fbpx

छोरीको सम्मानका लागि महानगरमा उपमेयर योजना ल्याएको हुँ : ईन्दिरा कार्की (उपप्रमुख, विराटनगर महानगरपालिका)

ईन्दिरा कार्की विराटनगर महानगरपालिका उपप्रमुख हुन् । नेपाली कांग्रेसबाट विजयी उनी महानगरको न्यायिक समिति संयोजक पनि हुन् । कांग्रेसको हाल महासमिति सदस्य रहेकी कार्की साधारण सदस्य हुँदै पार्टीको जिल्ला सचिव  र  महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन् । उपप्रमुख कार्कीसँग कोशी अनलाइनका लागि आशिका लम्सालले गरेकोे कुराकानी…..

कहाँ जन्मिनु भयो ?

मेरो जन्म सर्लाहीमा भएको हो ।

परिवारमा को–को हुनुहुन्छ ?

बुबाआमा स्वर्गीय भइसक्नु भयो । तीन जना दाजु र एक जना दिदी हुनुहुन्छ ।

कहाँ पढ्नुभयो ?

म सर्लाहीमा जन्मे पनि पढ्न चाँहि वीरगञ्जको ठाकुराम क्याम्पसमा राजनीतिशास्त्र पढेँ । र, त्यही नेविसंघको राजनीति पनि गरेँ ।

पार्टीमा कहिलेदेखी लाग्नुभयो ?

०४६ सालको आन्दोलनदेखि आजको मितिसम्म सक्रिय छु ।

पार्टीको कुन तहसम्म पुग्नु भयो ?

४६ सालमा पार्टीको साधारण सदस्य लिएँ । त्यसअघि नेविसंघमा पनि सक्रिय थिएँ । साधारण सदस्यबाट वाडको कार्य समितिको सदस्य र पछि ०४८ सालको चुनावबाट वडा सभापति भएँ । त्यसैगरी नेपाल महिला संघको भातृ संगठनको वाडको सभापति भएँ । त्यसपछि मोरङ जिल्लाको पार्टी सचिव बनेँ । हाल महाससमिति सदस्य छु ।

पार्टीमा स्थापित हुन कति संघर्ष गर्नु पर्यो ?

संघर्ष जीवनको अर्को नाम हो । कसैले म सहयोग गर्छु भनेर भन्दैनन् । मैले नेविसंघदेखि केन्द्रीय सदस्य हुदाँसम्म निकै संघर्ष गरेको छु । धेरै आरोह अवरोह पार गरेँ । जोखिम र चुनौती धेरै मोलेँ । त्यसै पनि महिलालाई राजनीतिमा सजिलो हुँदैन, फेरि त्यो बेलामा ।

उपप्रमुखको टिकट कसरी पाउनु भयो ?

लामो समयदेखि अनवरत रूपमा पार्टीमा लडिराखेको छु । केन्द्रीय सदस्यमा दुई चोटी लडेँ तर हारेँ । समानुपातिकमा सांसदको लागि टिकट मागेको थिए । पाइनँ । सूचीकृतसम्म पनि भइनँ । तर, उपमेयरको टिकट चाहिँ मैले मागेको होइन, नेताहरूले बोलाएर तिमी सिनियर हो उठ्नु पर्छ भनेर दिनुभएको हो ।

तपाईंले डेमोक्रेटिक पार्टी नै रोज्नुको कारण चाही के नी ?

परिवारमा दाजुहरू बामपन्थि विचारको हुनुहुन्छ । तर, म बुबाको प्रभावमा परेर कांग्रेस भएकी हुँ ।

तपाईँ कांग्रेसमा देउवा गुटको हो ?

मेरो कुनै पनि गुट छैन । मेरा लागि सबै नेता बराबर हो । म कांग्रेस गुटको हो ।

तपाईँ आफ्नोभन्दा पनि महानगर प्रमुख भीम पराजुलीसँगै उम्मेद्वार भएकोले फाइदा भएको भन्छन् नि ?

त्यस्तो मलाई लाग्दैन । पार्टीमा मेरो आफ्नो छुट्टै अस्तित्त्व छ । दुुवै जनाले एकअर्कालाई सपोर्ट गरेका थियौँ । मलाई जनताले रुचाएर जिताएका हुन् ।

देशकै चर्चित् र दोश्रो ठूलो महानगरको उप–प्रमुखमा एउटा महिला  विजयी हुदाँ कस्तो महशुस भयो, नेतृत्त्व कसरी समाल्ने होला जस्तो लागेन ?

अहँ मलाई काम गर्न सक्दिँन जस्तो पटक्कै लागेन । प्रमुख र उप–प्रमुखमा फरक त पर्छ नै । तर आत्मविश्वासी भएपछि काम गर्न सकिँदो रहेछ । ऐन–कानूनले दिएको अधिकारलाई उचित प्रयोग गरेर जिम्मेवारी मैले राम्रोसँग निर्वाह गरेकी छु ।

महिलाको नेतृत्त्व सफल हुन के कस्ता समस्या आइपर्दा रहेछन् त ?

समस्या आउँछ । तर, मैले अरु महिलाले जति भोग्नुभयो त्यति भोग्नु परेन । पैँतिस वर्षदेखि राजनीतीमा छु, अहिले कांगे्रसको महासमिती सदस्य छु । हरेक आन्दोलनको अग्र मोर्चामा छु । जेलनेल भोगेको छु । काम गर्ने बेला महिला–पुरुष दुवैले बराबर गर्ने तर मूल्यांकन गर्ने बेलामा चाहिँ पुरुषको बढी गर्ने गरिन्छ । त्यसैगरी प्रमुख उप–प्रमुखमा एक जना महिला भनेको हो । उप–प्रमुख नै त महिला भनेको होइन नि ।

छोरा–छोरीको भेदभावको खाडललाई पुर्न सक्छौँ कि भनेर उपमेयर योजना ल्याएका हौं ।

तर, पनि कुनै पनि पार्टीले महिलालाई प्रमुख पद दिएनन् । महिलालाई प्रमुख बनाएर पुरुषलाई उप–प्रमुख बनाउँ पनि भन्दैनन् । त्यसैले महिलालाई नेतृत्त्व गर्न चुनौती धेरै छन् ।

आइपरेका समस्या र चुनौतीलाई कसरी समाधान गर्नु भएको छ ?

जस्तोसुकै समस्या र चुनौती आइपरे पनि मैले नै समाधान गनुपर्छ र गर्छु भनी दृढ संकल्प गरी गर्ने गरेकी छु । आफूले नसक्दा अग्रजको सहयोग, सल्लाह र सुझाव लिएर भएपनि आइपरेका बाधाहरूलाई पार लगाउने गर्छु ।

पार्टीबाट कतिको सहयोग पाइराख्नु भएको छ ?

महासमितिको चुनाव जितेँ, महानगरको चुनाव जितेँ त्यो साथीहरूकै माया र प्रेमले गर्दा हो । यसैले पार्टीबाट राम्रो साथ सहयोग पाइराखेको छु ।

मेयरसँग बेलाबेला खटपट भएको कुरा बाहिर आउँछन् नि, सत्य हो ?

कहिलेकाहीँ खटपट हुन्छ । तर, मेयर उपमेयरमा तालमेल नभएको होइन । हामी मिलेर काम गरिरहेका छौँ । हामीमा आ–आफ्नो काम गर्ने तौरतरिका रहेको छ । कतिपय काममा मलाई चित्त नबुझेका कुराहरू उहाँसग प्रष्ट भन्ने गरेका छु । चित्त नबुझेका कुराहरूमा यसरी जानुपर्छ भनेर सुझाव दिने गर्छु । यही कुरालाई मिडियाले मेयर र उपमेरमा तालमेल छैन भनेर हावा मात्र फिँजाएको हो ।

महिला नेतृत्त्वलाई कर्मचारीले असहयोग त गर्दैनन् ?

त्यस्तो मैले फिल गरेको छुइँन । महानगरका सबै कर्मचारीले मलाई माया गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ ।

तपाईँले सञ्चालन गर्नुभएको ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान कतिको सफल भयो ?

एकदमै सफल भएको छ । हामीले त्यसको राम्रो फिडब्याक पाएका छौँ ।

उपमेयर योजनाअन्तर्गत कस्ता–कस्ता कार्यक्रम सञ्चालन भएका छन् त ?

पहिलो छोरी जन्माउनेलाई नगद ३ हजार र दोस्र्रो सन्तान छोरी हुनेलाई रु २५ हजार जम्मा गरिदिन्छौँ । त्यो पैसा उनीहरूले छोरी बालिक भएपछि उच्च शिक्षाका लागि प्रयोग गर्न सक्छन् ।

छोरा–छोरीको भेदभावको खाडललाई पुर्न सक्छौँ कि भनेर उपमेयर योजना ल्याएका छौँ । अहिले प्रविधिको पनि दुरुप्रयोग भइराखेको छ । गर्भमै छोरा–छोरीको लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्ने प्रचलन बढेको छ । यसलाई रोक्न सचेतना अभियान चलाएका छौँ । छोराछारीमा फरक गर्नु हुँदैन । छोरी पनि हाम्रै सन्तान हुन् छोरी भएकै कारणले गर्भमै मर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ छोरी भएकै कारणले जन्मबाट बञ्चित हुनु पर्ने किन ?

महानगरपालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने छात्राहरूको लागि प्याड वितरण सुरु गरेका छौँ ।

हामीले पहिलो छोरी जन्माउनेलाई उपमेयर योजनाअन्तर्गत नगद ३ हजार दिँदै आएका छौँ । त्यसैगरी दोस्रो सन्तान पनि छोरी हुनेलाई रु २५ हजार शिक्षाका लागि जम्मा गरिदिने गरेका छौँ । त्यो पैसा उनीहरूले छोरी बालिक भएपछि उच्च शिक्षाका लागि प्रयोग गर्न सक्छन् ।

त्यस्तै उपमेयर योजनाअन्तर्गत हामीले अहिले विराटनगर महानगरपालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने छात्राहरूको लागि प्याड वितरण सुरु गरेका छौँ । उनीहरूलाई महिनावारीको समयमा विद्यालय आउन प्रोत्साहन होस् भनेर यस्तो गरेका हौँ ।

एकल महिलालाई कुनैपनि सिफारीस गर्दा दश प्रतिशत छुट गर्ने व्यवस्था गरेका छौँ ।  छोरीहरूको सुरक्षाका लागि किशोरीसँग उपमेयर भन्ने कार्यक्रम सञ्चालन गराउँदै छौँ ।

त्यसैगरी उपमेयर योजनाअन्तर्गत नै अहिले हामीले एकल महिलालाई कुनैपनि सिफारिस गर्दा दश प्रतिशत छुट गर्ने व्यवस्था ल्याएका छौँ । अहिलेको समयमा किशोरीहरूले भोग्नु परेको शारीरिक शोषणबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने, आत्मारक्षा कसरी गर्ने भन्नेबारे तालिम दिनका लागि हाल हामीले उपमेयर योजनाअन्तर्गत नै किशोरीसँग उपमेयर भन्ने कार्यक्रम ल्याएका छौँ । सम्भवतः दशै–तिहारपछि सुरु गर्ने छौँ ।

अढाई वर्ष कार्यकाल बिताइसक्नु भयो, आफ्नो कार्यकालबाट कतिको सन्तुष्ट हुनुहुन्छ त ?

म त्यति सन्तुष्ट छैन । जति नगरवासीले हामीबाट आशा, भरोसा गर्नुभएको थियो, हामीले जति गर्नुपर्ने हो त्यति काम हामीले गर्न नसकेको अवस्था छ तर गर्दै नगरेको अवस्था भने होइन । हामीले नगरबासीलाई गरेका वाचाहरू पूरा गरेर मात्र हामी जान्छौँ ।

तपाईंले गर्न चाहेका बाँकी योजनाहरू के–के छन् ?

महिलाहरू सक्षम होउन् । आफ्नो खुट्टामा उभिन सकुन् भन्ने भावना ममा छ । त्यसको लागि के गर्ने कसरी गर्ने सर–सल्लाह गरेर अगाडि बढ्छु ।

आउँदो निर्वाचनमा मेयर पक्कै उठ्नु हुन्छ होला, तयारी कसरी गर्दै हुनुहुन्छ ?

म पार्टीको सिपाही हुँ । उपमेयरमा पनि पार्टीले उठाएको हो । मेयरमा पनि पार्टीले उठायो भने उठ्छु । तर, मेयर नै बन्छु भनेर कुनै तयारी गरेको छुइँन ।

महानगरवासीलाई केही भन्न चाहनुहुन्छ  ?

चाहन्छु । अहिलेको अवस्थामा जताततै बाटो भत्किएको छ, चाडपर्वको समयमा नगरवासीले भोग्नु परेको यो असुबिधाप्रति म विराटनगर महानगरवासीहरूसँग क्षमाप्रार्थी छु ।

(आशिका लम्साल कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार हुन्)

 

Loading...