fbpx

जाडो भएमा रक्सीले चिसोबाट बचाउँदैन उल्टै हानी गर्छ

विराटनगर, १३ असोज । रक्सीबारे विभिन्न अनगिन्ती भ्रमहरू रहेका छन् । प्रायजसो सबै जनविश्वास भ्रमपूर्ण नै रहेका छन् । सामान्य दैनिक जीवनमा रक्सीले कुनै पनि दृष्टिकोणमा फाइदा गर्दैन, यसलाई सधैं हानिकारक मानिन्छ ।

जाडोको समयमा रक्सीको सेवनले जाडो भागेर शरीर तातो हुने कुरा सबैले सुन्दै तथा भन्दैसमेत आएका छन् । तर, जाडोको समयमा वा जाडो भएमा रक्सीले शरीरमा गर्मी पैदा भने गर्दैन । रक्सीको सेवनले शरीरको तापक्रम बढेको जस्तो महशुस हुन्छ तर, बुझ्नुपर्ने कुरा के हो भने रक्सीले कहिल्यै जाडो कम गर्दैन । बरु, जाडो भगाउन भन्दै रक्सी पिउँदा–पिउँदा लत नै लाग्न सक्छ । डा. विश्वबन्धु शर्माका अनुसार रक्सीले चिसोबाट बचाउँदैन ।

रक्सीको सेवनले शरीरमा रियाक्सन गर्छ र अप्रत्याशित परिणाम निस्कने गर्छ । जाडो हुँदा शरीर कामको, छालामा काँढा उम्रिएको जस्ता सबैले अनुभव गरेका हुन्छन् । छालाका मसिना रक्तनलीहरूलाई साँगुरो बनाउने हुँदा शरीरको रगतमा भएको तापक्रम छालाबाट चिसो हावामा बाहिर बग्न दिँदैन । रक्तनली सगुरो भएको कारणले हावा नबग्ने तथा न्यानो लुगा लगाउँदा चिसो हावाभित्र नपस्ने हुँदा केही हदसम्म शरीरलाई चिसो लाग्दैन ।

तर, जाडोको समयमा रक्सीको सेवनले उल्टै छालाका नली फुकाउने काम गर्छ । जसकारण शरीरको तातो रगत बढी मात्रामा छालामा आउँछ, र चाला चिसो हावासँग सम्पर्कमा आउँदा शरीरको अझ बढी ताप नष्ट हुन्छ । शरीरले तातोपन गुमाउने भएकोले शरीरमा चिसो घुस्छ र रुघाखोकी तथा ज्वरोसमेत आउन सक्छ । तर, छालाको रक्तनलीमा बढी तातो रगत बग्ने हुनाले न्यानोपन महशुस हुने हुँदा मानिसहरूलाई जाडोको समयमा रक्सीको सेवनले न्यानो गर्छ भन्ने गलत भ्रम उत्पन्न हुन्छ । चिसो लागेको बेला, रुघा खोकीले सताएको बेला घाँटी दुखेमा रक्सी सेवनबाट कम हुँदैन बरु समस्या उल्टो बढ्न गइ स्वास्थ्यमा अन्य समस्याहरू उत्पन्न हुन सक्छ ।

Loading...