fbpx

महाधिवेशन चाँडो नभए कांग्रेस अफ्ठ्यारोमा पर्छ : नेता कोइराला

चितवन, १३ असोज । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाधिवेशन नभइ कांग्रेसमा ऊर्जा नथपिने बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने कांग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।’

जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउँदै उनले यसलाई थप उचाइमा पुर्याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए । कांग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उनले थपे, ‘सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।’

यसैगरी नेता कोइरालाले नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने बताए । उनले भने, ‘समयमा नै नेतृत्व चयन गरौँ । अब काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन ।’ जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले त्यस्तो प्रवृत्तिको आलोचना गरे । उनले भने, ‘विचार र बोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्तिविरुद्ध आवाज उठाउन जरुरी छ ।’ रासस

Loading...