fbpx

दैनिक साइकल चलाउँदाका फाइदाहरू

विराटनगर, १३ असोज । आजकल मानिसहरू अल्छी भएका कारण स्कुटर, बाइक तथा गाडीको धेरै प्रयोगले गर्दा साइकल चढ्ने व्यक्तिहरू धेरै कम मात्रामा देख्ने गरिन्छ । अलिक गरिब परिवारका व्यक्तिहरूले, वा खेल्नका लागि साइकल किनेको वा चलाउने गरेको पाइन्छ । तर, केही ठाउँहरूमा अझै पनि साइलकल चढ्ने मानिसहरूको संख्या उस्तै रहेको छ ।

आजकलको ब्यस्त जीवनमा ब्यायाम गर्ने समय नभएकाले साइकल चढ्ने मानिसहरूलाई साइकल चढ्दा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ भन्ने कमैलाई थाहा होला । अहिलेको समयमा विकसित देशहरूमा समेत स्वस्थ रहनका लागि धेरै मानिसहरूले साइकलको प्रयोग गर्न थालिसकेका छन् । विज्ञहरूका अनुसार अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्तिको स्वास्थ्य राम्रो हुने गरेको पाइएको छ ।

साइकल महिला, पुरुष तथा जुनसुकै उमेरको व्यक्तिले पनि चलाउन सक्छन् । साइकल चलाउनका लागि कुनै उमेर समूह तोकिएको छैन । विज्ञहरूले साइक्लिङलाई व्यायमको रूपमा नियमित गरेमा स्वास्थ्यलाई फाइदा हुन सक्ने बताउँदै आएका छन् । दैनिक करिब २० मिनेट मात्र साइक्लिङ गर्दा शरीरमा रहेको क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसको तौललाई नियन्त्रणमा ल्याउन मद्दत गर्ने गर्छ । यदि, बिहान ब्यायाम गर्न समय पुग्दैन भने सबैभन्दा सजिलो व्यायाम साइक्लिङ गर्नु हो ।

नियमित साइक्लिङ गर्दा मांसपेशीहरू तथा हड्डीहरू बलिया हुने गर्दछन् । साइकल चलाउँदा पछाडिपट्टीका हड्डी सञ्चालनमा आउने भएकाले ढाड र गर्दनको दुखाइबाट समेत राहत मिल्ने गर्छ । दैनिक साइकल चलाउँदा शरीरमा रक्त सञ्चार राम्रो तरिकाले हुन्छ । रगतमा अक्सिजनको मात्रा राम्ररी पुग्ने हुँदा रक्त सञ्चारमा सुधार आउँछ जसले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । साइकल चलाउँदा रगतमा चिनीको मात्रा कम हुन जाँदा यसले मधुमेह लाग्नबाट समेत बचाउने गर्छ ।

शरीरिक व्यायमको कमीका कारण धेरैलाई मधुमेहको जोखिम हुने चिकित्सकहरूले बताउँदै आएका छन् । दैनिक ३० मिनेट साएक्लिङ गर्ने व्यक्तिहरूमा ४० प्रतिशत मधुमेह हुने खतरा कम हुने फिनल्याण्डमा गरिएको एक अध्ययनले पुस्टि गरेको छ । तनाव, चिन्ता डिप्रेसन, उदासिनता जस्ता मानसिक स्वास्थ्य अवस्थामा समेत नियमित साइक्लिङ गरेमा मनको चिन्ता कम गर्न सकिन्छ ।

साइक्लिङका कारण मानिसहरू रमाइलो महशुस हुने हुँदा दैनिक कारणले भएको मानसिक तनावबाट मुक्त हुन सकिन्छ । विभिन्न अनुसन्धानका आधारमा कुनै व्यक्तिले साइकल चलाउँछ भने उसले आफ्नो जीवनलाई परिर्वतन गरिरहेको हुन्छ । किनभने दैनिक साइक्लिङ गर्नाले शरीरको अंग सक्रिय हुने हुँदा क्यान्सरको जोखिम कम हुने गर्छ ।

Loading...