fbpx

पर्यटकीय शहर वसन्तपुरमा लोकप्रिय बन्दै अन्नपूर्ण होटल

वसन्तपुर (तेह्रथुम), ७ असोज । पर्यटकीय गन्तव्य लालीगुराँस नगरपालिकाको वसन्तपुरमा सञ्चालन हुँदै आएको अन्नपूर्ण होटल स्तरोन्नतिपछि पर्यटकको रोजाइमा पर्न थालेको छ । एक दशकदेखि सञ्चालनमा आएको अन्नपूर्ण होटलको थप स्तरोन्नति भएसँगै पर्यटकको रोजाइमा पर्न थालेको हो ।

चिसो हावापानी र मनोरम वातावण भएको वसन्तपुर नगरको बसपार्कमा रहेको यस होटलमा मिठो खाना, आरामदायी र सुरक्षित बासको व्यवस्थासहित अन्य विविध सुविधाहरू थपिएको छ । यहाँ काठमाडौं, पोखरा, धरान र अन्य शहरमा पाइने परिकारहरू पनि पाइन्छन् । होटलमा मिनिबार पनि सञ्चालनमा आएको छ ।

पर्यटकीय क्षेत्र भएको कारण ग्राहकलाई देउता ठानेर सुबिधा प्रदान गर्ने होटल सञ्चालक प्रकाश बरालले बताए । तेह्रथुम जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको सञ्चालक बराल बताउँछन् ।

सुबिधासम्पन्न होटल नभएकै कारण पहिले पर्यटकहरू बास बस्नका लागि धनकुटा र धरान फर्कनुपर्ने अवस्था थियो । होटल अन्नपूर्ण सञ्चालनमा आएपछि पर्यटकहरू बसन्तपुरमै बास बसेर घुमफिर गर्न थालेका छन् । बरालले राष्ट्रिय अंग्रेजी गाइडको तालिम प्राप्त गरेको कारण विदेशी पर्यटकको लागि पनि होटलले सुबिधा प्रदान गर्दै आएको छ ।

तेह्रथुम जिल्लाको वसन्तपुर नेपालको दश नमुना शहरमध्ये एक हो । बसन्तपुरलाई गुराँसको राजधानी तिनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ । यहाँ दैनिक सयौँ आन्तरिक तथा वाह्य पर्यटकहरूको आवत–जावत हुने गर्दछ ।

Loading...