fbpx

थाइल्याण्डमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ जनाको मृत्यु

थाइल्याण्ड १२ असोज । थाइल्याण्डमा एउटा ‘पिक–अप ट्रक’ दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । पिक अपले सडकको मार्ग परिवर्तन गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा ट्रकमा यात्रा गरिरहेका अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको थाइल्याण्डको राजधानी बैंककमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सीसीटीभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखाइएको छ । प्रहरी अधिकृत सामरान चाइताओले सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताए ।

मृतकमध्ये नौ जना कलेजस्तरका विद्यार्थी रहेका र उनीहरूले स्थानीय एक कम्पनीमा प्राविधिक तालीम लिएर घर फर्कँदै थिए । घाइते भएका अन्य पाँचमध्ये दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको सामरानले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार थाइल्याण्डमा हरेक एक लाख व्यक्तिमध्ये ३२ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । यो अमेरिकाको तुलनामा दोब्बर बढी हो ।

Loading...