fbpx

‘मेस्सी सन्की खेलाडी हुन् भने रोनाल्डो पूर्ण खेलाडी हुन्’

एजेन्सी, १३ असोज । भारतीय क्रिकेटर विराट कोहली पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका फ्यानमध्ये एक हुन् । बेलाबखतमा उनी युभेन्टसबाट खेलिरहेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरिरहन्छन् । वर्तमान क्रिकेटका सुपरस्टार कोहलीले हालै दिएको एक अन्तर्वार्ताको क्रममा रोनाल्डोको तारिफ गरेका छन् ।

पछिल्लो १ दशकयता फुटबल जगतमा राज गरिरहेका स्टार खेलाडीद्वय रोनाल्डो र अर्जेन्टिनाका स्टार लियोनल मेस्सीको विषयमा कोहलीले बोलेका छन् । बार्सिलोनाका कप्तान मेस्सी र युभेन्टसका स्टार रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा ठूलै बहस हुँदै आएको छ । यसै विषयमा कोहलीलाई पनि प्रश्न गरिएको थियो, जहाँ विराटले मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी भएको आफ्नो धारणा राखेका छन् ।

khel

उनले ‘टाइम्स अफ इन्डिया’लाई अन्तर्वार्ता दिने क्रममा मेस्सी सन्की एवम् रिसाहा खेलाडी भएको र रोनाल्डो एक पूर्ण खेलाडी भएको बताएका छन् । उनले भनेका छन्, ‘मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्न एकदम कठिन छ । तर, म भन्न चाहान्छु कि मेरो नजरमा रोनाल्डो एक पूर्ण खेलाडी हुन् ।’

‘दाहिने खुट्टाका लागि तथा देब्रे खुट्टाका लागि, तीब्रताका लागि वा ड्रिब्लिङ क्षमताका लागि रोनाल्डो उत्कृष्ट छन्’, उनले थपे, ‘मैले उनीभन्दा राम्रो गोलकर्ता अहिलेसम्म देखेको छैन । उनी फुटबलका क्रान्तिकारी हुन् र अरु सबै खेलाडीले रोनाल्डोलाई नै पछ्याउँछन् । उनको स्थान विशेष छ ।’

यसैगरी कोहलीले आफू आफ्नो टिममा रोनाल्डो जस्तो बलवान र गुणवान खेलाडीको खोजी गर्ने बताए । उनले भने, ‘यदि, मैले मेरो टिमका लागि खेलाडी छान्दा रोनाल्डोजस्तो बलवान र गुणवान क्षमता भएको खेलाडी रोज्छु ।’

यसैगरी कोहलीले अर्जेन्टिनी स्टार मेस्सी एक प्रतिभावान खेलाडी भएको बताए । उनले भने, ‘यो मेरो एक व्यक्तिगत प्राथमिकताको कुरा हो, तर मेस्सी एक सन्की प्रकृतिका खेलाडी छन् । उनीसँग प्राकृतिक क्षमता छ तर, उनी रोनाल्डोपछि मात्र आउँछन् ।’

समान पाँच–पाँच पटकका बालोन डी‘ओर विजेता स्टार रोनाल्डो र मेस्सीको विषयमा बोल्दै उनले भने, ‘रोनाल्डो सधैं उच्च स्तरमा खेल्छन्, सबैलाई उनको खुबीबारे थाहा छ । मलाई लाग्दैन कि अरु खेलाडीमा रोनाल्डोको जस्तो क्षमता र खुबी छ ।’ विराटले यसअघि पनि फिफासँगको अन्तर्वार्ताको क्रममा रोनाल्डो एक उत्कृष्ट खेलाडी भएको र मेस्सी त्यसपछि आउने खेलाडी भएको बताएका थिए ।

Loading...