लेख छ ।

Loading...