fbpx

रानू मण्डलको जीवनमाथि फिल्म बन्ने

विराटनगर, ११ असोज । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको छ ।

इन्स्पायर फिल्ममेकर ऋषिकेश मण्डलले रानूको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको जानकारी प्राप्त भएको छ । उनको जीवनीमा फिल्म बनाउने तयारी थालिएको र रानूको बायोपिक फिल्मका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई उनको भूमिका निर्वाह गर्नका लागि अफर गरिएको छ । फिल्मको अफर आएको खुलासा सुदीप्ता आफैले गरेकी हुन् । अन्तर्वार्तामा दिने क्रममा सुदीप्ताले आफूलाई फिल्म अफर भएको तर, फिल्मको स्क्रिप्ट मिल्न बाँकी रहेको बताइन् ।

उनले आफूलाई फिल्म गर्ने इच्छा भएपनि फिल्मको स्क्रिप्ट पाएपछि मात्र फिल्म गर्ने वा नगर्ने टुंगो लाग्ने बताएकी छन् । जर्नालिस्टबाट सफल निर्देशक बनेका ऋषिकेशले रानूको बयोपिक फिल्मको नाम ‘प्लेटफर्म सिंगर रानू मण्डल’ राखेका छन् । फिल्ममा रानूको रेलवे स्टेशनदेखि बलिउडसम्मको यात्रा देखाइने भएको छ । निर्देशक ऋषिकेशले सुदीप्ता चक्रवर्तीलाई फिल्म अफर गरेको कुरा सत्य रहेको बताए ।

रानूको क्यारेक्टरलाई सुदीप्ताले उत्कृष्ट तरिकाले दर्शाउन सक्ने भएको कारण उनलाई फिल्मको अफर गरीएको तर, उनीबाट अहिलेसम्म फिल्म गर्ने वा नगर्ने कुनै जवाफ नआएको बताएका छन् । रानू देशका कयौं महिलाहरूका लागि एक मिसाल रहेको र रानूको जीवनीमाथि फिल्म बनाउन अहिले निकै सही समय रहेको उनको भनाइ रहेको छ ।

एक यात्रीले उनले रेल्वे स्टेशनमा गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी भाइरल भएकी हुन् । सामाजिक सञ्जालकै कारण रातारात भाग्य चम्किएको रानूको अहिले संसारभर चर्चा छ । हरेक कोही उनको सुरिलो आवाज र गायिकीको फ्यान भएका छन् । कोलकाताको स्टेशनमा गीत गाउँदै जीविका चलाउने गरेकी रानूको जिन्दगी अहिले पूरै बदलिएको छ ।

बलिउडका चर्चित गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउने मौकासमेत दिएका छन् । भारतीय मिडियाहरुका अनुसार रानूले अहिलेसम्म पाँच देखि छ वटा गीत रेकर्ड गरिसकेकी छन् ।

Loading...