fbpx

आज विश्व मुटु दिवस, यसरी राख्नुहोस् आफ्नो मुटुलाई स्वस्थ

विराटनगर, १२ असोज । आज विश्व मुटु दिवस । संसारभर विभिन्न कार्यक्रमको आयोजना गर्दै आजको दिन मनाइँदै छ । आम मानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहने गरेको छ । तर, मुटका अन्य थुप्रै रोगहरू हुन्छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डाक्टरहरूले बताउँदै आएका छन् ।

वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा. हरिहर खनालका अनुसार विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र जीवनशैलीको परिवर्तनका कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको छ । चिकित्सकहरूका अनुसार मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै खानासम्बन्धी समस्यालाई पनि प्रमुख रूपमा लिन सकिन्छ । डा. खनालका अनुसार अहिले सबैभन्दा बढी उच्च रक्तचाप र फेरिँदै गएको जीवनशैलीका कारण हजारौँ मानिस मटुको रोगले ग्रस्त हुने गरेको पाइएको छ ।

जुनसुकै उमेरका पुरुष तथा महिला दुवैलाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा रहेको र मृत्यु हुनेहरू मध्ये धेरै विकासोन्मुख देशका विपन्न वर्गका जनताहरू पर्ने गर्दछ । वंशाणुगत कारण, अत्याधीक मोटोपन, शारीरिक रूपमा कम सक्रिय, कोलस्ट्रोल, ब्लडप्रेसर, धूम्रपान, मदिरापान तथा लागू पर्दाथको सेवन, मधुमेहका रोगी हुनुलगायतका कारणले मुटुरोग हुन सक्ने सम्भावना हुन्छ । मुटुको भल्भ थुनियो, मुटुको धमनी ब्लक भयो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । मुटु रोग लागेमा छाती गाह्रो भएको, कसैले च्यापेको जस्तो महशुस हुने, छाती पोल्ने तथा चिलाउनुलगायतका लक्षणहरू देखा पर्न थाल्छ ।

घाँटी दुख्ने, टन्सिल हुने, श्वासप्रश्वासमा समस्या आउने, छाती दुख्ने, मुटुको चाल बढ्ने, रिंगटा लाग्ने, बेहोस हुने, कमजोरी हुने, खलखल पसिना आउने, वाकवाकी तथा वान्ता आउने, जिब्रो लरबरिने तथा हात खुट्टा झम्झमाउने मुटु रोगको लक्षणहरू हुन सक्छ । मुटु रोग लाग्ने केही स्वास्थ्य समस्या मोटोपना, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा यस्ता कुरालाई अगाडी नै नियन्त्रणमा राख्नु पर्छ । धूम्रपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा तथा जंक फूडको सेवन कम गर्ने गर्नु पर्छ ।

साथै मानसिक तनाव कम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, मोटोपन बढ्न नदिने, नियमित ब्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने तथा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ । खानपानमा सन्तुलन राखी नियमित ब्यायाम गरेर समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ । मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुने गर्छ । तर, रोग छिप्पिँदै गएमा उपचार कठिन हुनुका साथ साथै उपचार पनि धेरै महंगो हुने भएकोले सुरुमै सतर्कता अपनाउनु आवश्यक हुन्छ ।

Loading...