fbpx

नेकपाको विचारधारात्मक प्रशिक्षण शुरु : सम्वृद्धिको साझा आधार खोज्दै नेपाल र चीन

काठमाडौं ६ असोज । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण सोमबार बेलुकी देखि शुरु भएको छ । प्रशिक्षणमा दुबै देशका कम्युनिष्ट पार्टीका नेताले समृद्धिको साझा आधार पहिल्याउने विषयमा चर्चा गर्ने छन् ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

प्रशिक्षणको शुभारम्भका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमकी चीनको समृद्धिको शैली दिगो, नमूना र अनुशरणयोग्य रहेको बताए । उनले नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने बताए ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको बताउँदै उनले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको बताए ।

दुई दिने प्रशिक्षण कार्यक्रममा ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफल हुनेछ । पहिलो पटक दुई देशका पार्टीबीचको यस प्रकारको प्रशिक्षण र छलफल भएको हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको भन्दै यसको श्रेय राष्ट्रपति सीलाई जान बताए । उनको विचार विश्व व्यवस्थाको समयानुकूल रहेको उनको भनाई छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएको बताए । उनले भने “दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”  चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उनको भनाइ थियो ।

सोमबार नै नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरुले आधारभूतरुपमै सघाउने विश्वास दिलाए ।

Loading...