fbpx

देशका ५० शहरमा टेलिकमको फोरजी सेवा सुरु हुँदै

काठमाडौं १३ असोज । सरकारी स्वामित्वको नेपाल टेलिकमले बुधबारदेखि देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो ।

कम्पनीले काठमाडौँमा कार्यक्रमको आयोजना गरी फोरजी सेवा विस्तार भएको घोषणा गर्ने र कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पु¥याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो ।

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार हालसम्मको तयारी अनुसार ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । बुधबारसम्म त्यस्ता टावरको संख्या १५० सम्म पुग्नेछ । हरेक दिन एक दर्जन टावरको संख्या थपिएको र दु्रतगतिमा काम भइरहेकाले तोकिए भन्दा बढी स्थानमा सेवा पु¥याउने योजनामा रहेको प्रवक्ता वैद्यले बताइन् ।

उनले चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउने जानकारी दिइन् । यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा शुरु हुनेछ ।
धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ । तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा सेवा सञ्चालनमा आउनेछ । कर्णाली प्रदेशको सुर्खेतमा पनि ४ जी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमका सहायक प्रवक्ता कृष्ण भण्डारीले बताए ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो ।

Loading...