fbpx

सलमान र अक्षयको भिडन्त पक्का

विराटनगर, ८ असोज । आगामी वर्ष सन् २०२० को ईदमा बलिउडका दुई चर्चित अभिनेता सलमान खान र अक्षय कुमारको वक्सअफिस भिडन्त हुने पक्का भएको छ । आईफा अवार्डको रेड कार्पेटमा सलमानले आगामी वर्षको ईदमा आफ्नो फिल्म रिलिज गर्ने कुरा सार्वजनिक गरेपछि उनको अक्षयसँग वक्सअफिस भिडन्त हुने निश्चित भएको हो ।

ईदको अवसर पारेर अक्षय कुमारले आफ्नो आगामी सिनेमा ‘लक्ष्मी बम’ रिलिज हुने घोषणा गरिसकेका छन् । ‘दबंग ३’ यहि वर्षको डिसेम्बरमा आउने भएपछि निश्चित रूपमा आगामी वर्षको ईदमा नयाँ फिल्म रिलिज गर्ने तयारीमा रहेको सलमानले बताएका छन् । सलमानले ईदको अवसरमा फिल्म रिलिज गर्ने बताए पनि फिल्मको नाम भने खुलाएका छैनन् ।

यसअघि ईदमा सलमानको आलियासँग जोडी बाँधिएको संजय लिला भंशालीको ‘इंशाअल्लाह’ ईदमा रिलिज हुने तय भए पनि फिल्म छायांकन जानु ठीक दुई दिनअगाडि आन्तरिक मनमुटावका कारण सलमानले सिनेमाबाट हात झिकेका छन् । फिल्मबाट हात झिकेपछि ईदको मिति सलमान अभिनित कुनै पनि फिल्म नहुने अन्दाज लगाइँदै आइएको थियो ।

तर, सलमानले दिएको उक्त बयानले विभिन्न हल्लाहरूलाई शान्त पारिदिएको छ । सलमानले आगामी वर्षको इदमा ज्याक्लिनसँग जोडी बाँधिएको फिल्म ‘किक २’ ल्याउने अनुमान लगाईंदै आइएको छ । तर, ‘किक २’ का निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले ‘किक २’ लाई सन् २०२० को ईदमा रिलिज नगर्ने आफ्नो स्पष्ट पारिसकेका छन् ।

भारतीय मिडियाका खबरअनुसार अर्को वर्ष ईदको मौकामा सलमानको एउटा नयाँ कमेडी शैलीको फिल्म रिलिज हुन सक्ने भएको छ । फिल्मलाई आनन्द एल रोयले निर्देशन गर्ने सम्भावना देखिन्छ । सलमान उक्त कमेडी फिल्ममा दोहोरो भूमिकामा देखिने अनुमान गरिएको छ । भारतको उत्तर प्रदेश फिल्मको कथा आधारित हुने भएको छ ।

Loading...