fbpx

घुम्नको लागि मात्रै पनि साउदी अरब जान पाइने

रियाद, १० असोज । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई भिसा दिने घोषणा गरेको हो ।

तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको साउदीले अब पर्यटनलाई पनि अर्थतन्त्रको पाटोको रुपमा विकास गर्न लागेको हो । घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।

विश्व पर्यटन दिवसकै दिन साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको विज्ञहरुले प्रतिकृया दिए । साउदीले शुक्रबार इतिहास रचेको साउदीका पर्यटन प्रमुख अहमद अल खातिबले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनले भनेका छन्, “हामीले पहिलो पटक संसार भरका पर्यटकहरुका लागि साउदी अरबलाई खुल्ला गरेका छौँ ।”

विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको उनले बताए । प्रवेशाज्ञा पाउने अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा छ ।

Loading...