fbpx

आफ्नै संघर्षले स्थापित भएको शहर विराटनगर !

त्यो विराटनगर, यो विराटनगर
former minister
राधाप्रसाद घिमिरे, पूर्वमन्त्री

अहिले ८९ वर्षको भएँ । जन्मेको पाँचथरको लिम्बामा हो, वि.सं. १९८८ मा । ७ वर्षको उमेरदेखि म विराटनगरमा बसिरहेको छु । विराटनगरमा मामाको घर थियो । यसैले म यतै आएर पढ्न थालेँ र यतै घरजम गरेर बसेँ । म विराटनगरको पुरानो स्कुल जुद्ध हाइस्कुलमा पढेको हुँ । यो स्कुल अहिले आदर्श माविको नामले प्रसिद्ध छ । म आदर्श स्कुलबाट एसएलसी दिने दोस्रो ब्याचको विद्यार्थी हुँ ।

वि.सं. २००२ मा मैले आदर्श स्कुलबाट एसएलसी दिएको थिएँ । त्यो बेला नेपालमा परीक्षा बोर्ड थिएन । भारतको पटना बोर्डले लिन्थ्यो परीक्षा । वीरगन्ज सेन्टर थियो । भारतको बाटो जोगबनी–कटिहार–समस्तीपुर–रक्सौल हुँदै २ दिन लगाएर वीरगञ्ज पुगेर डेरामा बसेर परीक्षा दिएको थिएँ । मैले त्यो बेला सेकेण्ड डिभिजनमा एसएलसीपास गरेको थिएँ । पछि पटना बोर्डबाटै सञ्चालन भएको त्रिचन्द्र क्याम्पसमा आइए पढेँ । त्यसपछि बनारस हिन्दू विश्वविद्यालयमा पढेँ । मलाई राम्रो थाहा छ, म ५ कक्षामा पढ्थेँ । त्यो बेला राणाहरूले टंकप्रसाद आर्चायहरूलाई विराटनगरमा थुनेका थिए । त्यो बेला जनरल पब्लिक अफ इन्स्पेक्सन मृगेन्द्र शमशेर विराटनगर दौडाहामा आएको बेला आदर्शमा आएर हामीलाई उपदेश पनि दिएका थिए । म २०३२ सालमा दुई वर्ष शिक्षा, सञ्चार तथा प्रशासनमन्त्री भएको थिएँ ।

धुलैधुलो थियो विराटनगरमा

त्यो बेलाको विराटनगरमा धूलैधूलो थियो । बाटाघाटा सबै माटाका डगर थिए । हिउँदमा धूलो र वर्षामा आचाक्ली हिलो हुन्थ्यो । घरहरू सबै टिन र काठका कच्ची थिए । बयल गाढाहरू बगे्रल्ति हिँड्थे काठका चक्का भएका । बिजुली थिएन । मैंले थाहा पाएदेखि विराटनगरमा मोटर चाहिँ चल्थ्यो । हाल ठूलो भन्सार रहेको ठाउँ जोगबनीमा सानो छोटी भन्सार मात्र थियो । मेन भन्सार ट्राफिक चौकमा थियो ।

नेपाल–भारत सीमाक्षेत्र जोगबनीतिर मान्छे एकदमै कम जान्थे । जोगबनीमा लुटपाट हुने र गोली हानेर मान्छे मार्ने भन्दै बडा हाकिमहरूले स्कुलमै आएर हामीलाई जोगबनी नजान सुझाव दिन्थे ।

त्यो बेला ट्राफिक चौकलाई बजार अड्डा भन्थे, सबै शासन बजार अड्डाबाटै हुन्थ्यो । जोगबनीतिर मान्छे एकदमै कम जान्थे । लुटपाट हुन्थ्यो । हामीलाई पनि यो बेला बडा हाकिमहरूले स्कुलमा आएर जोगबनी नजानु गोली हानेर मार्छन् भनेर भन्थे । पछि थाहा भयो, भारतमा स्वतन्त्रता आन्दोलन चर्केको रहेछ र पो त्यसो भनेका रहेछन् । त्यो बेला भारतका नेताहरू जयप्रकाश नारायण, अरुणा आशालगातयले बिहार क्षेत्रमा आन्दोलनको नेतृत्त्व गर्थे । हुलकाहुल मान्छेहरू आएर नाराबाजी गर्थे ।

जुटमिल स्थापना भएपछि विराटनगर चलायमान

विराटनगरको कायापलट भएको वि.सं. १९९३ मा रानीमा जुटमिल स्थापना भएपछि हो । भारत कलकत्ताको महाजनहरूले यहाँका व्यापारीहरूको सहयोगमा उक्त जुटमिल स्थापना गरेका हुन् । जुटमिल सञ्चालन भएपछि विराटनगरमा धेरै चहपहल बढ्यो । तीन हजार बढी मजदूर कर्मचारी काम गर्थे । त्यो बेला भर्खरै दोस्रो विश्वयुद्ध सकिएर विश्व तंग्रिँदै गरेको अवस्था थियो । यसैले तेस्रो मुलकमा जुटको धेरै माग थियो । नेपालबाट धेरै जुट तेस्रो मुलुक जान्थ्यो । गोल्छाले त्यही बेला हो धेरै कमाएको छ । मलाई सम्झना छ, गोल्छाले पाटा (जुट) संकलन गरेर पहाड बनाएर राख्थे । त्यो बेला अरु व्यपारीहरुले पनि खुब कमाए । सुनसरी मोरङका विभिन्न्न ठाउँबाट बयलगाडामा पटुवा विराटनगर आउँथ्यो ।

जुटमिल स्थापना भएपछि विराटनगर चलायमान भएको हो । जुट मिल खुलेपछि अर्थतन्त्र चलायमान भयो र विराटनगरमा राष्ट्र बैंकको स्थापना भएको थियो । जुटमिलकै कारण मुद्राको कारोबार चलायमान भयो र व्यापारहरू पनि बढ्न थाले ।

त्यो बेलाका धनाढ्यहरूमा रामलाल गोल्छा, ईश्वरीचन्द धाडेवा, दघिराम कोइराला, शंकरप्रसाद खनाल, हनुमान दास मुखियालगायत थिए । धाडेवा, कोइराला, खनाल, मुखियाहरू रैथाने थियो । उनीहरूसँग जमिन धेरै थियो । जुट मिल खुलेर अर्थतन्त्र चलायमान हुन थालेपछि विराटनगरमा राष्ट्र बैंक पनि खुल्यो । मुद्राको कारोबार चलायमान भयो । व्यापारहरू पनि बढ्न थाले । सिन्थेटिक, जिंकअक्साईट, म्याच, बिँडी, पायोनियर, जुट, टेक्स–टायललगायतका उद्योगहरू धमाधम बढ्न थाले । अर्थतन्त्र चलायमान भएसँगै विराटनगरमा पक्का घरहरू पनि बढ्न थाले । त्यो बेला जुटको व्यापार गर्नेहरूले नेपालबाट जुट बिक्री गरेको पैसाले उताबाट रड, सिमेन्टहरू ल्याएर पक्का घर बनाउने गर्थे ।

त्यो बेलादेखि नै कोइराला परिवार सज्जन परिवार

विराटनगरमा कोइराला परिवारलाई चाहिँ धनी हैन सज्जन परिवार मानिन्थ्यो । त्यो बेलादेखि नै पिताजी कृष्णप्रसाद कोइराला पनि शिक्षा र समाजसेवामा रुची भएका व्यक्ति थिए । उनले नै हो परालको छाप्रोमा स्कुल चलाएको । उनले स्कुल खोलेको थाहा पाएपछि राणाहरूले लाज हुन्छ भनेर जुद्ध हाइस्कुल खोलेका थिए ।

aa

कोइराला परिवार भारतबाट आएको परिवार तर सज्जन परिवार भनेर सबैले भन्थे । कृष्णप्रसादका छोराहरू मातृका र बिपी पनि पढेका तार्किक व्यक्ति थिए । तारिणी पनि चल्तापूर्जा थिए । केशव कोइराला डिएफओ भइसकेका व्यक्ति थिए । महिलाहरू पनि शिक्षित थिए, कोइराला परिवारमा । विराटनगर राजनैतिक सभ्यता भएको ठाउँ थियो त्यो बेलैदेखि । कांग्रेस र कम्युनिष्ट विचार बोकेका सचेतहरू बसोबास गर्ने नगर थियो ।

जातपतिया पाउन पदम सुन्दरले बिजुली उत्पादन गरे

वि.सं. २००७ सालमा क्रान्ति सफल भएपछि कोइराला परिवारको चर्चा र महत्त्व बढ्यो । उनीहरू विराटनगरमा पूर्णरूपले स्थापित भए । विराटनगरमा धमाधम उद्योगहरू पनि खुल्न थाले । राणाहरूको अनुमतिबिना अमेरिका गएपछि जात काढिएका पदमसुन्दर मल्लले मोरङको लेटाङमा मोरङ हाईड्रोपावर कम्पनी खोलेर बिजुली उत्पादन गरे । पहिलोपल्ट त्यही बिजुली हो विराटनगरमा बलेको । पदमसुन्दले गुमेको जात फिर्ता पाउन पतियाका लागि बिजुली कम्पनी सञ्चालन गरेका थिए ।

नगरपालिका भएपछि विराटनगरको रोडमा ईँटा ओछ्याइयो

प्रजातन्त्र आएपछि विराटनगरमा वि.सं. २००८ मा विराटनगर नगरपालिका भयो । त्यही बेला हो विराटनगर बजारमा नगरपालिकाले सडकमा ईँटा ओछ्याएको । ईंटा ओछ्याएपछि बजार सफा देखिन थाल्यो । विराटनगरमा महेन्द्र मोरङ क्याम्पस सञ्चालन भएको २०१३ सालतिर हो । विराटनगरका इन्टरमिडियट वर्गले आवश्यकता महसुस गरेर आदर्श स्कुलमा इन्टरमिडियट कक्षा सुरु गरे । पहिले पटनाबाट परीक्षा हुन्थ्यो । पछि त्रिवि स्थापना भएपछि त्यसले सम्बन्धन पाएको हो ।

भाषा आन्दोलन चर्किएको थियो

वि.सं. २०१४ सालामा ठूलो भाषा काण्ड भएको थियो । तत्कालीन शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाले सरकारी कामकाजको भाषा देवानागरी लिपीको नेपाली भाषा भनेर घोषणा गरेपछि आन्दोलन चर्किएको थियो । विराटनगर बसोबास गरिरहेका तराईमूलकाहरु हिन्दीभाषा राष्ट्र भाषा हुनुपर्छ भन्थे । तर, खस पहाडे समुदायहरू देवनागरी लिपीको नेपाली भाषा नै राष्ट्र भाषा हुनुपर्छ भन्थे । धेरै ठूलो आन्दोलन थियो त्यो । त्यो बेला तराई कांग्रेसले हिन्दी भाषाको पक्ष लिएको थियो । नेपाली काँग्रेस चाहिँ ढुलमुले थियो । मातृकाप्रसाद कोइराला खुलेरै हिन्दीभाषा राष्ट्र भाषा हुनुपर्छ भनेर लागेका थिए । नेपाली भाषा नै कामकाजको भाषा हुनुपर्छ भन्दै हुलकाहुल मान्छेहरू विराटनगरमा उत्रिएर प्रदर्शन गरेका थिए ।

एलिट क्लबको स्थापना

विराटनगरमा वि.सं. २०१४ सालतिरै हो हामीले एलिट क्लब खोलेको । म एलिट क्लबको संस्थापकमध्येको एक हुँ । त्यो बेला एलिट क्लब बौद्धिकहरू भेला हुने, अन्तर्क्रिया गर्ने ठाउँ थियो । त्यहाँ देशी–विदेशी व्यक्तित्त्वलाई लगेर विचार व्यक्त गर्न लगाउने र अन्तर्क्रिया गर्ने पनि गरिन्थ्यो । खुब चर्चामा थियो एलिट क्लब । देशविदेशमा ख्याती फैलिएको थियो । अहिले पनि एलिट क्लब सञ्चालनमै छ तर पहिले जस्तो रौनक छैन ।

अहिलेको विराटनगर पहिलेकोभन्दा चलायमान छ

अहिलेको विराटनगर पहिलेको भन्दा चलायमान छ । यहाँका पुराना उद्योगी र धनाढ्यहरू प्रायः काठमाण्डौ सिफ्ट भएर गएपछि विराटनगर शून्यप्रायः हुँदै गएको थियो । किनभने उनीहरूले विराटनगरलाई खासै चासो दिएका थिएनन् । पुर्ख्यौली थलो भएकोले माया मारिहाल्न मात्र सकेका थिएनन् । अर्को विराटनगर राणाविरोधी आन्दोलनको मुख्य थलो । प्रजातन्त्रको जननी स्थान । पछि राजा महेन्द्रले कु गरेर पञ्चायती व्यवस्था लागू गरेपछि विराटनगर ओझेलमा परेको हो भन्नेहरू पनि छन् । कसै कसैले कोइराला र अधिकारीहरूसँग बदला लिन पञ्चायतले विराटनगरलाई उपेक्षा गरेको हो पनि भन्ने गरेका छन् ।

aa

उनीहरूका अनुसार त्यसै कारणले पञ्चायतकालमा विराटनगरमा कुनै ठूला परियोजना आउन नसकेका हुन् रे । तर, मलाई चाहिँ त्यस्तो लाग्दैन । मलाई चाहिँ विराटनगर यो ठाउँ हो जसले छेकेर पनि विकास छेक्न सकेन र उसको फैलँदो गतिलाई रोक्न पनि सकेन । ठूला घराना र एलिटहरू सिफ्ट भएर जाँदा पनि विराटनगर पुनः आफ्नै पौरखले बौरिन सफल भयो । कसैले चाहेर पनि ग्राउण्डेड गराउन सकेन । नत्र त्यो बेला क्षेत्रीय विमानस्थल बन्ने नै थिएन । त्यो बेला क्षेत्रीय सदरमुकाम धनकुटा कायमै गरिएको थियो । तर, पछि आफसेआफ विराटनगर झर्न बाध्य भए ।

विराटनगरले लामो सशस्त्र जनयुद्ध र लामो मधेश आन्दोलनको मार पनि भोग्यो । यसमा विराटनगरले दुख खप्यो तर कहिल्यै आत्तिएन । सशस्त्र द्वन्द्व र मधेश आन्दोलनको बेला धेरै उद्योगी–व्यापारीहरू आत्तिएका थिए ।

यसैले मलाई लाग्छ विराटनगर आफैं सम्भावना खोज्ने र आफ्नो विकासलाई बोक्न सक्ने ठाउँ हो । विराटनगर कांग्रेस र कम्युनिष्ट दुवै विचार बोकेकाहरूको बसोवास भएको ठाउँ हो । यो उबेलादेखि नै शिक्षा र स्वास्थ्यको हब हो । यसैले कसैले चाहेर पनिविराटनगरलाई मारिहाल्न सकेनन् । लामो सशस्त्र जनयुद्ध र लामो मधेश आन्दोलनको मार पनि विराटनगर आफैंले खप्न सफल भयो । दुःख पायो तर कहिल्यै आत्तिएन । सशस्त्र द्वन्द्व र मधेश आन्दोलनको बेला धेरै उद्योगी–व्यापारीहरू आत्तिएका थिए । हुनपनि धेरै उद्योगहरू बन्द भएका थिए । व्यापार खस्केको थियो । सीमापारि जोगबनीमा चहलपहल बढेपनि सीमावारि विराटनगरमा भने सुनसान अवस्था सृजना भएको थियो । विराटनगरमा कुनै ठूला परियोजना थिएनन् । भद्रभलाद्मी र घरानियाँहरू अन्यत्रै सिफ्ट भएपछि लौ विराटनगर पक्का डेड सिटी हुने भयो भनेर धेरै जना चिन्तित थिए ।

विराटनगरले आफ्नै धैर्यशाली संघर्षले नयाँ जीवन पाएको छ

अहिले त विराटनगरले नयाँ जीवनपाएको छ । संघीयतापछि विराटनगर चलायनमान भएको छ । नयाँ जीवन सुरु भएको छ । अब त विराटनगर प्रादेशिक राजधानी पनि बनेको छ । प्रदेश सरकारका मन्त्रालय, प्रदेशसभा स्थापनाभएका छन् । उद्योगव्यापार थपिँदैछन् । शिक्षार स्वास्थ्यमा पनि अगाडि बढेको बढ्यै छ । मेडिकल शिक्षामा पनि विराटनगर अगाडि छ । विराटनगरमा संयुक्त भन्सार जाँचचौकी निर्माण भइसकेको छ । नयाँ स्याटेलाईट सिटी पनि ग्रेटर विराटनगरभित्रै बन्दैछ । मलाई लाग्छ अब फ्रेडलालिज्म (संघीयता) ले टेक अफ गर्यो भने विराटनगर झन् चलायनमान भएर जानेछ । गतिमा नभएर जानेछ । आफ्नै संघर्षले गर्दा विराटनगर महानगर पनि बनेको हो ।

aa

विराटनगर सम्भावनै सम्भावना बोकेको शहर हो । यो पर्यटकको गन्तव्य शहर हुनसक्छ । यहाँबाट प्राकृतिक र हिमाली पर्यटनको सम्भावना प्रचुर छ । संखुवासभामा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण भइरहेको छ । हुलाकी मार्ग पनि चाँडै सञ्चालनमा आउँदैछ । आसपासका इटहरी, इनरुवा, दमक, भद्रपुर सहरहरू पनि निरन्तर अपग्रेड भइरहेका छन् । यसैले अब विराटनगरले पछाडि फर्कनु पनि पर्दैन र डेड सिटी हुन्छु कि भनेर धेरै चिन्ता पनि गर्नुपर्दैन । उसैपनि विराटनगरमा विश्व बैंकको अर्बौंको आन्तरिक निर्माण परियोजना सम्पन्न हुँदैछ । ढल नाला र सडकहरू व्यवस्थित हुँदैछन् । मुख्य राजमार्ग पनि ६ लेनको फराकिलो भइसकेको छ । ठूला महल र आधुनिक सिनेमा घर र होटलहरू खुल्नेक्रम बढ्दो छ ।

विराटनगर सुरक्षित छ, सद्भाव बलियो छ

विराटनगर बोर्डरको नजिक छ, असुरक्षित छ भन्ने कुरा पनि गलत हो । किनभने कुनैपनि राष्ट्रले सबैतिरको आफ्नो भूगोलको पूर्ण सुरक्षा गर्न सक्नुपर्छ । विराटनगर वा सीमा क्षेत्र असुरक्षित हुने अनि अन्यत्रका मात्रै सुरक्षित हुने भन्ने नै हुँदैन । फेरि, विराटनगर कहिल्यै असुरक्षित भएको पनि छैन । यहाँ मिक्स कल्चर छ । अन्य प्रदेशमा जस्तो विराटनगरको अवस्था छैन । यहाँ मारवाडी, मधेशी सबैले निर्धक्कै खस नेपाली भाषा रुचिपूर्वक बोल्छन्, आपसी सद्भाव छ ।

विराटनगरमा राति बाह्र बजे पनि महिलाहरू निर्धक्क हिँड्न सक्छन् । सायद नेपाल र भारतका अन्य शहरमा यस्तो छैन होला । ग्याङ फाइट, लागूपर्दाथ दुर्व्यसनीको समस्या पनि अरु शहरमा जस्तो छैन । सामाजिक एकता र सरसफाइ पनि राम्रो छ ।

विराटनगरको सद्भाव बिगार्न धेरैले प्रयत्न गरे तर सकेनन् । यहाँ फोहोरी राजनीति गर्नेहरूले पहाडे र मधेशीबीच फाटो ल्याउन खोेजे । हिन्दू र मुस्लिमलाई लडाउन खोजे तर पार लागेन । दुई–दुई पटक भएको लामो मधेश आन्दोलनमा पनि विराटनगरको सद्भाव भड्किन सकेन । विराटनगरमा राति बाह्र बजे पनि महिलाहरू निर्धक्क हिँड्न सक्छन् । सायद नेपाल र भारतका अन्य शहरमा यस्तो छैन होला । ग्याङ फाइट, लागूपर्दाथ दुर्व्यसनीको समस्या पनि अरु शहरमा जस्तो छैन । सामाजिक एकता र सरसफाइ पनि राम्रो छ ।

मलाई त के लाग्छ भने भारतको बिहार राज्य विकसित भएको भए विराटनगरको उहिल्यै विकास भइसक्ने थियो । किनभने बिहार भारतको सबैभन्दा पछाडि परेको राज्य हो । जसको प्रभाव छिमेकमा रहेको नगरमा नपर्ने कुरै भएन । तर, आजकल बिहार पनि तीब्र गतिले विकासमा अगाडि बढ्दै छ र त्यसको फाइदा विराटनगरलाई पनि हुँदैछ ।

Loading...