visit-nepal

७ प्रदेशका १४ सुन्दर ठाउँ रहेको सरौतो’को ‘केही आधा’ रिलिज (भिडियोसहित)

विराटनगर, १२ असोज । फिल्म ‘सरौतो’को दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश गरिएको ‘केही आधा’ बोलको गीत युट्युबमा हाईलाइट नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा फिल्मका दुई मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई देखाइएको छ । स्याड भर्सनमा आधारित रहेको गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर रहेको छ । भिजिट नेपाल २०२० लाई लक्षित गरेर सात प्रदेशका १४ सुन्दर लोकेसनमा गीतको भिडियोको छायाँकन गरिएको निर्माण टिमले बताएको छ । फिल्मका निर्देशक हरि हुमागाईँको कोरियोग्राफी रहेको गीतको भिडियोलाई छायाँकन गर्न मात्रै १४ दिन लागेको फिल्मकी निर्मात्री सिर्जना जोशीले बताइन् ।

बदलाको कथा बोकेको फिल्म ‘सरौतो’ हरि हुमागाईंको डेब्यु निर्देशन हो । रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा सुमी र सन्नीका साथ मनिषा पुन मगर, प्रतिक दुलाल, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, राजेश रोय, मनोज तामाङलगायतको कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको हो । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको एक्सन फिल्म ‘सरौतो’मा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईँको छायांकन र शंकर महर्जनको एक्सन रहेको छ । फिल्म कार्तिक २२ गते रिलिज हुने भएको छ ।

Loading...