fbpx

पत्रपत्रिकामा प्रदेश : नाराबाजीबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

विराटनगर ७ असोज । प्रदेश नम्बर १ बाट प्रकाशित हुने पत्रपत्रिकामा आज मुख्य खबरका रुपमा प्रदेश १ प्रदेश सभाबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित भएको खबर प्रमुखताको साथ छापिएको छ ।

नागरिक पूर्वेलीमा मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक नाराबाजीबीच पारित शिर्षकमा मुख्य समाचार छापेको छ । ब्लाष्ट टाइम्सले पनि यो समाचारलाई मुख्य समाचार बनाएको छ । उद्घोष दैनिकमा मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित प्रतिपक्षी जंगिए, मन्त्री उफ्रिए शिर्षकमा खबर छ ।

सरकारले दुई तिहाईको बलमा सोमबार प्रदेश सभाबाट मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित गरेको छ । कांग्रेसका सांसदले रोष्टमतर्फ जाने बाटो छेकेर नाराबाजी गरेपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई रोष्टममा जान मुस्किल थियो । उनले विधेयक पास गरियोस प्रस्ताव पेश गर्न अवरोध हुने पूर्वानुमान गर्दै संसदको पहिलो लाइनको छेउमै बसेका थिए । अवरोध र नाराबाजीकै बीच सभामुख प्रदिपकुमार भण्डारीले विधेयक पारित गर्ने प्रस्ताव पेश गर्न अनुमती दिए । अनुमती पाउनसाथ मन्त्री घिमिरे उफ्रिदै दौडिएर रोष्टम पुगी विधेयक पारित गरियोस भन्दै प्रस्ताव प्रस्तुत गर्दा कांग्रेसका सांसदहरुले नाराबाजी चर्काए भने नेकपाका सांसदहरुले हुन्छ भन्दै विधेयकको पक्षमा मत राखे ।

मेयरको प्रतिवद्धता हावादारी, दशैंमा व्यापार चौपट शिर्षकमा उद्घोष दैनिकमा खबर छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दशैंअघि नै मेन रोड लगायत मुख्य सडक कालोपत्रे गर्न गरेको प्रतिवद्धता पुरा नहुने भएको छ । उनले पटक पटक दशैं अघि नै सडक चिल्लो पार्ने भन्दै अभिब्यक्ति दिएका थिए । तर दशैं आउन लाग्दापनि बजार क्षेत्रको सडकमा कामले गति लिएको छैन् ।

सडक र नाला खनेर अलपत्र पारिएका छन् । विजुलीको खम्बा गाड्न खनिएका खाडल धराप थापे जस्तो भएको छ । जताततै भत्काएको सडकले गर्दा यो पटक मेन रोड क्षेत्रमा व्यापार समेत चौपट हुने व्यापारीहरुले बताए । बजारमा हुने धुलो र अस्तव्यस्तताले ग्राहकहरु मेन रोड छिर्नै डराउने गरेका छन् ।

जग्गा खोस्न आए ज्यान दिन तयार शिर्षकमा जनविद्रोह दैनिकमा खबर छ । मोरङको पथरीशनिश्चरेका सुकुम्बासीहरुले पुस्तौपुस्तादेखि भोगचलन गर्दै आएको जग्गा कब्जा गर्ने विरुद्ध ज्यान दिन तयार रहेको बताएकाछन् । सुकुम्बासीहरुले २०३५ सालदेखि उपभोग गर्दै आएको जग्गामा भुमाफियाहरु सकृय हुन थालेपछि विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताए । अहिले भूमाफियाहरु जग्गाको धनीपुर्जा देखाउँदै आउने गरेको भन्दै उनीहरुले मर्न तयार रहेको तर जग्गा नछोड्ने बताएका हुन् । निर्वाचित जनप्रतिनिधिहरुले पनि सुकुम्बासीहरुको समस्या समाधान गर्न ध्यान नदिएको उनीहरुको गुनासो छ । पथरीशनिश्चरे नगरपालिकामा रहेको ३० हजार घरधुरीमध्ये करिब ७५ प्रतिशत सुकुम्बासी छन् ।

Loading...