fbpx

दशैं, मदिराले लठ्ठ चालक र यात्री

काठमाडौंमा बस्ने अधिकांश व्यक्ति दशैंलाई आफ्ना बा–आमा वा मान्यजनलाई भेट्न घर जाने ठूलो अवसरका रूपमा उपयोग गर्दछन् र दशैं नजिकिनासाथ कतिबेला काठमाडौं छोडौं भन्ने सुरमा हुन्छन् । बसको अग्रीम टिकट बुकिङ खुल्ला भएको समाचार कहिले आउला भनि प्रतीक्षा गर्दछन् । अग्रीम बुकिङ खुल्ला भएपछि रातभरि लाइन बसेर भएपनि टिकट लिन तयार हुन्छन् । टिकट नपाउनेहरूमा खिन्नता हुन्छ अनि यातायात क्षेत्रमा कोही चिनेजानेका मान्छे छन् कि भनि सोर्सको खोजीसमेत सुरु हुन्छ । बढी रकम तिर्न पनि तयार हुन्छन् । अर्थात्, दशैंमा मानिसलाई जसरी भएपनि काठमाडौंबाहिर आफ्नै घर गाउँमा दशैं मान्न नगइ हुँदैन । त्यसैले २०७६ सालको दशैं पर्वको रौनक काठमाडौंका बस काउन्टरहरूमा देखिन थालेकोे छ । यस सन्दर्भमा गत वर्षको दशैंमा मेरो काठमाडौंबाहिरको यात्राको तीतो अनुभव साट्न चाहन्छु । यो आलेख केही लामो हुनसक्छ तर शिक्षाप्रद छ ।

aa
कोषराज न्यौपाने

२०७५ सालको दशैंमा म, अनुजा (श्रीमती) र छोराहरूले टीकाको दिनसम्म काठमाडौंमा नै बस्नु पर्ने बाध्यता थियो । फूलपातीभन्दा अगाडी नै झापा (भद्रपुर) स्थित घर पुग्ने आदतमा यस पटक रोक लाग्यो । मलाई मात्र होइन, आमा–बुबालाई पनि यसले खल्लोपन ल्यायो । उहाँले हामीलाई“तिमीहरू आउन मिल्दैन भने छोराहरूलाई पठाइदेओ ”भन्नु भयो तर त्यो पनि सम्भव भएन । छोराहरूलाई सम्झाउनु अर्को गाह्रो काम थियो । घटस्थापनादेखि नै स्कूल बिदा भएपछि झापा जाने भन्दै दिनहुँ भनिरहन्थे । एउटा भन्थ्यो, “प्लेन चढाइदिनु, आफैं जान्छौँ ।” अर्को भन्थ्यो, “हेटौंडासम्म पुर्याइदिनु, त्यहाँबाट ठूलो बाबासँग जान्छौं ।” उनीहरूको भनाइ जायज भएपनि बाध्यताका अगाडि कसैको केही लागेन । हामी चारैजना इच्छा मारेर बस्यौं, टीकाको भोलिपल्ट जाने योजनाका साथ ।

दशैंका बेला स्थल यातायातको तीनवटा टिकट पाउन सजिलो के हुन्थ्यो र ! धेरै प्रयास गर्दा पनि सिन्धुली हुँदै जाने माइक्रो बसको टिकट पाउन सकिएको थिएन । मैंले विराटनगर–काठमाडौं चल्ने केही माईक्रो बसवालाको फोन नम्बर राखेको थिएँ । पालैपालो फोन गरें तर कसैले उठाएनन् । बल्लतल्ल गाडी नं. ५८६ को एउटा व्यक्तिसँग कुरा भयो तर ऊ चालक हो या साहु थाहा थिएन । मैंले भनेंः एकादशीका दिन तपाईँको माइक्रो चल्छ भने ३ वटा सिट चाहिएको छ । जवाफ आयोः हुन्छ । तर, टीकाको दिन एकपल्ट सम्झाउनु होला । मैले खुशीले हुन्छ भनिहालें किनकी म एकपल्ट होइन ५ पल्ट सम्झाउन तयार थिएँ । अनुजा र छोराहरूलाई सुनाएँ, उनीहरू पनि खुशी भए ।

टीकाको दिन बिहान ११ बजे माइक्रोवालालाई फोन गरें र सिट सुनिश्चित गरें । भोलिपल्ट हिँड्ने तयारी गर्नु थियो । मलाई एउटा अपरिचित नम्बरबाट फोन आयो । उसले सोध्यो, “तपाईँले तीनवटा सिट बुक गर्नु भएको रहेछ, गाडी नंं कति हो ?” मैले भनें, “गाडी नं. ५८६, सिट नं. १, २ र ३ । तपाईँ को हो ?” उसले भन्यो, “तपाईँको सिट ५८६ मा होइन, ३९९ मा हो, त्यसमा सम्पर्क गर्नु होला ।” मैंले होइन भन्न नपाउँदै उसले ३९९ नं. को गाडीको मान्छेको फोन नम्बर दिएर कुरा टुंग्यायो । मैंले आश्चर्यमा पर्दै ३९९ नंं को मान्छेलाई फोन गरें तर उसले पनि ठाडै इन्कार गर्यो । फेरि ५८६ नं. कै मान्छेलाई फोन गरें तर यसमा छँदैछैन भन्दै पन्छिन थाल्यो । अर्को फोन नम्बर दियो तर त्यसमा पनि उही कुरा । मलाई त अचम्म लाग्यो । यति बेलासम्ममा छोराहरूले पनि थाहा पाइसकेका थिए । अनुजालाई भनें कि हाम्रो सिटमा गडबडी भयो ।

मैंले फेरी ५८६ नं. कै व्यक्तिलाई फोन गरेर भनें , “आज बिहान तपाईकै माईक्रोमा प्रतिसिट रु. एक हजार पाँचसयका दरले टुंगो लागेको हो । अरुकुरा मलाई थाहा छैन ।” उसले भन्यो, “तपाईँ विराटनगर जाने मान्छे, मेरो गाडी झापा जान्छ । के को यसमा सिट हुनु ? तपाईँ मेरो गाडीमा चढ्ने खालको हैसियत भएको मान्छे नै होइन ।” मलाई निकै रिस उठ्यो र भने, “मेरो सिट तपाईँकै गाडीमा छ । पहिला मलाईँ भेट्नुस अनि थाहा पाउनु हुन्छ हैसियत ।” मलाई पैसाको खेलको हो कि भन्ने शंका लाग्यो । मैले पटक पटक फोन डायल गरें तर स्वीच अफ गरेछ । यो कुरा श्रीमती र छोराहरूले नजिकबाट नियालिरहेका थिए । जब फोन सम्पर्क बन्द भयो, घरमा सन्नाटा छायो । श्रीमतीले भन्न थालिन्, “अलि राम्रोसँग कुरा गर्नु पर्थेन ?” अब हामी कसरी जाने भन्दै छोराहरू चिच्याउन थाले ।

जोसँग टिकट बुक गरेको उसैले धोका दिएपछि कसरी गइएला भनि सोचमग्न भएँ । म र अनुजा कोटेश्वर ट्राफिक कार्यालय गएर उजुरी गर्न भनि हिँड्यौं । साँझ साढेसात बजे कोटेश्वर पुगियो । कोटेश्वर ट्राफिक प्रहरीमा हामीले सारा कुरा भन्यौं र त्यो गाडीलाई भोलि बिहान रोकेर मेरो सिट दिलाईदिन अनुरोध गर्यौं । प्रहरीले लिखित प्रमाण माग्न थाले । मैंले त्यो माइक्रोवाला र म बीचमा भएको संवादहरू फोनमा रेकर्ड गरेको थिएँ । त्यही सुनाईदिएँ । प्रहरीले भने, “यो रेकर्डले केही हुँदैन, टिकट काटेको भएमात्र कारवाही गर्न सकिन्छ” । म अलि रिसाउँदै भन्न थालें, “आज टीकाको दिन तपाईँहरूले १२८ वटा ट्याक्सीलाई मिटरमा जान नमानेको भन्दै कारवाही गर्नु भयो । त्यसमा चाहिं लिखित प्रमाण के थियो नि ?” प्रहरीले भने, “त्यहाँ त चालक र यात्री संगै हुन्छन् । हामीले कुरा गराईदिन्छौं ।” त्यो मान्छे र मेरो बीच पनि कुरा गराइदिनुस् न त भनि मैंले अनुरोध गरें । प्रहरी मन्जुर भए ।

राति ८ बजे म र एकजना प्रहरी माइक्रो नंं ५८६ को काउन्टर खोज्न हिँड्यौं । काउन्टर पत्ता लाग्यो तर गाडी थिएन । मैंले यही बीचमा हेलो सरकार र उपत्यकाका डिआईजी निरज शाहीलाई पनि फोनबाट घटना जानकारी गराएँ । हेलो सरकारले तुरुन्त जवाफ पठायो । डिआईजी शाहीले पनि कोटेश्वर ट्राफिकका प्रमुखलाई भन्नु भएछ । साढे आठ बजे हामी काँडाघारी (घर) फर्कियौं । टीकाको दिनभरिको रमाइला क्षण पूरै तनावमा परिणत भइसकेको थियो ।

घर आएर खाना खाँदा पनि त्यही माइक्रोवालाको कुरा मनमा आयो । फोन लगाएँ, उही जवाफ– स्वीच अफ । एकछिन पछि एउटा फोन आयो । कोटेश्वर ट्राफिकका प्रहरी निरीक्षकको रहेछ । वहाँलाई डिआईजी निरज शाहीले भन्नु भएछ । प्रहरी निरीक्षकले भन्नु भयो, “सर, मैंले सबै कुरा थाहा पाएँ । भोलि त्यो गाडी सरहरूलाई नलिई जान पाउँदैन । ढुक्क हुनुहोस् ।” भोलि बिहान ५ बजे हिँड्नुछ, राति १० बजेसम्म टिकटको टुंगो छैन । सुत्न खोज्यो, निद्रा पर्दैन । एकछिन निदाएछु क्यारे, त्यही मान्छेसँग झगडा परेको सपना देखियो ।

भोलिपल्ट बिहान ४ः३० बजे म कोटेश्वर ट्राफिक कार्यालय पुगें । त्यो माइक्रोलाई रोक्न प्रहरी निरीक्षकले २ जना ट्राफिकलाई कोटेश्वरको मुख्य चोकमा खटाइदिनु भयो । म पनि सँगै थिएँ । सँगै गएका भाई अनीललाई जडीबुटी चोकमा निगरानी गर्न पठाएँ । बिहान ५ बजे ट्राफिकले माइक्रोको नम्बरमा फोन गर्दा फोन उठ्यो । प्रहरीसँग उसले एयरपोर्ट अगाडि रहेको र आउँदै गरेको कुरा गर्यो । जतिवटा माईक्रो बस आउँथे, सबै चेकिङ भए । एक प्रकारले त्यहाँ ठूलै अपराधीलाई फरार हुनबाट रोक्न खोजिएको माहौल बनेको थियो । के भएको हो भनि माइक्रोवालाहरूको बीचमा खलबलि नै मच्चियो ।

त्यो माइक्रोवालाले मलाई फोन गर्यो तर मैले फोन ट्राफिकलाई दिएँ । अब १० मिनेटमा कोटेश्वर आइपुग्ने भन्यो । त्यसलाई खोज्न एकजना ट्राफिक प्रहरी बाइकमा तीनकुनेतिर लागे तर फेला परेन । फेरि मलाई फोन आयो, “तपाईँ कोटेश्वरमा बसिरहनुस्, म आउँदैछु ।” ट्राफिक प्रहरीसँग कुरा गरेपछि त्यसले नरमता देखायो । घरबाट श्रीमतीको फोन आयो, “जाने टुंगो भयो कि भएन ? हामी तयार हुनु कि के गर्नु?” “मैंले दोधारे जवाफ दिएँं, “ठीक पर्दै गर तर के हुन्छ थाहा छैन ।”

कोटेश्वर चोकमा यता र उता दौडधुप गर्दा शरीर थाकेको थियो तर बदमासलाई छोड्नु हुँदैन भन्ने भावनाले गर्दा हिम्मत हारेको थिइनँ । बिहान ७ बज्यो । बिस्तारै कोटेश्वर चोकमा सवारी साधनको चाप बढ्दै गए । ट्राफिक पनि मेरो लागि मात्र समय दिन के सक्थे र ! त्यो गाडीको अत्तोपत्तो छैन । गाडीको लस्कर निकै ठूलो भयो । त्यही लस्करको बीचमा एउटा माइक्रो अगाडी बढ्यो । परबाट नम्बर हेरें– ५८६ । हत्तपत्त ट्राफिकलाई भनें । प्रहरी सिठ्ठी फुक्दै गाडीको पछाडि कुदे, म प्रहरीको पछाडि ।

प्रहरीले गाडी रोके । म पनि छेउमा गएँ । “तपाईँको ३ वटा सिट खाली छ । बस्नुहोस् ।” मसँग फोनमा कुरा गर्ने मान्छे चालक रहेछ भन्ने बल्ल थाहा पाएँ । त्योसँग म यसअघि पनि हिँडेको रहेछु । म आक्रोशित हुँदै भनें, “पहिला गाडीलाई ट्राफिक कार्यालय लैजा । अनि हिसाबकिताब गरौंला ।” गाडी जडीबुटीबाट घुमेर कोटेश्वर ट्राफिक कार्यालय आयो । गाडीमा यात्री भरिभराउ थिए । उनीहरू पनि छक्क परेर के भयो भन्दै सोध्न थाले । चालकलाई गाडीबाट निकालेपछि मैंले त्यसलाई भने, “मलाई यति धेरै दुःख दिएर गाडी चलाउन सक्छु भन्ठानेको ? तेरो अपराधको परिणाम अब थाहा पाउँछस् ।”

ट्राफिक प्रहरीले उसको छेउमा गएर कुरा गर्दा मुखबाट गन्ध आएजस्तो भएछ । रक्सी खाएका छौ भनि सोधियो । उसले छैन भन्यो तर मेसिन लगाएर जाँच हेर्दा शून्य हुनुपर्नेमा १७९ देखियो अर्थात् अधिक मापसे गरेको पुष्टि भयो । रक्सीले गर्दा त्यसको जीउ पनि कामिरहेको थियो । एउटा यात्री बोल्यो, “यसले रक्सी खाएको हो भन्ने मलाई त अघि नै शंका लागेको थियो ।” भएका सबै यात्री आज त मरिने रहेछ भन्दै डराउन पो थाले । चालकलाई समातेकोमा उनीहरू धेरै खुशी भए । उनीहरु भन्न थाले, “धन्न भगवान, बाँचियो । कहाँ लगेर खसालिदिने रहेछ । बरु नजाउँला, ज्यान त बाँच्यो ।”

मैंले त्यसविरुद्ध सिट ठगी गरेको, बढी पैसा लिन खोजेको र मापसे गरेकोमा कारवाहीको माग गर्दै निवेदन दिएँ । त्यसलाई हिरासतमा लगियो । ट्राफिक प्रहरीको सक्रियतामा कम्पनीले अर्को चालकको व्यवस्था गरिदियो । ट्राफिक प्रहरी निरीक्षकले भने, “तपाईँहरू जस्तो सचेत मानिसले यसैगरी सक्रियता देखाउने हो भने यस्ता बदमासहरू धमाधम कारवाहीमा पर्न थाल्छन् । प्रहरी एक्लैले मात्र के गर्न सक्छ र ! तपाईँलाई धन्यवाद सर ।” मैंले पनि वहाँलाई धन्यवाद दिएँ । यात्रीहरूले उनीहरूको ज्यान बचाइदिएकोमा म र प्रहरीलाई धन्यवाद दिए ।

मैंले श्रीमती र छोराहरूलाई कोटेश्वर बोलाएँ । सरकारले तोकेको भाडादरमा हामी बिहान ९ बजेतिर विराटनगरतर्फ लायौं । प्रहरीहरू भने अरु चालकले पनि मापसे गरेका र बढी भाडा लिएका छन् कि छैनन भनी जाँच गर्न जडीबुटीतर्फ लागे । करिब एक हप्तापछि त्यो चालकले मलाई फोन गर्यो । सायद हिरासतबाट छुटेछ । त्यसले लगातार घण्टी बजाइरह्यो तर मैंले त्योस्तरको मान्छेसँग कुरा गर्न आवश्यक ठानिँन ।

यो घटनामा मेरो सक्रियताको मुख्य कारण त्यही माइक्रोमा जसरी भएपनि झापा जानु थिएन । एउटा बेइमान र ठगलाई कारवाही होस् भन्नका लागि थियो । दुःख र तनाव भएपनि प्रहरीसँग मिलेर एउटा गलत मान्छेलाई कानूनी कारवाही गराउन पाएकोमा निकै आनन्द लाग्यो । यातायात क्षेत्रमा यस्ता घटना कयौं हुन्छन् तर दोषीलाई केही कारवाही हुँदैन । त्यसैले नागरिक र प्रहरीको हातेमालो हुने हो भने सडक सुशासन कायम गर्न सकिन्छ । ट्राफिक प्रहरीले आफैं सक्रिय भई चेकजाँचलाई प्रभावकारी बनाउने हो भने धेरै यात्रीहरूले दुःख पाउनु पर्दैन, अकालमा ज्यान गुमाउनु पर्दैन ।

(लेखक अधिवक्ता तथा अधिकारीकर्मी हुन्)

Loading...