fbpx

नेकपाका कार्यकर्ताले ३ घण्टा बाटो छेकेपछि रिजाल भन्छन् ‘लोकतन्त्र जोगाउन सरकारविरुद्ध आन्दोलनमा जानु नपरोस’

तनहुँ १२ असोज । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालमाथि आइतबार बाटो छेकरे आक्रमणको प्रयास भएको छ । तनहुँको सदरमुकामबाट रिसिङ गाउँपालिका जाने क्रममा रिजालमाथि बाटोमा ठाउँ ठाउँमा रुख ढालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले ढुंगामुढा गरेको बताए । रिसिङ गाउँपालिको वडा नम्बर ८ मा नेता रिजाललाई नेकपाका कार्यकर्ताले तीन घण्टासम्म बाटो छेकेका थिए । नेकपाका कार्यकर्ताले बाटो छेक्न ७ ८ ठाउँमा रुख ढालेर हतियार र बियरका बोतल लिएर आएका उनले आरोप लगाए ।

केही ठाउँमा आफूमाथि ढुंगामुढाको प्रयास पनि भएको नेता रिजालले बताए। नेकपाका कार्यकर्ताहरुले ‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो अवरोध गरेर आक्रमणको प्रयास गरेको उनले बताए । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई पनि जानकारी रहेको प्रहरीले जनाएको छ ।

भवन उद्घाटन गरेर फर्किएपछि नेता रिजालले लोकतन्त्र र संविधानमा सरकारबाटै खतरा उत्पन्न भएको बताए । यस्ता गतिविधि तत्काल बन्द नगरे लोकतन्त्र जोगाउन सरकार विरोधी आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ ।

Loading...