fbpx

शनिबार विराटनगरमा जनगायक जेबी टुहुरेको एकल साँझ

विराटनगर, ९ असोज । शनिबार विरानगरमा ७६ वर्षीय जनगायक जेबी टुहुरेको एकल सांगीतिक साँझ हुने भएको छ । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा ११ असोज शनिबार दिउँसो ३ बजे विराटनगरको सभागृहमा जेबी टुहुरे एकल साँझ हुने भएको हो ।

आफ्नो तेस्रो एकल साँझमा गायक टुहुरेले दुई वटा नृत्यसहित १५ वटा चेतना र सन्देशमुलक गीत प्रस्तुत गर्ने फाउडेसनकी अध्यक्ष तथा निर्भिका खड्गीले बताइन् । चर्चित र स्थापित भएपनि जनवादी गीत–संगीतका ऐतिहासिक धरोहर एवम् परिवर्तनका संवाहक जनगायक टुहुरेको एकल सांगीतिक कार्यक्रममा पूर्णरूपमा निःशुल्क हुनेछ ।

गायक टुहुरेले आफ्ना हजुरबुबा उमेरमा पनि देशका सातवटै प्रदेशमा एकल साँझ गर्ने ध्येय लिएर प्रदेश १ मा कार्यक्रम आयोजना गरिएको फाउन्डेसका कोषाध्यक्ष तथा राष्ट्रियसभा संसाद् खेम नेपालीले बताए । सांसद् नेपालीका अनुसार हालसम्म जनगायक जेबी टुहुरेले कालजयी गीतहरूसँगै १ सय ५० जति प्रगतीशील गीतहरू गाइसकेका छन् । टुहुरेले ७ वा गीती एल्बम पनि निकालेका छन् ।

तात्कालीन संविधानसभा सदस्य तथा अन्तर्राष्टिय श्रमसम्बन्ध समितिको सभापतिसमेत रहिसकेका जनगायक टुहुेरेको एकल साँझमा कोरसमा गायकहरू मधु गुरुङ, आकाश थापा र बिहानी बिक अनि गंगा राईले साथ दिनेछन् । यस्तै भ्वाइलिनमा मनोहर सुनाम, सारंगीमा भरत नेपाली र हार्मेनियममा राजेश थापा अनि रिदममा भरत बुढाथोकीले सहयोग गर्नेछन् ।

एकल साँझको प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री शेरधनराई हुनेछन् भने मन्त्री, सांसद्, विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् । जनगायक जेबी टुहुरेको योगदान र चेतनामुलक गीत संगीतबारे बुझाउन एकल साँझ आयोजना गरिएको फाउन्डेसनका सचिव वीरेन्द्र बस्नेतले बताए । उनका अनुसार जेबी फाउन्डेसनले प्रदेश १ मा चाँडै आधुनिक रेकर्डिङ स्टुडियो पनि निर्माण गर्दैछ ।

Loading...