fbpx

काङ्ग्रेस बैठक असोज १० मा बस्ने

काठमाडौंँ ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गतेको लागि तय भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने छ ।

यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो ।

त्यस्तै काङ्ग्रेसले गत भदौ २४ गतेदेखि शुरु गरेको जागरण अभियान असोज ७ गते समापन भएपछि त्यस विषयमा समेत समिक्षा हुने छ । पार्टीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ ।

गत भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरूपता गर्ने सम्बन्धमा आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गरेको थियो । पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वको समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य छन् ।

Loading...