fbpx

‘काले दाइ’मा समावेश ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ७ असोज । फिल्म ‘काले दाइ’ मा समावेश गरिएको ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतलाई सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतलाई ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले स्वर दिएका छन् । इन्द्र रामजाली र गोविन्द श्रेष्ठको शब्द रहेको गीतमा पवनवाङ लामाले सङ्गीत भरेका छन् । असोज १७ गतेका दिन विजया दशमीको अवसर पारेर देशभर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रेम र उक्त प्रेममा जातीय छुवाछुतको कारणले निम्ताएको द्वन्द्वको कथामा आधारित रहेर निर्माण गरिएको छ ।

शिव शर्माको निर्देशनमा तयार भएको फिल्मको मूलकथामा एक कालो वर्णको युवकको जीवनमा आउने उचार–चढावलाई देखाउन खोजिएको छ । फिल्ममा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरि, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको संयुक्त ब्यानरमा रहेर निर्माण भएको फिल्म ‘काले दाइ’ मा इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको छ । सम्शेर गुरुङ र इन्द्र रामजालीको लगानीमा निर्माण भएको फिल्मलाई पवन गौतमको छायाङ्कन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । फिल्ममा कुमार महर्जनको द्वन्द्व र फिल्मका गीतहरुमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Loading...