fbpx

सुशीलको ‘बादशाह जुट’को प्रदर्शन मिति सारियो, कहिले हुँदैछ रिलिज ?

विराटनगर, ६ असोज । चर्चित अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म ‘बादशाह जुट’ को रिलिज मिति सरेको छ । कार्तिक १ गतेदेखि प्रदर्शनमा आउने तय गरिएको फिल्मको प्रदर्शन मिति दुइ साता पछाडी सरेर कार्तिक १५ मा पुर्याएको हो ।

गत वर्षको पौष १३ गते प्रदर्शनमा आउने निश्चित गरेको फिल्मले अन्तिम समयमा प्राविधिक कारण देखाउँदै पोस्टपोन्ड भएको थियो । जोनी सिंह राणाको कथा तथा निर्देशनमा तयार भएको ‘बादशाह जुट’मा आफूले आफूलाई बादशाह सम्झने दुई युवकको कथामा आधारित भएर निर्माण भएको हो । फिल्ममा सुशीलका साथ आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मी तामाङ, रोविन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।

एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त व्यानरमा निर्माण भएको फिल्मलाई हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । लेराजु कार्कीको डिओपी, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

जोनीले यसअघि बलिउडको फिल्मसमेत निर्देशन गरिसकेका छन् । फिल्ममा समावेश गरिएको ‘काफल पाक्यो’ बोलको गीतलाई गत वर्ष नै सार्वजनिक गरिएको थियो । उक्त गीतमा अभिनेत्री प्रियंका कार्कीको प्रस्तुति रहेको छ । प्रियंका फिल्मम अतिथी भूमिकामा रहेको निर्देशक राणाले बताएका छन् ।

सुशीलको मुख्य भूमिका रहेको अर्को सिनेमा ‘लभ डायरिज’ पनि यहि मितिमा प्रदर्शनमा आउने भएको छ । ‘बादशाह जुट’ कार्तिक १५ को लागि मिति सारेपछि ‘लभ डायरिज’को प्रदर्शन मिति पनि सर्ने सम्भावना धेरै रहेको देखिन्छ ।

Loading...