fbpx

कांग्रेस जागरण अभियानमा विवाद : मञ्चबाटै धकेलिए सांसद

राजविराज ७ असोज। नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन सप्तरीमा नेताहरुबीच विवाद हुँदा आफ्नै नेता सांसदलाई धकेलेर मञ्चबाटै हटाएका छन् । मर्यदाक्रममा विवाद हुँदा भाँडभैलो भएको हो । जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरीबीच बाझाबाझ हुँदा यादव पक्षका कार्यकर्ताहरुले चौधरीलाई मञ्चबाटै धकेलेका हुन् ।
राजविराजमा भएको आमसभामा अजय चौरसिया प्रमुख अतिथि र सप्तरीबाट निर्वाचित कांग्रेस नेता चौधरीलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो । तर कार्यक्रम सञ्चालकले चौधरीभन्दा अगाडि पूर्वराज्यमन्त्री समेत रहेका रामकुमार चौधरीलाई विशेष अतिथिको आसन ग्रहण गराएपछि विवाद भएको हो ।

अरुलाई आसन ग्रहण गराएर मात्र आफ्नो नाम लिएको भन्दै सांसद चौधरीले असन्तुष्टि जनाए । बोलाएर अपमान मात्र गरेको उनले गुनासो गरे । त्यस लगतै यादव पक्षधरका नेताहरुको समूह मञ्चमा उक्लिएर धकेलाधकेल गर्दै चौधरीलाई मञ्चबाटै हटाए । यसमा जिल्ला सभापति स्वयंम संलग्न भएको भन्दै नेता रञ्जित कर्णले जिल्ला सभापति आफैं उठेर सांसदलाई हान्न लागेको बताए । उनले सांसद चौधरीलाई घोक्र्याउँदै मञ्चबाट निकालिएको आरोप लगाए ।

चौधरीको समूहले जनआन्दोलन चोकमा छुट्टै कार्यक्रम गर्याे । सो समूहले जिल्ला सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग समेत गरेको छ । यस्तै चौधरी समूहले जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दामा उजुरी दिने समेत जनाएको छ ।
जिल्ला सभापति यादवले भने सांसद चौधरीमाथि हातपात गरेको आरोप अस्वीकार गर्दै सांसद चौधरीले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेपछि विवाद भएको बताए । चौधरीले आफैं कार्यक्रम छाडेर हिडेको उनको भनाई छ ।

Loading...