fbpx

गुद्री बजारमा प्रशासनको दशैं अनुगमन : सूचना पाउने सचेत, नपाउनेको भागाभाग

विराटनगर ८ असोज । स्थानीय प्रशासनले बजार अनुगमन गर्दा विराटनगरको गुद्री बजारका मासु ब्यापारीको भागाभाग भएको छ । दशैं नजिकिदै गर्दा प्रशासनले गरेको गोप्य अनुगमनको सूचना चुहावट भएपछि व्यापारीको भागाभाग भएको हो ।

बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङको टोली माछा मासु पसलको अनुगमन गर्न गुद्री बजार पुगेको थियो । अनुगनको अग्रिम जानकारी पाएका अधिकांश मासु पसल सञ्चालहरु भाग्न भ्याए । पसलमै रहेकाहरुले भने पसल सफा गरेर चिटिक्क बनाएका थिए । तर जानकारी नै नपाएकाहरु भने माछाको क्यारेट बोक्दै भागे । जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकिय अधिकृत डमरुबल्लभ बरालको नेतृत्वमा पुगेकाे टोली पुग्दा अधिकांश पसल सञ्चालक भागेपछि १० वटा माछा मासु पसलको अनुगमन गरेर फर्किएकाे छ ।

अनुगमनकालागि पुगेका बराल सधै फोहोर देखिने पसल सफा देखेपछि अचम्ममा परेका थिए । ‘अरु बेला बजार जाँदा झिगाँ भन्किएको फोहोर देख्दा अनुगनमन गर्नुपर्छ भन्ने लाग्यो ।’ बराल भन्छन् ‘आज हामी जादा केही पसले भागे, भएकाहरुले पसल सफा बनाएका थिए ।’

अगाडी नै सूचना चुहावट भएको हुनसक्ने उनले बताए । ‘हामीले कसैलाई जानकारी नदिई गएका हौं ।’ उनले भने ‘ यहाँ त अग्रिम सूचना पाएजस्तो देखियो ।’

दिउँसो हतारमा देखिएका व्यापारीहरु पसलको बाहिरी र भित्री सजावट सफा गर्न र कुहिएका माछा फाल्न दौडिरहेका थिए । बरालकै अगाडीबाट केही मोटरसाइकलमा क्यारेटमा राखेर बिग्रिएका माछा फाल्न लगेका थिए । अग्रिम सूचना पाएर सतर्क भएकाहरुलाई सरसफाइमा ध्यान दिन निर्देशन दिएर टाेली फर्किएकाे थियाे ।

Loading...