fbpx

दशैंमा घुम्न जाने योजनामा हुनुहुन्छ ? प्रदेश १ का यी गन्तब्य उपयुक्त हुनसक्छ !

विराटनगर, १० असाेज । दशैंको विदामा परिवार तथा साथीभाइसँग घुम्न जाने हाम्राे परम्परा पुरानै हो । आर्थिक हैसियत अनुसार योजना बनाएर दशैं यात्रा गर्न  उपयुक्त हुन्छ ।

दशैंमा घुम्नकालागि प्रदेश नम्बर १ मा प्रशस्त गन्तब्यहरू छन् । साकिब पूर्वाञ्चल विकास क्षेत्रका १६ मध्ये १४ जिल्ला समेटेर प्रदेश नम्बर १ बनेकाे छ । प्रदेश १ मा सर्बाेच्च सिखर सगरमाथादेखि नेपालकै होचो स्थान केचना कवलपनि पर्छ । त्यस बाहेक हरेक जिल्ला कुनै न कुनै पर्यटकिय गन्तब्यको रुपमा परिचित छन् ।

 ताप्लेजुङ  : ताप्लेजुङ ३ हजार ९४ मिटर उचाइमा अवस्थित रहेको धार्मिक तीर्थस्थल पाथीभरा देवीको मन्दिरका कारण प्रख्यात छ । यहाँ ८५८६ मि अग्लो विश्वको तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो चुचुरो कञ्चनजंघा हिमाल उभिएको छ । ताप्लेजुङमा नेपालकै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला पनि हो । तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङको ओलाङ्चुङगोला नाकासमेत यहीँ पर्नुका साथै जिल्ला सदरमुकाम फुङलिङ बजार र सुकेटार क्षेत्र यहाँका प्रमुख पर्यटकीय शहरहरु हुन् ।

पाँचथर : सांस्कृतिक अभियान चलाएका किराँत धर्मका प्रवर्तक, राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमिका रूपमा चर्चित रहेको ठाउँमा यहाँको सदरमुकाम फिदिम, काबेली, तिम्बुपोखरी, जोरपोखरी लगायत जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरु रहेका छन् ।

इलाम : चियाखेतीका कारण चर्चित रहेको इलाम सहर प्रदेशको सबैभन्दा रमणीय जिल्लाहरु मध्ये एक मानिन्छ । चियाखेतीले ढाकेका हरियाली डाँडाकाँडाका कारण ख्याति कमाएको जिल्ला प्राकृतिक रूपमा उत्तिकै सुन्दर हुनुका साथै पोखरी, मठ–मन्दिर, उदाउँदो सूर्यको दृश्य हेर्न सकिने पर्वतीय शिखरका कारण इलामलाई निकै महत्व दिइएको छ । कन्याम, श्रीअन्तुका, पञ्चकन्या, सिंहबाहिनी, पाथीभरा, गजुरमुखी, मंगलबारे आदि पर्यटकीय क्षेत्रका कारण जिल्लाको छुटाउनै नहुने गन्तव्य हो ।

तेह्रथुम : तेह्रथुमको बसन्तपुरलाई गुराँसको राजधानी भनिन्छ । विश्वमा पाइने ४२ र नेपालमा पाइने ३२ मध्ये एउटै वनमा २८ प्रजातिका गुराँस पाइने भएकै कारण तीनजुरे, मिल्के, जलजले क्षेत्रलाई गुराँसको राजधानी भनिएको हो । नेपालकै अग्लो ह्यात्रुङ झरना, गुराँस र ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगान, सिंहबाहिनी भगवती मन्दिर, मेन्छ्यायेम डाँडा र पाथीभरा मन्दिरका कारण यस जिल्लाको छुट्टै पहिचान स्थापित भइसकेको छ ।

संखुवासभा : संखुवासभा संसारकै ४५७ मिटर होचो अरुण उपत्यका, विश्वको पाँचौँ र नेपालको चौथो ८४८१ मिटर अग्लो मकालु हिमाल तथा रुद्राक्षको राजधानीका रूपमा प्रसिद्ध मानिन्छ । मकालु प्रथम, मकालु दोस्रो, वरुनत्से , चाम्लाङ , हिमचुली, कुम्भकर्ण लगायतका हिमशृंखला, मकालु वरुण राष्ट्रिय निकुञ्ज र नेपालको राष्ट्रिय फुल लालीगुराँसका कारण यो ठाउँ प्रसिद्ध छ । चैनपुरे करुवा, सभापोखरी, गुफापोखरी, सिद्धपोखरीले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यहरु हुन् ।

धनकुटा : पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटा, भेडेटार, नाम्जे गाउँ र नमस्ते झरनाका कारण निकै चर्चित रहेको छ । ०६८ सालमा सिएनएनले भेडेटार नाम्जे गाउँलाई विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा राखेको थियो । धनकुटा बजार, २ सय ५० वर्ष पुरानो एसियाकै ठूलो रुख, हिलेको तोङ्बा तथा पाख्रीवास कृषि अनुसन्धान केन्द्र यहाँका अन्य चर्चित पर्यटकीय गन्तव्यहरु हुन् ।

भोजपुर : विस. १८७२ मा भोजपुरको टक्सार बजारको स्थापना धातुका सिक्का बनाउन भएको इतिहास छ । धातुका सिक्का काट्न स्थापित टक्सारबाटै खुकुरी उत्पादन थालिएको र पछि व्यावसायिक बनेपछि भोजपुर अहिले खुकुरी र रुद्राक्षका लागि प्रसिद्ध छ । भोजपुरको दिङ्ला, नेपालेडाँडा, सोमबारे, साल्पा पोखरी लगायतका ठाउँ घुम्नका लागि प्रसिद्ध छन् ।

खोटाङ : उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवताको हलेसी महादेवको मन्दिरले खोटाङ पर्यटकीय गनतब्य बनेको छ । हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुंगाको सिमाना हुँदै बगेको दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाउनुका साथै परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास राखिएको छ ।

सोलुखुम्बु : ८, ८४८ मीटर रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाका कारण सोलुखुम्बु विश्वमा चर्चित छ । विश्वका साहसी, प्राकृतिक तथा पहाड चढ्न मनपराउने पर्यटकका लागि सोलुखुम्बु पहिलो गन्तव्य हो । महालंगुर हिमशृंखलाअन्तर्गत सगरमाथा सहित ल्होत्से, चोयु, ग्याचुङगाङ, पुमोरी, आमादब्लम, पासाङल्हामू लगायतका अग्ला शिखर यसै जिल्लामा रहेका छन् । नेपालको सबैभन्दा धेरै विमानस्थल समेत यहीँ छ । ३ हजार ४ सय ४० मिटर उचाइमा रहेको नाम्चे बजार, संसारकै अग्लो स्थानमा रहेको ‘होटेल एभरेष्ट भ्यु’ सोलुखुम्बुको व्यस्त पर्यटकीय गन्तव्य हो ।

ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो समेत रहेको ओखलढुंगाको नाम मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले ओखलको नामबाट रहन गएको मानिन्छ । यहाँ ओखल रहेको ढुंगा परिसरमा घुम्नका लागि सिद्धिचरण पार्कसमेत बनाइएको छ ।

उदयपुर :  देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारण उदयपुर प्रख्यात छ । उद्योगले दैनिक आठ सय टन सिमेन्ट उत्पादन गर्छ । हर्रो, बर्रो, तेजपत्ता, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रे लगायत जडीबुटी उत्पादन गर्ने यस जिल्लामा माताप्लि पोखरी, झिल्केपोखरी, सुकेपोखरी, थाना पोखरी लगायतका ठाउँहरु घुम्नका लागि मुख्य गन्तव्य हुन् ।

झापा : नेपालकै सबैभन्दा होचो ५८ मिटर भूभाग रहेको केचनाकवल रहेको छ र अत्यधिक उर्वर तथा घना बस्ती भएको कारण झापालाई धान उत्पादनको भण्डार मानिन्छ । झापाको बिर्तामोड प्रदेशकै मुख्य व्यापारिक सहरमध्ये एक हो र दमक, धुलाबारी, काँकडभिट्टा यहाँका चर्चित व्यापारिक केन्द्रहरु हुन् । झापामा अर्जुनधारा, ,जामुनखाडी सिमसार, किच्चक वध, सतासीधाम, धनुषकोटी धाम लगायतका घुम्ने ठाउँहरु छन् ।

सुनसरी :  कोसी टप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र, विष्णुपादुका चताराधाम, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, शिवजट्टा र अन्य देवीदेवताका मन्दिरयस जिल्लाका मुख्य गहना हुन् । कोसीटप्पुमा अर्ना र चराका साथै अन्य पशुपन्छीका लागि सुरक्षित वासस्थान मानिन्छ । तमोर, अरुण, दूधकोसी, तामाकोसी, सुनकोसी, लिखु र इन्द्रावती मिसिएको सप्तकोसी यहाँको अर्को आकर्षण हो । धरान, इटहरी तथा इनरुवा लगायतका सहरका कारण पनि सुनसरी जिल्ला चर्चित रहेको छ ।

मोरङ : मोरङ पूर्वको पुरानो औद्योगिक जिल्लाको रुपमा रहेको छ । नेपालको दोस्रो ठुलो सहर तथा प्रदेशको अस्थायी राजधानी विराटनगर यहाँ छ । मोरङ जिल्लामा नेपालकै पहिलो उद्योग विराट जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विभिन्न उद्योगका कारखानाहरु, महाभारतकालीन विराट राजाको दरबार, राजारानी धिमाल पोखरी, गोविन्दपुरको सुनवर्षि पोखरी लगायतका घुम्न लायकका ठाउँ हुन् ।

Loading...