fbpx

पत्रपत्रिकामा प्रदेश : बेमौसमी झरीले गाँउ फर्किन सकस

विराटनगर १४ असोज । अविरल वर्षाले उदयपुरको पहाडी भेगका सडक अवरुद्ध भएपछि दशैँमा गाउँफर्किएकाहरु पैदल हिड्न बाध्य भएको खबर ब्लाष्ट टाइम्समा छ । सदरमुकाम गाईघाटबाट पूर्वी, उत्तरी, र पश्चिमी उदयपुरतर्फ जाने अधिकांश सडक अबरुद्ध भएका छन् । गाईघाटबाट लिम्चुङबुङ, तप्ली, रौतामाई गाउँपालिकाका बासिन्दा किनमेल गर्न सदरमुकाम आउनसमेत सकस भएको छ ।

निरन्तरको वर्षाले तेह्रथुमको वसन्तपुर म्याङ्लुङ सडक हिलाम्मे बनेको छ । २०४२ ४३ सालामा नै ट्रयाक खोलिएपनि यो सडकको स्तरोन्नती र मर्मत नहुँदा सवारी ओहोरदोहोरमा समस्या भएको छ । पटक पटक कालोपत्रे भएको भएपनि वर्षाको बेलामा अहिले गाडी गुड्न नसक्ने गरि भत्किएको छ । यो सडक स्तरोन्नतीको लागि ३ खण्डमा ठेक्का सम्झौता भएको मध्यमहाडी सडक आयोजनाका इन्जिनियर सुरेशकुमार तुम्बाहाम्फेले बताए । सडक हिलाम्मे हुँदा पैदलयात्रुलाई समेत हिड्न असहज भएको कान्तिपुर दैनिकमा खबर छ ।

उद्घोष दैनिकमा गण्डकी प्रदेशबासीलाई प्रदेश १ आउन निम्तो शिर्षकमा उद्घोष दैनिकले मुख्य खबर छापेको छ । गण्डकी पर्यटन प्रर्वद्धन अभियानका साथ आएको गण्डकी प्रदेशको सरकारी टोलीलाई आइतबार मुख्यमन्त्री शेरधन राईले आगामी सन् २०२० भित्र प्रदेश १ घुम्न आउन निम्तो दिएका छन् । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का हरेकलाई पनि गण्डकी प्रदेश घुम्न आग्रह गरे । मुख्यमन्त्री राईले विश्वकै सर्वाेच्च शिखर सगरमाथा, एसियाकै लामो ह्यात्रुङ झरना, नेपालकै सबै भन्दा होचो भाग केचनाकवल, धार्मीक पर्यटकीय स्थलहरु बराहक्षेत्र, हलेसी, पाथीभरा मन्दिरहरु प्रमुख पर्यटकीय गन्तव्य रहेको जानकारी दिए ।

आज प्रदेश १ मा छापिएका सबै जसो पत्रपत्रिकाले चाडपर्व लक्षित सुरक्षाको लागि प्रदेश प्रहरीको योजनाका विषयमा समाचार छापेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता शेखर कोइरालाले प्रदेश १ का १४ वटै जिल्लामा गरि ७ हजार ७ सय ७१ जना जनपद र ३ सय ७८ जना ट्राफिक प्रहरी परिचालन गर्ने जानकारी दिए । प्रहरीले पैदल गस्तीदेखि दु्रत परिचालन टोली बनाएर खटाएको छ ।

जनविद्रोह दैनिकमा चाडपर्व नजिकिएपछि विराटनगर भन्सार नाकाबाट फलफुल र मसलाजन्य वस्तुको आयात बढेको समाचार छ । दशैंलाई लक्षित गरेर स्याउ, केरा, अनार, नरिवल, छोगडा, मरिच जस्ता वस्तुको आयात बढेको हो । चालु आर्थिक वर्षको साउनदेखि घटस्थापनाको दिनसम्म १३ लाख ७९ हजार ५ सय ३५ किलोग्राम स्याउ आयात भएको छ । स्याउबाट ९९ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । भारतबाट असोज लागेपछि केरा आयात हुने क्रम बढेको छ । विराटनगर भन्सार कार्यालयका सुचना अधिकृत मणिराम पौडेलले २६ लाख मुल्य बराबरको नरिवल आयात भएको बताए ।

Loading...