fbpx

जिउँदो खसी, बोकाको मूल्य निर्धारण : खसीबोका ५५० र च्याङ्ग्रा ७३० रुपैयाँ किलो

काठमाण्डौं १३ असोज । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।

कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५ सय ५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७ सय ३० रुपैयाँ तोकिएको हो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए । कम्पनीले आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग गर्ने उनको भनाई छ ।

यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९ सय २० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ । केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन् । अरु एक÷दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले बताए । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उनको भनाइ छ ।

सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले बताए । कम्पनीले खसी, बोका ढुवानीबाहेक जीउँदो प्रतिकिलो ५ सय ७० र दाङबाट प्रतिकिलो ५ सय ३५ मा खरिद गरेको छ । त्यस्तै च्याङ्ग्रा जीउँदो प्रतिकिलो ५ सय ६० मा खरिद गरिएको छ । कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो । ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ । कम्पनीले मुस्ताङबाट १ हजार ९२० च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो ।

Loading...