fbpx

ढाडको दुखाइलाई तत्काल कम गर्न यसो गर्नुहोस्

विराटनगर, १२ असोज । आजकलको अनब्यबस्थित जीवनशैलीका कारण ढाड दुखाइ सामान्य समस्या बनिसकेको छ । यो समस्याले बृद्ध अवस्थामा मात्र नभएर बच्चा तथा जवानहरूलाई पनि सताउन थालेको छ । राष्ट्रिय ट्रमा सेन्टरका कन्सल्टेन्ट अर्थोपेडिक तथा स्पाइनल सर्जन डाक्टर सन्तोष पौडेलका अनुसार नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ ।

८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर वा दुखेको समस्या सहेकै हुन्छ । धेरै सुतेमा, अडेस लागेमा, धेरै समय सम्म उभिएमा, धेरै समय बसेमा, भारी बोकेमा ढाड दुख्ने समस्या सुरु हुन थाल्छ । ढाड दुख्ने समस्याले दैनिक गर्ने कामहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । ढाड दुख्ने समस्या केही दिनमा आफै ठीक हुन्छ । तर, यो समस्या एक पटक देखिएपछि फेरि–फेरि पनि दोहोरिने सम्भावना बढी हुदा यसले स्वास्थ्यमै समस्या निम्त्याउन सक्छ ।

तत्काल ढाडको दुखाइ कम गर्ने केही तरिकाहरू अपनाएर ढाड दुखेको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ । ढाड दुख्न शुरु भएको केही छिनमै दुखेको महशुस भएको भागमा बरफ वा चिसो वस्तुले सेक्ने गरेमा दुखाइ कम हुने डा पौडेलले बताएका छन् । यो विधि ढाड दुख्न शुरु भएको २४ देखि ७२ घण्टाभित्रको समयको लागि उपयुक्त हुनसक्छ ।

दुखेको भागमा एक पटकमा कम्तिमा पनि २० मिनेटसम्म सेक्नु पर्छ । ढाड निकै दुख्यो भन्दैमा यो विधि २४ घण्टाको समयमा १० पटक भन्दा बढी पनि गर्नु हुँदैन । बरफले सेक्दा पनि नाङ्गो ढाडमा नभएर कपडा माथिबाट सेक्नुपर्छ । बरफले सकी सकेपछि भने तातो वस्तुले सेक्नुपर्छ । ढाड दुखेको सुरुको अवस्थामा चिसो पदार्थले सेकिसकेपछि तातो पदार्थले पनि दुखेको भागमा सेक्न सकिन्छ ।

तातो सेकाइले गर्दा शरीरको रक्तसंचार प्रवाह सहज हुन गइ दुखाइ कम हुन्छ । सफा कपडालाई तातो पानीमा चोबेर दुखेको भागमा सेक्न सकिन्छ । त्यस्तै तातो पानी भरिएको बोतलले, कपडामा राखेको तातो नुनको पोकोले पनि सेक्न सकिन्छ । ढाडको सानोतिनो दुखाइलाई १५ देखि २० मिने सम्म र बढी दुखेको अवस्थामा १ देखि २ घण्टासम्म पनि यो विधिलाई अपनाउन सकिन्छ ।

ढाड दुखेको समयमा आराम गरिरहनु मन लाग्ने भएपनि त्यो समस्याको समाधान भने होइन । यसले समस्यालाई अझ बढाउने गर्छ । त्यसैले हल्का कामहरू गरेर सक्रिय रहनुका साथै ढाड तन्किने नियमित ब्यायाम गर्नु पर्ने डाक्टर पौडेलको सुझाव छ । ढाडमा बल नपर्ने सकेजति आफ्ना नियमित कामहरू गर्ने कोसिस गर्नुपर्छ । यताउता हिँडडुल गर्ने, ढाड तन्काउने तथा हलचल गर्ने तथा नियमित व्यायाम गर्दा दुखाइ अझ कम हुन जान्छ ।

छोटो समयको लागि दुखेको भागमा तेल तथा दुखी कम गर्ने मल्हमको प्रयोग गरेर मसाज गर्दा दुखाइ कम हुन्छ । मांशपेशीमा हुने तनावका कारण ढाड दुख्ने समस्या भएका व्यक्तिहरूका लागि दुखेको ठाउँमा मसाज गर्दा यसको प्रभाव छिट्टै महशुस गर्न सकिनुका साथै ढाड दुखेको बेलामा मसाजलाई निकै नै उपयुक्त मानिने गरिन्छ । यसले दीर्घकालीन रूपमा पनि दुखाइलाई कम गर्न सहयोग गर्ने छ ।

Loading...