fbpx

पत्रपत्रिकामा देश : काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी

विराटनगर १० असोज । राष्ट्रिय गौरवको आयोजनामा आलटाल, काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी शिर्षकमा नागरिक दैनिकमा मुख्य खबर छ । राष्ट्रिय गौरवका आयोजनाका काम गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता भएको मन्त्रालयगत कामको प्रगति विवरण लिने क्रममा मन्त्रीहरुलाई यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखे । मन्त्रालयहरुको कामको समिक्षा गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको चाहना अनुसार ल्याइएको योजना समयमै सम्पन्न गर्ने गरि काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । खासगरी भौतिक योजना, सहरी, सिँचाई, खानेपानी, मन्त्रालयतर्फ असन्तुष्टि देखिएको उनले बताए ।

रातको अर्कै काठमाण्डौं शिर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ । राजधानीमा करिब ३ सयको हाराहारीमा सडक बालबालिका रहेको र ती मध्ये झण्डै आधा अर्थात १ सय ५० बालिका छन् । उनीहरुमध्ये धेरैजसो यौनजन्य गतिविधिमा र लागूऔषधको दुर्व्यसनमा फसेका छन् । रत्नपार्कलाई केन्द्र बनाएर हुने यौनजन्य गतिविधिमा ती किशोरीहरु समेत रहेको राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास तथा समन्वय केन्द्रका इन्पेक्टर मोहनविक्रम दाहालले बताए । साउन २०७३ यता राजधानीमा १२ सय बालबालिकाको उद्दार गरिएको छ । यो असोज महिना लागेपछिमात्रै ३० बालक र ३३ बालिका गरि ६३ जनाको उद्दार गरिएको छ ।

नेपाल वायुसेवा निगमको दिल्ली काठमाडौं सेवा नियमित नहुँदा भारतबाट फर्किने नेपाली यात्रुलाई सास्ती भएको छ । दशैँतिहार जस्ता चाड नजिकिएको बेला नेपाल एयरलाइन्सको उडान नियमित नहुँदा नेपाली यात्रु मारमा परेका हुन् । यो खबरपनि कान्तिपुर दैनिकमा छ ।

मुख्यदोष हाम्रै होः दाहाल शिर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा समाचार छ । विस्तृत शान्ति सम्झौता भएको १३ बर्ष पुग्दा समेत संक्रमणकालिन न्याय टुंगोमा पुग्न नसक्नुमा राजनीतिज्ञहरु नै दोषी भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपिडित र शिर्ष नेताहरुलाई राखेर गरेको अन्तरसम्बादमा दाहालले यस्तो बताएका हुन् ।

Loading...