fbpx

प्रदेश १ मा तीन दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

विराटनगर, ९ असोज । प्रदेश १ मा आगामी कात्तिकमा अन्तर्राष्ट्रिय तीन दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्वस आयोजना हुने भएको छ । प्रदेश १ सरकार, स्वीस विकास नियोग, धरान उपमहानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा कात्तिक २२ देखि २४ सम्म तीन दिने चलचित्र महोत्सव हुने भएको हो ।

तीन दिने निःशुल्क अन्तर्राष्ट्रिय चलचित्र महोत्वसको उदघाटन प्रदेश १ को पर्यटकीयनगरी धरानमा हुनेछ । विराटनगर, इटहरी, विर्तामोड र दमकमा पनि विभिन्न चलचित्रहरू प्रर्दशन गरिने चलचित्र महोत्वस मूल व्यवस्थापन समितिका संयोजक तथा प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले बताए । उनका अनुसार महोत्वसमा नेपाल, स्वीसलगायत विभिन्न देशका उत्कृष्ट चलचित्रहरू प्रर्दशन हुनेछन् ।

महोत्सवका लागि विभिन्न समिति

चलचित्र महोत्सव आयोजनाका लागि प्रदेश १ का मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति, आन्तरिक मामिला तथा कानूनमन्त्रीको नेतृत्वमा मूल आयोजक समिति र प्रमुख सचविको नेतृत्वमा व्यवस्थापन समिति गठन भएको छ । यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा चलचित्र छनौट उपसमिति, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलको अध्यक्षतामा प्रचारप्रसार समिति, धरान उपमहानगरपालिकाको अगुवाइमा महोत्सवस्थल व्यवस्थापन समिति, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नेतृत्वमा निर्माण स्वागत र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको नेतृत्वमा सम्मान उपसमिति गठन गरिएको छ ।

पहिलो चलचित्र आमादेखि ओस्कारमा मनोनित नेपाली चलचित्र प्रर्दशन हुने

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले महोत्सवमा नेपालको तर्फबाट पहिलो चलचित्र आमासहित १० वटा पुराना र ओस्कारमा मनोनयन भएका चलचित्रहरू प्रर्दशन गरिने जानकारी गराए । अध्यक्ष भट्टराईका अनुसार महोत्वसमा चलचित्र प्रर्दशनसँगै कार्यपत्र प्रस्तुति, अन्तक्र्रिया र प्यानल डिस्कस पनि हुनेछन् । महोत्सवमा खासगरी जैविक विविधता र रहनसहन, भाषा–संस्कृति र पहिचानसँग सम्बन्धित हुनेछन् ।

एक करोड बढी खर्च अनुमान

प्रदेश १ मा हुने चलचित्र महोत्सवमा कुन–कुन चलचित्र कहाँ–कहाँ प्रर्दशन र त्यसबारे कति खर्च लाग्छ भन्ने यकिन भइसकेको छैन । प्रदेश सरकार मुख्य सचिव तथा महोत्सव व्यवस्थापन समितिका संयोजक सुरेश अधिकारीका अनुसार गत वर्ष चलचित्र महोत्सवका लागि १ करोड बजेट छुट्याएको तर संरचना अभावमा महोत्सव आयोजना हुन सकेन । चालु वर्षमा पनि सरकारको तर्फबाट सोही बराबर खर्च हुने अनुमान छ । तर, महोत्सवलाई स्वीस नियोगले पनि सहयोग गर्ने भएकोले सरकारको तर्फबाट खर्च कम हुनेसक्ने अनुमान पनि छ ।

नेपाली चलचित्र र कर्मीहरूको स्तरोन्नतिका लागि विकास बोर्डले देशका सातवटै प्रदेशमा चलचित्र महोत्सव अयोजना गर्न लागेको अध्यक्ष भट्टराईले बताए । प्रदेश सरकारका सचिव सुरेश अधिकारीले महोत्सव चलचित्रको विकासका लागि कोशेढुंगा साबित हुने दाबी गरे ।

एक हप्ता नेपाली चलचित्र र गीत–संगीतमय बनाइने

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवसरमा प्रदेश १ का सबै सिनेमाहलमा नेपाली चलचित्र मात्र प्रर्दशन गराइने योजना सरकारको छ । यसैगरी हप्ताभरी सिनेमा घरमा नेपाली गीतहरू मात्र बजाउन लगाउनका लागि पनि सिनेमाघरहरूलाई आग्रह गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए । उनले भने, ‘हामी सिनेमाहलहरूसँग कुरा गरिरहेका छौँ के सम्मगर्न सकिने रहेछ, गर्नेछौँ ।’

चलचित्र नगरी र उत्कृष्ट छायाङ्कन छनौट गर्न कार्यदल

प्रदेशस्तरीय चलचित्र नगरी घोषणा गर्न उत्कृष्ट छायाङ्कनस्थलहरूको छनौट गर्न प्रदेश १ सरकारले कार्यदल गठन गर्ने भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले र प्रदेशस्तरीय चलचित्रनगरी घोषणा गर्न र उत्कृष्ट छायाङ्कनस्थलहरू पहिचान गरी छनौट गर्न कार्यदल गठन गर्ने भएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले चलचित्रनगरी र छायाङ्कनस्थल छनौटका लागि दशैँअगाडि नै कार्यदल गठन गर्ने बताए । उक्त कार्यदलले स्थानीयबासी, पर्यटन व्यवसायी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूको समेत साथ लिएर प्रदेश चलचित्रनगर र उत्कृष्ट छायाङकनस्थल छनौट गरेर प्रतिवेदन सरकारलाई बुझाउने छ । सोही प्रतिवेदनको आधारमा प्रदेश सरकारले प्रदेशको चलचित्रनगर र छायाङकनस्थल घोषणा गर्नेछ ।

चलचित्रनगरी र उत्कृष्ट छायाङ्कनस्थल घोषणा भइसकेपछि देशी–विदेशी चलचित्रहरूको छायाङ्कन र प्रर्दशनमा सहजता आउने मन्त्री कार्कीे बताए ।

Loading...