fbpx

सानैमा विहे, उमेर पुगेपछि पछुतो

विराटनगर १२ असोज । विराटनगरका महिलाले सानो उमेरमा विवाह गरेर पछुताउनु परेकाे सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन् र पछुताउनुपर्छ भन्न थालेका छन् ।

पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताइन् । विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै भेटेको युवकसँग भागेर विवाह गरेको स्मरण गराउनुभयो । आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको विवाहले जीवनमा अभिशाप बनेको उनले बताइन् । सोचे जस्तो वैवाहिक जीवन नभएपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् ।  उनलाई सानैमा विवाह गरेको कारण निकै पछुतो छ । विवाहकै कारण पढाइ बिग्रिएको र अहिले बेरोजगार बस्नु परेको उनले बताइन् ।

यस्तै, विराटनगर महानगरपालिका २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाइन् । घरका आमाबुबाले नै विवाह गरिदिएको उनले बताइन् । आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उको भनाई छ ।  आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गरिन् ।

कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक देखिएको छ । उनको कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको थियो । परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए ।

विराटनगर महानगरपालिका–१२ मा मात्र यो तीन महीनामा १५ भन्दा बढी उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएको वडाध्यक्ष हीरालाल कामतले बताए । २० वर्ष नपुगी गरिने विवाह बालविवाह भएको र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेको अध्यक्ष कामतको भनाइ छ । कम उमेरमा विवाह गरेमा २५ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद गर्ने कानून भएपनि बालविवाह भने रोकिएको छैन् ।

Loading...