fbpx

दलित तथा गैरदलितभित्रका विभेद र छुवाछुतको वृतान्त बताउने पुस्तक

शुद्रहरूको विभाजन

ऋग्वेदले शूद्रको उत्पत्ति व्याख्या गरेपछि उनीहरूलाई थरीथरीका प्रताडना दिन अनेक शास्त्रको रचना गरियो । यसका लागि ऋग्वेदपछि लेखिएका धार्मिक व्याख्याता, रचनाकार र शासकहरूको हानाथापजस्तै भयो । कसले शूद्रलाई बढी कज्याउने र अरु ‘उच्च वर्ण’ को प्रिय पात्र बन्ने भन्ने होडबाजीजस्तै चल्यो । त्यसैले ऋग्वेदपछि जतिजति समय बित्दै गयो, उतिउति शूद्रको जीवन कष्टकर बनाउँदै लगियो । अझ वैदिककालदेखि स्मृतिकालसम्म आइपुग्दा धार्मिक आस्थाद्वारा सिर्जिएको तत्कालीन समाजको अधार्मिकताको वर्णन गरिसाध्य छैन ।

यतिमा त्रैहोइन, शूद्रलाई त विभिन्न किसिममा वर्गीकरणसमेत गरियो । ‘उच्च वर्ण’ लाई धेरै फाइदा दिनसक्ने शूद्र र कम फाइदा दिने शूद्रको बीचमा विभाजन कोरियो । यो विभाजन नै अहिलेका दलितहरूमा विद्यमान’ आन्तरिक विभेदको जननी हो । यही विभाजनलाई हेरेर नै ‘पानी नचल्ने अछूत’ लाई मुलुकी ऐन १९१० मा ‘छोइँदा छिटो हाल्नु नपर्ने’ र ‘छोइँदा छिटो हाल्नु पर्ने’ समुदायमा विभाजन गरियो । किनभने, जयस्थिति मल्लको थिति र जङ्गबहादुर राणाको मुलुकी ऐनका व्यवस्था पश्चिमा मुलुकबाट आयातित थिएनन् । बरु, मनुस्मृति र अन्य हिन्दू ग्रन्थबाट प्रभावित र प्रतिपादित थिए ।

दलितभित्र विभेदको क्रम

डा.भीमराव अम्बेड्करका अनुसार “जातप्रथा केवल श्रमको विभाजन होइन, यो श्रमिकहरूको पनि विभाजन हो ।” नेपालको सन्दर्भमा दलितका विभिन्न जात हेर्दा यो भनाइ शतप्रतिशत मिल्छ । दलितहरू यसैपनि ऐतिहासिक श्रमिक वर्ग हुन् । उनीहरूमा जात घुसाइदिएर श्रमिकहरूलाई यसरी विभाजन गरियो कि एउटै भान्सामा आएर बस्न पनि गाह्रो भयो । उत्पीडितहरूका पीडा र आँसुको भाषा मिलेपछि उनीहरूको बोली एउटै हुनुपर्ने र सङ्घर्ष पनि एकीकृत हुनुपर्ने थियो, तर दलितहरूको सन्दर्भमा त्यो सम्भव हुन सकेन ।

“संसारका मजदुर एक हौं” भन्ने मार्क्सवादीहरूको अभियान वर्ण व्यवस्थाका कारण ऐतिहासिक श्रमिकवर्ग मानिएका दलित समुदायमा लागू हुने अवस्था रहेन । ठूलो र सानो, उँच र नीच, पवित्र र अपवित्र, चोखो र बिटुलो, पानी चल्ने र नचल्ने, छिटो हाल्नु पर्ने र नपर्ने इत्यादिका अनेक तगारा लगाएर दलितहरूलाई नै अनन्त फुटको जञ्जालमा फसाइयो । यसो गर्न पण्डा र पुरोहितको जमात मात्रै होइन, सिङ्गो राज्य संयन्त्र नै प्रयोग भयो र यसका लागि ‘धार्मिक परम्पराको सहारा लिइयो । धार्मिक परम्पराको आड लिएर आफ्नो सत्तामा दलितलाई साझेदार नगराउने र सीमित वर्गलाई मात्रै ‘सत्ताको खेलाडी’ बनाइराख्ने त्यो एउटा नितान्त राजनीतिक निर्णय थियो । त्यसले दलितहरूलाई राज्यसत्ताको नजिक ढिम्किनै दिएन र एक–अर्काबीच मेलमिलाप गर्न पनि दिएन । यसरी दलितहरूलाई फुटाएपछि श्रमशोषण र जातीय शोषणविरुद्ध विद्रोह उठ्ने सम्भावना त्यसै मरेर गयो ।

जयस्थिति मल्लकाल (जातव्यवस्थाको ‘स्वर्णयुग’

नेपालमा मल्लकाल (सन् ८७९–१७६८) को सुरुवातसँगै औपचारिक रूपमा जातव्यवस्थाको ‘स्वर्णयुग’को उदय भयो भने दलितहरूको जीवनमा कालरात्री सुरु भयो । ‘जयस्थिति मल्लको सुधार’ नामक दस्तावेजमा जातको विविधीकरण कति धेरै गरिएको छ भने नेवार र गैरनेवार गरी ७२५ वटा जात रहेको जनाइएको छ । त्यस कानूनमा शूद्रलाई फुटाउन अनेक किसिमको प्रपञ्च रचिएको छ । साना जात भनिनेहरूलाई चिन्नका लागि लगाउनेदेखि खानेसम्म अलग–अलग व्यवस्था गरिएको छ । क्रमसङ्ख्या ६ मा जात चिन्नलाई सानासाना जातहरूलाई पहिरन, घर, गहना इत्यादि यस्तो–यस्तो बनाई व्यवहार गर्नु, यस्तो–यस्तो व्यवहार नगर्नु भनी जातैपिच्छे बेग्लाबेग्लै नियम गरी स्थिति बाँधिएको छ । उदाहरणका लागि पहिरनको विषयमा बाँधिएको नियम यस्तो छः

“कसायीका जातले बाहां कटेको लुगा लगाउनुः पोडै जातले टोपीलबेटाजुट्टा सुनको गहना यति नलाउनुः कसायीः पोह्रे चर्मकार इनिले झिंगटीको छाना भएको घर नबनाउनुः त्यस्ता घरमा नबस्नु फेरि आफूभन्दा थुला जातलाई साना जातले नरंम भई मान्नु ।”

जयस्थिति मल्लले छुट्टाछुट्टै जातलाई जातअनुसारको पेसा तोकिदिए । र, जातअनुसारको काम नगर्ने र अर्काको जातको काम गर्नेलाई कडा दण्डसजायको व्यवस्था गरे ।

मुलुकी ऐन १९१०ः शाह र राणाहरूको जाततन्त्रको विधान

मुलुकी ऐन समाजमा व्याप्त कुसंस्कार, अन्धविश्वास, जातीय अत्याचारलगायतका अव्यवस्थालाई हटाउन बनाइएको थिएन । बरु तिनलाई प्रणालीगत हिसाबले लागू गर्न सूक्ष्मभन्दा सूक्ष्म सामाजिक गतिविधिलाई पनि लिपिबद्ध गरिएको थियो । सामान्यतः ऐन विभेद वा अव्यवस्थाविरुद्ध निर्माण गरिन्छ, तर यो ऐन भने वर्णव्यवस्थाले सिर्जना गरेको उँचनीचपूर्ण सामाजिक अभ्यासलाई कानुनी मान्यता दिन बनाइएको थियो ।

मुलुकी ऐन १९१० ले सबै जातहरूलाई फुटायो । मिल्ने वातावरण नै बन्न दिएन । दलितभित्रैका जातहरूलाई पनि सानो र ठूलो भनेर विभाजन गर्यो र एक अर्कामा विभेद गर्न वाध्य पार्यो । ‘सानोदेखि ठूलो’ को क्रम यस्तो थियो ।

  • उपल्ला तक देषि (देखी) पोढ्या तकको जुठो षानाले (खाना) ले सबैभन्दा सानो च्याम्हाषलकको जात ।
  • अरुको जुठो षान्या (खान्या) च्याम्हाषलकको जुठो नषाने हुनाले च्याम्हाषलकभन्दा ठूलो पोढ्याको जात ।
  • च्याम्हा षलक र पोढ्याको हातको नखान्या छिटो हाल्नु पर्न्याजातसम्मको घरघरमा गाइ नाची मागीखान्या हुनाले ती दुई जातभन्दा ठूलो बादीको जात ।
  • बादीको हातको नषान्या, गाइ बजाई मागी खान्या हुनाले बादीभन्दा ठूलो गाइन्याको जात ।
  • गाइन्याको हातको नखान्या, गाइन्यानि स्वास्नी राषी (राखी)जन्म्याका छोराछोरी भातमा नलिने हुनाले गाइन्या भन्दा ठूलो दमाईको जात ।
  • सार्कीले कम्यानी कामीले सर्क्यानी ल्याई जन्म्याका सन्तान कडाराजात हुन्छन । इनका हातको पानी दामाईले षान्या र दमाईको हातको पानी यिनले षान्या हुनाले दमाईभन्दा ठूलो कडाराको जात ।
  • कामीको हातको पानी सार्की नषान्या, सार्कीको हातको पानी कामी नखान्या अरु भुट्या पोल्याको दोहोरो षान्या हुँदा इनका षचरकडाराका जातको भात पानी अघि नषाई आएको हुनाले कडाराभन्दा ठूलो कामी र सार्कीको जात । अब खचर छोरा कडाराको हातको भात चल्दैन पानी चल्छ पानी षाए कामी सार्की दुवैले पतिया गर्नु पर्दैन ।
  • इ सातै जातको हातका भात पानी षान्या इ सात जातका छोरीबेटी ल्याई स्वास्नीतर्फबाट जायजन्म नभएको हुनाले र दमाई कामी–सार्कीसित भात पानी कर्णिमा बोर्यामा अघि जातका रितको पतिया भयाको हुनाले छालाको इलम गर्न्या इ जातहरूभन्दा ठूलो कुलुको जात ।

दोषी

वास्तवमा दोष त वर्णव्यवस्थाकै हो । तर वर्णव्यवस्था आफैँ चलायमान हुने चिज होइन । यसलाई कसै न कसैले लागू गरिरहनै पर्छ । यस व्यवस्थालाई विगतमा जसरी पनि लागू गराउने र अहिलेसम्म कुनै न कुनै रूपमा टिकाइरहने काम भइरहकै छ । यो काम राज्यसत्ताले गर्दै आएको छ । त्यसैले सबभैन्दा ठूलो दोषी भनेको नै राज्यसत्ता हो जो सँधै स्वघोषित उच्च जातको हातमा रहँदै आयो । राज्यसत्ताले कथित साना जातलाई दबाउनमै आफ्नो कल्याण देख्यो ।

वर्णव्यवस्थाको नकारात्मक पक्षको जानकार हुँदाहुँदै पनि यसलाई आफ्नो स्वार्थसिद्धिका लागि निरन्तरता दिने तमाम शिक्षित समुदाय पनि उत्तिकै दोषी छन् । वर्णव्यवस्था, अझ त्यसको विस्तारको रूपमा देखिएको जातव्यवस्थाले हाम्रो समाजमा मिल्नै नसक्ने गरी अनन्त फूट र अविश्वास सिर्जना गर्यो भने हाम्रो सामाजिक सद्भाव र एकतामा समेत खलल पुर्यायो । यसले बाहुन र क्षत्रीबीच विभेद खडा गर्यो, बाहुन–क्षत्री र जनजातिबीच सङ्घर्षको आधारभूमि तयार गर्यो अनि बाहुन–क्षत्री–जनजाति र दलितबीच छुवाछूतको दूरी निर्धारण गर्यो । यसले आन्तरिक एकतामाथि नै ठूलो चुनौतीको पर्खाल उभ्यायो।

वर्णव्यवस्थाकै सह–उत्पादनको रूपमा दलितभित्र थोपरिएको आन्तरिक छुवाछूतको दोषी को होः दलित कि गैरदलित ? यसरी सोझो प्रश्न गरियो भने सोझो उत्तर आउँछः दोष चोट दिनेको हुन्छ । आन्तरिक विभेदको सवालमा चोट पाउने दलित आफैँ दोषी किमार्थ हुन सक्दैन । चोट पाउनेले त उपचार पाउनुपर्छ, न्याय पाउनुपर्छ र चोट दिनेलाई सजाय पनि हुनुपर्छ । दोषीलाई सजाय शूद्रलाई मृत्युदण्ड तोकिएझैं मनुवादी विधानअनुसार हुनुहुँदैन । यसका लागि दोषीले प्रायश्चित स्वरुप दलितको पक्षमा बुलन्द आवाज उठाउने र दलितभित्र वर्णव्यवस्थाले थोपरेका सबैखाले विभेद अन्त्यका लागि अर्थपूर्ण काम गर्नुपर्छ ।

दलित समुदायभित्र अहिले केही मानिस शिक्षित हुँदै गए पनि किन आन्तरिक विभेद कायमै रहिरहेको छ भनेर पनि एकथरीले प्रश्न उठाउँछन् । यो प्रश्नलाई स्वाभाविक रूपमा लिनुपर्छ । त्यसो त बाहुनहरूले त झन् हजारौं वर्षदेखि शिक्षालाई नै पेसा बनाए आएका हुन् तर पनि किन आन्तरिक विभेदअझै गरिरहेका भनेर प्रतिप्रश्न गर्न पनि नसकिने होइन, तर यसो भनेर दलितको आन्तरिक विभेदलाई बचाउ गर्नु जरुरी छैन । जसरी उपाध्याय बाहुनले जैसी बाहुनकी छोरी मागी विवाह गरेर लैजान गाह्रो छ, त्यसरी नै दलितभित्र पनि एकले अर्को जातसँग मागी विवाह गर्न कठिन छ । दलितभित्र जातको आधारमा सामजिक स्तरीकरण गर्ने जुन प्रणाली बनाइयो, त्यो अझै तगारो बनेको छ । चाहे आन्तरिक विभेदको सवाल होस् या विवाहको सवाल, त्यसलाई तोड्न दलितभित्रका शिक्षित पुस्ताले ढिला गर्नै हुँदैन । अन्यथा आन्तरिक विभेदको दोषको भारी दलितभित्रको शिक्षित पुस्ताले पनि बोक्नै पर्नेहुन्छ । यद्यपि, त्यो भारी जातप्रथा सिर्जना गर्नेहरू र शासक समुदायको जति ठूलो नहोला ।

प्रायश्चित ?

मनुस्मृतिमा जनावरप्रति अत्यन्त दयालु र मायालु भाव पाइन्छ । तिनीहरूलाई मारियो भने पाप लाग्छ र त्यसको प्रायश्चित गर्नुपर्छ भनेर यसले बाध्यकारी नियम बनाइएको छ । एउटा श्लोकमा भनिएको छः बिरालो, न्याउरी, चास अर्थात् नीलकण्ठ नामको चरो, भ्यागुता, कुकुर, गोहोरो, लाटोकसेरो र कागमध्ये कुनैलाई मार्दा शूद्रको हत्यामा गरिएको प्रायश्चित गर्नुपर्छ ।

यी जनावर मार्दा शूद्र–हत्या गरेको बराबर प्रायश्चित गर्नुपर्छ भनेर जनावरप्रति बडो करुणा देखाइएको छ । त्यसैमा शूद्रहरूको खास हालत पनि जनाइएको छ । उनीहरूको जीवनको मूल्य त बिरालो, कुकुर, भ्यागुताजस्ता जनावरको जति मात्रै रहेछ । एउटा भ्यागुतो मार्नु र शूद्रलाई मार्नु उस्तै–उस्तै हो भनिएपछि शूद्र–हत्या कति भयो होला ? कुकुर बिरालो मार्दा प्रायश्चित गर्नुपर्ने नियम त उहिल्यै बाँधिएको थियो, तर असङ्ख्य शूद्र (र पछि दलित भनिएका)लाई गरिएको यातना, तिरस्कार, विभेद, हत्या, अपमान, किनबेचको प्रायश्चित कहिले गर्ने ? कि गर्दै नगर्ने ?

Loading...